नेपालगन्ज — नेपालगन्ज उपमहानगरले अक्सिजनसहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गर्ने भएको छ । नगर प्रमुख धवलशमशेर राणाको अध्यक्षतामा आइतबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
भेरी अस्पतालमा बिरामी बढेपछि रामलीला मैदानस्थित नारी उत्थान केन्द्रको सभाहलमा आइसोलेसन बनाउन लागिएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।
‘एक–दुई दिनमै सञ्चालनमा आउनेछ,’ उनले भने, ‘ह्वाइट हाउसमा सञ्चालित आइसोलेसन केन्द्रसमेत सञ्चालन हुनेछ ।’ नगर प्रमुख राणाको संयोजकत्वमा कोभिड रोकथामका लागि भइरहेका कामबारे अनुगमन गर्न उच्चस्तरीय समिति पनि गठन भएको छ ।
