भारतमा एकैदिन १ लाख ६८ हजारभन्दा बढीलाई कोरोना, ९०४ को मृत्यु

संक्रमितको संख्यामा ब्राजिललाई उछिन्दै विश्वकै दोस्रो स्थानमा

काठमाडौँ — भारतमा कोरोना भाइरस संक्रमणले भयावह रुप लिन थालेको छ । त्यहाँ हरेक दिन संक्रमितको संख्यामा रेकर्ड बन्दै गएको छ ।  भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ६८ हजार ९ सय १२ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

भारतमा एकैदिन १ लाख ६८ हजारभन्दा बढीलाई कोरोना, ९०४ को मृत्यु

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ९ सय ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७० हजार १ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ३५ लाख नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २१ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १२ लाखभन्दा बढी रहेको छ ।

संक्रमणका हिसाबले भारत ब्राजिललाई उछिन्दै विश्वकै दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म १ करोड ३४ लाख ८२ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने ३ लाख ५३ हजार १ सय ३७ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना महामारीबाट सबैभन्दा प्रभावित अमेरिकामा संक्रमितको संख्या करिब ३ करोड १२ लाख पुगको छ भने ५ लाख ६२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

संक्रमणको अवस्था भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार साँझसम्म १० करोड ४५ लाख २८ हजार ५ सय ६५ जनाले खोप लगाइसकेका छन् । तीमध्ये २९ लाख ३३ हजार ४ सय १८ जनाले आइतबार मात्रै खोप लगाएका अधिकारीहरूले जनाएका छन् ।

भारतका ३६ राज्य तथा प्रदेशहरूमध्ये पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर, गुजरातमा संक्रमण तीव्र छ । त्यसमध्ये पनि महाराष्ट्रको अवस्था निकै भयावह देखिएको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६३ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै महाराष्ट्रमा थप ३ सय ४९ जनाको मृत्यु भएको छ । संक्रमण नियन्त्रणबाहिर गइरहेकाले यसै हप्तादेखि राज्यमा पूर्ण रुपमा लकडाउन घोषणा गर्ने तयारी गरेको छ ।

प्रकाशित : चैत्र ३०, २०७७ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?