काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

सार्वजनिक यातायातलगायत एक दर्जनभन्दा बढी सेवामा रोक लगाइने, केहीबेरमा निर्णय सार्वजनिक हुने

वैशाख १३, २०७८

मातृका दाहाल

काठमाडौँ — काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ । सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले तीनवटै प्रशासनबीच उपत्यकामा एक दर्जनभन्दा बढी सेवा सञ्‍चालनमा रोक लगाइने विषयमा छलफल भएको बताए ।

उनका अनुसार  सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत दर्जनभन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउनेबारे छलफल भएको छ । तीनै जिल्लाका प्रशासनबीचको छलफलपछि अहिले गृहमन्त्रालयसँग निषेधाज्ञाको मोडालिटी र समयावधिबारे परामर्श भइरहेको छ । प्रमुख जिल्ला अधिकारी भट्टराईले केही बेरपछि तीनवटै प्रशासनले संयुक्त धारणा सार्वजनिक गर्ने पनि बताए । 

आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो ।

कोरोना भाइरस

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully