कोरोना संकटमा भारतलाई अन्तर्राष्ट्रिय समुदायको सहयोग

चीन, सिंगापुर, साउदी अरबलगायत मुलुकले अक्सिजनसहित विभिन्‍न स्वास्थ्य सामग्री र उपकरण पठाउँदै

वैशाख १३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना महामारीको भुमरीमा फसेको भारतलाई त्यसबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय समुदायले सहयोगको हात बढाउन सुरु गरेका छन् । तीन दिनयता मात्र भारतमा दैनिक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने दैनिक २ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा थप ३ लाख ५२ हजारभन्दा बढी संक्रमित थपिएका छन् । उक्त अवधिमा २ हजार ८ सय १२ जनाको भाइरसका कारण मृत्यु भएको छ ।

राजधानी दिल्लीमा कोरोना महामारी भयावह बन्दै गएपछि लकडाउन थप एक साताका लागि बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिउँसो थप एक साताका लागि लकडाउन बढाइएको घोषणा गरेका हुन् । महामारीका कारण दिल्ली, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान लगायतका राज्यमा अक्सिजनको चरम अभाव छ ।

राजधानी दिल्लीमै बिरामीहरू बेड नपाएर अस्पताल बाहिर छटपटाउन बाध्य छन् । यो अवस्थाबाट भारतलाई मुक्त गर्न विभिन्न मुलुक र अन्तर्राष्ट्रिय निकायले सहयोगको प्रस्ताव गर्न थालेका हुन् । त्यस्तो प्रस्ताव गर्नेमा चीन र पाकिस्तानदेखि, मित्र मुलुकहरू अमेरिका, अस्ट्रेलिया, जर्मनी, बेलायत, युरोपेली संघ (ईयू) लगायत छन् । अमेरिकाले आइतबार मात्र महामारीविरुद्धको लडाइँमा भारतीय पक्षसँग मिलेर काम भइरहेको बताएका छन् । 

छिमेकी मुलुक चीनले भारतमा ८ सय अक्सिजन कन्सेन्ट्रेटर पठाएको छ । श्रीलंकास्थित चिनियाँ दूतावासका अनुसार चीनले हङकङबाट ८ सय वटा अक्सिजन कन्सेन्ट्रेटर पठाइसकेको छ भने थप १० हजार केही दिनमै पठाउने बताएको छ । 

त्यसैगरी, भारतको छिमेकी पाकिस्तानले महामारीसँग जुधिरहेको भारतलाई सहयोग स्वरूप अत्यावश्यक मेडिकल उपकरण दिन चाहेको बताएको छ । ‘महामारीको यो घडीमा हामी भारतका नागरिकको साथमा छौं,’ पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले ट्वीटरमा लेखेका छन् ।

त्यस्तै यूएईले पनि भारतमा उच्च क्षमताको क्रायोजेनिक अक्सिजन ट्यांकर पठाएको छ । आइतबार यूएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायदले भारतमा महामारी रोकथाम तथा नियन्त्रणमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै साउदी अरबले पनि भारतमा अक्सिजन ट्यांकरका साथै ८० मेट्रिक टन अक्सिजन पठाउने तयारी गरेको छ ।

भारतको पुरानो मित्र बेलायतले पनि सहयोगको गर्ने बताइसकेको छ । ‘हामीहरू भारतीय जनतालाई कसरी सहयोग गर्न सकिन्छ भनेर हेरिरहेका छौं,’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । बेलायतले अक्सिजन कन्सेन्ट्रेटरसहित ६ सय वटा मेडिकल उपकरण भारत पठाउने तयारी गरेको छ ।

त्यस्तै सिंगापुरले पनि भारतमा मेडिकल उपकरण पठाएको छ । आइतबार राति नै सिंगापुरबाट पठाइएको सामान मुम्बई आइपुगेको छ ।

त्यसैगरी अस्ट्रेलियाका तर्फबाट पनि त्यस्तै आश्वासन दिइएको छ । विदेशमन्त्री मरिस पेइनले एक सन्देशमार्फत महामारीलाई परास्त गर्न अस्ट्रेलिया सबै काम गर्न प्रतिबद्ध रहेको जनाएकी छन् । 

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully