म्यान्मारका प्रदर्शनमा हालसम्म ४३ बालबालिका मारिए

हिंसासँगै त्रास, पीडा र तनावका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा निकै प्रभाव परेको ‘सेभ द चिल्ड्रेन’ को भनाइ
एजेन्सी

यांगुन/लन्डन — म्यान्मारमा फेब्रुअरीको सैनिक ‘कु’ यता भएका प्रदर्शनका क्रममा ४३ जना बालबालिका मारिएका छन् । मारिनेमा ७ वर्षीय बालिकासमेत रहेकी ‘सेभ द चिल्ड्रेन’ ले जनाएको छ ।

म्यान्मारका प्रदर्शनमा हालसम्म ४३ बालबालिका मारिए

एक स्थानीय अनुगमन संस्थाका अनुसार हालसम्म गरिएका प्रदर्शनमा मारिनेको संख्या ५३६ पुगेको छ । ‘सेभ द चिल्ड्रेन’ ले म्यान्मारमा जारी हिंसासँगै त्रास, पीडा र तनावका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा निकै प्रभाव परेको जनाएको छ । ‘बालबालिकाले हिंसा र त्रास प्रत्यक्ष रूपमा देखेका छन्,’ सेभ द चिल्ड्रेनले विज्ञप्तिमा जनाएको छ, ‘म्यान्मार बालबालिकाका लागि सुरक्षित स्थान नरहेको अब प्रस्ट भएको छ ।’

म्यान्मारका लागि संयुक्त राष्ट्रसंघीय दूतले ‘थप रक्तपातको अवस्था रहेको’ चेतावनी दिएका बीबीसीले उल्लेख गरेको छ । सीमा क्षेत्रमा सेना र जातीय विद्रोही समूहहरूबीच भिडन्तहरू भएका समाचार सार्वजनिक भएसँगै थप चिन्ता व्यक्त गरिएका हुन् । सेनाले सर्वसाधारणमाथि दमन नरोके सेनामाथि नै आक्रमण गर्ने विद्रोही समूहहरूको चेतावनी छ ।

गत नोभेम्बरमा भएको चुनावमा व्यापक धाँधली भएको भन्दै म्यान्मारको सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेको हो । त्यसयता लोकतन्त्र पक्षधरहरूले आन्दोलन चर्काएका हुन् । उनीहरूले देशका प्रमुख सहरहरूमा दैनिकजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् । स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने चुनावमा धाँधली नभएको बताउने गरेका छन् ।

चुनावमा लोकतन्त्रवादी नेत्री आङ सान सुचीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले अत्यधिक बहुमत ल्याएको थियो । सेना प्रमुख मीन ह्यालिङले ‘देशमा निष्पक्ष चुनाव गर्ने’ बताउँदै आएका छन् । तर उनले चुनावको मितिबारे भने केही उल्लेख गरेका छैनन् ।

सत्ताधारी सेनाले खोस्यो बाबुकै काखबाट ७ वर्षीया बालिकाको प्राण

सत्ता कब्जा गरेसँगै एनएलडी प्रमुख सुची सैनिक नियन्त्रणमा छिन् । उनीविरुद्ध विभिन्न मुद्दा लगाइएको भए पनि त्यसविरुद्धका प्रमाण सार्वजनिक गरिएको छैन । नेत्री सुचीले आफूविरुद्धका आरोपहरू अस्वीकार गर्दै आएकी छन् । सैनिक ‘कु’ सँगै सुचीसहित एनएलडीका दर्जनौं नेता, पत्रकार तथा मानवअधिकारकर्मीलाई पनि पक्राउ गरिएको छ ।

पछिल्ला दिनहरूमा सैनिक सरकारले प्रदर्शनकारीमाथि चरम दमन गर्न थालेको छ । गत शनिबार गरिएका प्रदर्शनमा सेनाले गोली चलाउँदा ११४ जना मारिएका थिए । सैनिक नरसंहारको संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानलगायतले निन्दा गरेका छन् । लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गरेको ‘चरम दमन अस्वीकार्य’ भएको उनीहरूको भनाइ छ ।

बेलायतसहित एक दर्जन देशका रक्षामन्त्रीहरूले यसअघि संयुक्त विज्ञप्ति जारी गरी सैनिक दमनको कडा निन्दा गरेका थिए । ‘व्यावसायिक सेनाले आचारसंहिताको अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्छ । उसले जनतालाई संरक्षण गर्ने र क्षति नपुर्‍याउन जिम्मेवार रहनेमा’ म्यान्मारको सेना त्यस्तो नदेखिएको ती राष्ट्रहरूको भनाइ छ ।

त्यसैगरी, संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती विदेशमन्त्री डोमिनिक राबलगायतले सैनिक दमनको चर्को आलोचना गरेका छन् । अमेरिका, बेलायत, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले यसअघि नै सैनिक नेतृत्वमाथि प्रतिबन्धहरू घोषणा गरिसकेका छन् । तर चीन र रुसले भने हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रकाशित : चैत्र २०, २०७७ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?