खोप आपूर्तिमा सहजीकरण गरिदिन भारतीय विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री ज्ञवालीको अनुरोध

जगदीश्वर पाण्डे

काठमाडौँ — कोभिड–१९ संक्रमणको दोस्रो लहर बढ्दै गइरहेका बेला नेपालले भारतलाई खोप आपूर्तिका लागि सहजीकरण गरिदिन आग्रह गरेको छ ।

खोप आपूर्तिमा सहजीकरण गरिदिन भारतीय विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री ज्ञवालीको अनुरोध

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग टेलिफोन संवाद गर्दै खोप आपूर्ति सहज बनाउन आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय समकक्षीलाई नेपालमा उच्च जोखिममा रहेका जनतालाई दोस्रो चरणको खोप दिइरहेको जनाउँदै कोभिड–१९ विरुद्ध लड्न भारत सरकारले खोप दिएकामा धन्यवाद दिएका थिए । जवाफमा जयशंकरले खोपको आपूर्तिलगायत महामारीविरुद्ध लड्न नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिए । ‘उहाँ (विदेशमन्त्री जयशंकर) ले कोरोना भाइरसको नियन्त्रणका लागि नेपालसँग सहकार्य गर्ने विषयमा भारत सकारात्मक रहेको बताउनुभयो,’ मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने ।

भारतले माघ ८ गते नेपाललाई उपहारस्वरूप १० लाख डोज खोप दिएको थियो । त्यसपछि नेपालले भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख खोप खरिदको सम्झौता गरेको थियो । सम्झौताअनुसार १० लाख खोप आउन बाँकी छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले पहिला खरिद गरेको खोप र पछि पनि आवश्यकताअनुसार खरिद गर्नुपर्ने विषयमा जोड दिँदै जयशंकरसँग टेलिफोन संवाद गरेका थिए । भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै विदेशमा खोप निर्यात नगर्ने भनिए पनि गत साता विदेश मन्त्रालयले त्यसमा सत्यता नभएको सूचना बाहिर ल्याएको थियो ।

ज्ञवाली र जयशंकरबीचको संवादमा दुवै पक्ष खुला सीमा व्यवस्थापनका लागि सहकार्य गर्न सहमत भएका छन् । दुवै मुलुकको खुला सिमाना भएकाले त्यसबाट आउजाउ गर्दा दुवैतर्फ संक्रमणको जोखिम बढी हुन्छ । ‘खुला सिमाना भएकाले कोरोना भाइरसको संक्रमणलाई रोक्न दुवै मुलुकले सहकार्य गर्नुपर्ने हुन्छ । त्यही विषयमा दुवै पक्ष सकारात्मक भयौं,’ मन्त्री ज्ञवालीले भने ।

विज्ञप्तिः

प्रकाशित : चैत्र २७, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?