कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालीभाषी बर्मेलीले सैनिक 'कु' विरुद्ध लन्डनमा गरे प्रदर्शन  

लन्डन — म्यान्मारको सैनिक 'कु' विरुद्ध नेपालीभाषी बर्मेलीले लन्डनमा प्रदर्शन गरेका छन् । बिहीबार बेलायती संसद् भवनबाहिर आयोजित संयुक्त प्रदर्शनमा नेपालीभाषीको पनि सहभागिता रहेको थियो । 

नेपालीभाषी बर्मेलीले सैनिक 'कु' विरुद्ध लन्डनमा गरे प्रदर्शन  

गोर्खा सोसाइटी अफ म्यान्मार यूकेले अन्य १० जातीय तथा सामुदायिक संस्थासँगै प्रदर्शनमा भाग लिएको सोसाइटीका उपाध्यक्ष नमराज ज्ञवालीले जनाए । नेपालीभाषीहरु दौरा सुरुवाल र ढाका टोपीमा उपस्थित थिए ।

संसद् भवन अगाडि विभिन्न नारा र प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेपछि बेलायती विदेशमन्त्री डोमिनिक राबलाई एक ज्ञापनपत्र समेत बुझाइएको छ । गोर्खा सोसाइटीका तर्फबाट ज्ञापन बुझाउन बाबा रायमाझी, पूजा पाण्डे र ज्ञवाली विदेश मन्त्रालय गएका थिए ।

विदेशीमन्त्रीका प्रथम सचिवमार्फत ब्रिटेनलाई बुझाइएको ज्ञापनपत्रमा असंवैधानिक सैनिक कु र मानवअधिकार हननविरुद्ध कडा कदम चाल्न बेलायतलाई आग्रह गरिएको छ । ज्ञापनपत्रमा म्यान्मारको सेनाले असंवैधानिक तवरबाट स्थापना गरेको सत्तालाई मान्यता नदिन, म्यान्मारको सेनालाई हात हतियार बिक्री गर्न तत्काल विश्वव्यापी रोक लगाउन पहल गर्न तथा निर्दोष जनताको थप ज्यान जानबाट जोगाउन संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्‍द्वारा 'सुरक्षाको जिम्मेवारी' को सिद्धान्तलाई अनुमोदन गर्न आह्वान गरिएको छ ।

म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएपछि चर्किएको प्रदर्शनमा सुरक्षाकर्मीले निहत्था जनतालाई क्रुरतापूर्वक हत्या र पक्राउ गरिरहेको छ । सुरक्षाकर्मीको गोलीबाट त्यहाँ ५ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने अन्तर्राष्ट्रिय रुपमा सैनिक कदमको तीव्र भर्त्सना भएको छ ।

'हामी बेलायतमा रहे पनि आफ्नो मातृभूमिमा रगतको खोलो देख्दा मन बेचैन छ', ज्ञवालीले कान्तिपुरसँग भने, 'सेनाले खोसेको प्रजातन्त्र नफर्किएसम्म आन्दोलन जारी रहन्छ र हाम्रो ऐक्यबद्धता अनि साथ पनि छ ।' ज्ञवालीले घाइते प्रदर्शनकारीको उपचार सहयोगका लागि बेलायतबाट आफूहरुले ५ हजार पाउण्डभन्दा बढी पठाइसकेको बताए ।

ज्ञवालीका भनाइमा सेनाले अहिलेसम्म नेपालीभाषी ३५ जनालाई पक्राउ गरेको छ भने दुई जना मारिएका छन् । 'बेलायतमा नेपालीभाषी बर्मेली करिब १२० घरपरिवार छन् । 'हामी प्रवासमा रहे पनि बाबुबाजेको विरासत र मातृभाषा भुलेका छैनौं', ज्ञवाली भन्छन् ।

प्रकाशित : चैत्र २०, २०७७ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?