१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतमा रुसी खोप 'स्पुतनिक-५' ले पायो प्रयोगको अनुमति

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा कोरोना महामारीको संक्रमण तीव्र बनेपछि तेस्रो खोपको प्रयोगलाई अनुमति दिइएको छ । भारत सरकारको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संगठन अन्तर्गतको विषयगत विज्ञ समितिले सोमबार रुसमा विकसित स्पुतनिक–५ खोपलाई आपतकालीन प्रयोगका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

भारतमा रुसी खोप 'स्पुतनिक-५' ले पायो प्रयोगको अनुमति

रुसको गामालेया रिसर्च इन्स्टिच्युट अफ इपिडियोमोलोजी एण्ड माइक्रोबायोलोजीले विकास गरेको स्पुतनिक–५ खोप उत्पादनका लागि भारतीय कम्पनी डा. रेड्डीले यसअघि नै सम्झौता गरिसकेको छ । डा. रेडीज र रुसको वैदेशिक लगानी कोषबीच गत भदौमै भारतमा क्लिनिकल ट्रायल गर्न सम्झौता भएको थियो ।

भारतमा यसअघि कोभिशिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा विकास गरिएको कोभिशिल्ड र भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको कोभ्याक्सिनलाई अनुमति दिइएको थियो । कोभिशिल्डको उत्पादक सेरम इन्स्टि्ट्युट अफ इण्डिया(एसआईआई) हो भने कोभ्याक्सिन भने हैदरावादको भारत बायोटेकले नै उत्पादन गर्दै आएको छ । तर, कोभिशिल्ड र कोभ्याक्सिनको उत्पादनले माग नधानेपछि भारत सरकारमाथि थप खोपको अनुमति दिन चर्को दबाब परेको थियो । मागअनुरुप आपूर्ति नभएपछि भारतले अघोषित रुपमा खोपको निर्यातमा कडाइ समेत गर्दै आएको छ । नेपालले खरिद गरेको दश लाख डोज खोप दुई महिना भइसक्दा पनि सेरमले दिएको छैन । त्यसले गर्दा नेपालको खोप अभियान नै अवरुद्ध हुन पुगेको छ ।

भारतमा भने १६ जनवरीदेखि खोप अभियान सुरु गरिएको हो । जुलाईभित्रमा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य राखिएको छ । सोमबार बिहानसम्ममा १० करोड ४५ लाख २८ हजार ५६५ जनाले खोप लगाइसकेका छन् । आइतबार मात्र २९ लाखभन्दा बढीले खोप लगाएको भारतको स्वास्थ्य तथा परिवार कल्याणले जनाएको छ । बढ्दो संक्रमणका कारण खोपको उपलब्धता पर्याप्त देखिएको छैन । खोपको माग र आपूर्तिबीच असन्तुलनका कारण कतिपय राज्यमा खोप अभियान नै बन्द गरिएका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार एकै दिन १ लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । जुन गत वर्ष महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । भारतमा दैनिक रुपमा लगातार एक लाखभन्दा बढी नयाँ संक्रमित थपिएको यो सातौं दिन हो । भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड ३५ लाख नाघेको छ । त्यसैगरी दैनिक मृत्यु दर पनि बढ्दो क्रममा छ । आइतबार मात्र ९०४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना महामारीले १ लाख ७० हजार १७९ जनाको ज्यान लिइसकेको छ ।

रुसका विदेशमन्त्री सर्गेइ लार्भोभको अघिल्लो साता भारत भ्रमणका बेला पनि खोप सहयोगका विषयमा रुसी र भारतीय पक्षबीच छलफल भएको बताइएको थियो । विदेशमन्त्री लार्भोभले भारतीय समकक्षी एस जयशंकरको भेटपछिको पत्रकार सम्मेलनमा पनि खोपका विषयमा कुराकानी भएको खुलाएका थिए । त्यतिबेला देखि नै भारतले चाँडै रुसी खोपलाई अनुमति दिने अनुमान गरिँदै आएको थियो ।

त्यसमाथि विगत केही दिन यता कोरोनाको संक्रमण पनि तीव्र बन्दै गयो । बढ्दो संक्रमणलाई नियन्त्रण गर्नका लागि नै तेस्रो खोपलाई प्रयोगको अनुमति दिइएको हो । विज्ञ समितिको आधारमा भारतको औषधि नियन्त्रण महानिर्देशनालयले अन्तिम दिएपछि स्पुतनिक –५ खोपको प्रयोग औपचारिक रुपमा सुरु हुनेछ । स्पुतनिक–५ को प्रभावकारिता ९१.६ प्रतिशत रहेको दाबी गरिएको छ । जुन कोभिशिल्ड र कोभ्याक्सिनको भन्दा बढी हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार स्पुतनिक५ लाई २ देखि ८ डिग्रिसम्म भण्डारण गर्न सकिन्छ ।

प्रकाशित : चैत्र ३०, २०७७ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?