म्यान्मारमा सेनाविरुद्ध दिनहुँ हजारौंको प्रदर्शन

एपी

याङ्गुन — म्यान्मारको सेनाले गत सोमबार गरेको कु को विरोधमा आइतबार पनि हजारौं मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ ।

म्यान्मारमा सेनाविरुद्ध दिनहुँ हजारौंको प्रदर्शन

प्रदर्शनकारीले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टको विनाशर्त रिहाई गर्न माग गरेका छन् । म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुनस्थित याङ्गुन विश्वविद्यालय नजिक २००० भन्दा बढी श्रम संगठन र विद्यार्थीहरु समेत सहभागी भएर सेनाको कदमको विरोध गरेका थिए । नेतृ सुकी र राष्ट्रपति मिन्टसहित दर्जनौं नेता तथा कार्यकर्तालाई सेनाले नजरबन्दमा राखेको छ ।

प्रदर्शनकारीलाई विश्वविद्यालयको मुलढोका बाहिर निस्कन नदिन दंगा प्रहरीले कडा पहरा दिएका थिए । पानीको फोहोरा फाल्ने दुई वटा ट्रक समेत तैनाथ गरिएको थियो । आइतबार सेनाले इन्टरेनटमा करिब पूर्ण अवरोध गरेको थियो जसका कारण ट्विटर र इन्स्टाग्रामसहित फेसबुक बन्द भएका छन् ।

म्यानमारमा सेनाले निर्वाचित संसदलाई जिम्मेवारी दिने दिनमा नै लिइएको सैन्य कदमले देश अशान्त बनेको छ । दंगा प्रहरीहरूले याङ्गुनलगायतका सहरको मुख्य भागहरूमा चोक तथा सडकहरूमा धरपकड बढाएको छ ।

म्यान्मारस्थित अमेरिकी दूतावासले सेनालाई सत्ता परित्याग गर्न र प्रजातान्त्रिक तरिकाबाट निर्वाचित सरकारलाई पुनर्वहाली गर्न तथा नजरबन्दमा रहेका नेता तथा कार्यकर्तालाई रिहा गर्न, दूरसंचार अवरोध हटाउन तथा हिंसाको प्रयोगलाई निरुत्साहन गर्न आग्रह गरेको छ ।

दूतावासले ट्वीट गर्दै म्यान्मारका जनताको प्रजातान्त्रिक ढंगबाट चुनिएको आफ्नो सरकारको पक्षमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको पक्षमा अमेरिका सदैव खडा हुने जनाएको छ ।

शुक्रबार अनलाइन बैठक गर्दै सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का सांसदहरुले आफूहरु जनताको प्रतिनिधि भएको भएकाले अन्तर्राष्ट्रिय समुदायलाई निर्वाचित संसद् र सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले म्यान्मारका सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायलाई एकताबद्ध गराउन आफूहरुले हरसम्भव प्रयास गर्ने बताएका छन् । उनले म्यान्मारमा भएको सैनिक सत्ताविद्रोह फिर्ता गराउन उपयुक्त वातावरण तयार पार्ने पनि जनाएका छन् ।

प्रकाशित : माघ २५, २०७७ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?