भारतमा एकैदिन १ लाख ४५ हजारभन्दा बढीलाई कोरोना, ७९४ को मृत्यु

चैत्र २८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा कोरोना भाइरस संक्रमणले हरेक दिन रेकर्ड बनाउँदै गएको छ ।  भारतको स्वास्थ्य तथा परिवार कल्याणका मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

भारतमा दैनिक रुपमा लगातार एक लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पाँचौँ दिन हो । यसअघि अप्रिल ५ मा १ लाख ३ हजार ५ सय ५८, अप्रिल ७ मा १ लाख १५ हजार ७ सय ३६, अप्रिल ८ मा १ लाख २६ हजार ७ सय ८९ र अप्रिल ९ मा १ लाख ३१ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ९४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ३२ लाख नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड १९ लाखभन्दा बढी निको भएका छन् ।

संक्रमणको अवस्था भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियानलाई पनि तीव्रता दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार साँझसम्म ९ करोड ८० लाख ७५ हजार १ सय ६० जनाले खोप लगाइसकेका छन् । तीमध्ये ३४ लाख १५ हजार ५५ जनाले शुक्रबार मात्रै दिन खोप लगाएका अधिकारीहरूले जनाएका छन् ।

भारतका ३६ राज्य तथा प्रदेशहरूमध्ये पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर, गुजरातमा संक्रमण तीव्र छ । त्यसमध्ये पनि महाराष्ट्रको अवस्था निकै भयावह देखिएको छ । महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ५८ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully