विश्‍वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

५ करोड ५३ लाखभन्दा संक्रमणमुक्त, २१ लाखभन्दा बढीको मृत्यु
इकान्तिपुर डेस्क

काठमाडौँ — विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० करोड नाघेको छ । पछिल्ला दिनमा बेलायतलगायत युरोपेली मुलुकमा तीव्र रुपमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिइरहेकाले पनि संक्रमितको संख्या बढिरहेको छ । 

यो समाचार तयार पार्दासम्म जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरको तथ्यांकअनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० करोड २ लाख २१ हजारभन्दा बढी पुगेको छ । त्यस्तै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या २१ लाख ५५ हजारभन्दा बढी पुगेको छ भने करिब ५ करोड ५३ लाख संक्रमणमुक्त भएका छन् ।

विश्वकै करिब २५ प्रतिशत संक्रमित अमेरिकामा रहेका छन् । बुधबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या करिब २ करोड ५४ लाख पुगेको छ । अमेरिकामा कोरोनाबाट ४ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना संक्रमणका हिसाबले विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा बुधबार बिहानसम्म कोरोना संक्रमितको संख्या १ करोड ६ लाख नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट १ लाख ५३ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये १ करोड ३ लाखभन्दा बढी निको भएका छन् ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले करिब एक वर्षमै १० करोडलाई संक्रमित बनाएको हो । गत वर्षको अप्रिलमा संक्रमितको संख्या १० लाख पुगेको थियो । त्यस्तै जुन २८ मा त्यो संख्या बढेर १ करोड पुगेको थियो । त्यस्तै नोभेम्बर ७ मा विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको थियो । करिब तीन हप्ताअघि जनवरी १० मा कोरोना संक्रमितको संख्या ९ करोड नाघेको थियो ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि विश्वका विभिन्न देशमा खोप कार्यक्रम भइरहेको छ । नेपालमै पनि बुधबारदेखि कोरोना खोप कार्यक्रम सुरु हुँदैछ । अहिलेसम्म चीन, भारत, रुस, अमेरिका र बेलायतले कोरोनाविरुद्धको खोप बनाएका छन् । अमेरिकी र जर्मन कम्पनीको संयुक्त लगानीमा बायोएनटेक फाइजर खोपको विकास भएको छ । यी सबै मुलुकले पहिले आफ्ना नागरिकलाई नै खोप उपलब्ध गराउँदै आएका छन् ।

त्यसैले डब्लूएचओले गरिब देशका बूढाबूढी र जोखिममा रहेका मानिसले भन्दा धनी देशका युवा र स्वस्थ मानिसले पहिले कोरोना खोप पाउनु न्यायोचित नभएको बताएको छ । डब्लूएचओले गरिब मुलुकलाई प्राथमिकतामा नराखी कोरोनाविरुद्धको लडाइँ नजितिने चेतावनी दिएको छ ।

प्रकाशित : माघ १४, २०७७ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्

रातमा मगनी, रातमै बिहे

पर्वत पाेर्तेल

काँकडभिट्टा — मोरङको रतुवामाई नगरपालिकाको एक गाउँकी ९ कक्षामा पढ्ने १७ वर्षीया किशोरीको स्थानीय एक युवकसँग प्रेम सम्बन्ध थियो । कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनले विद्यालय बन्द भयो ।

विद्यालय बन्द भए पनि किशोरकिशोरीबीचको भेटघाट टुटेन । उनीहरूबीचको प्रेम सम्बन्ध शारीरिक सम्पर्कमा पुगेर तीन महिनाको गर्भ रहेको थाहा भएपछि मात्रै आफन्तले पत्तो पाए ।

२० वर्ष टेकेका युवक गर्भवती प्रेमिकालाई भित्र्याउन जेठ ११ मा तयार भए । कानुनले वैधानिक नमान्ने भए पनि बिहे भयो । तीन महिनापछि किशोरीका हजुरबुबाले साउन १३ मा बालविवाह भन्दै स्थानीय प्रहरी चौकीमा उजुरी गरे ।

वडाध्यक्ष बुलन्दसिंह गनगाई, केटाकेटीका आमासहित पाँच जनामाथि कारबाही हुनुपर्ने भनिएको उक्त उजुरीपछि प्रहरीले केटालाई पक्राउ गर्‍यो । अरू प्रतिवादी फरार भए । केटालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । मोरङका पूर्वजिविस उपसभापति टुलुराम राजवंशीले भने, ‘जनप्रतिनिधिकै अगुवाइमा बालविवाह हुनु दुर्भाग्य हो ।’

***

कोरोनाले विद्यालय बन्द भएपछि फुर्सदिली पाँचथरको एक सामुदायिक विद्यालयको ८ कक्षाकी छात्राको ट्र्याक्टर चलाउने किशोरसँग प्रेम भयो । दलित परिवारकी १६ वर्षीया ती किशोरी र बाहुन परिवारका किशोरले गत भदौ ३ मा स्थानीय मन्दिरमा बिहे गरे ।

केटाको परिवारले स्विकारेन । एक सातापछि बाबुले नै उक्त बिहेविरुद्ध उजुरी गरे । भदौ २४ मा जिल्ला अदालत पाँचथरले केटालाई पुर्पक्षका लागि थुनामा राख्ने र केटीलाई अभिभावकको जिम्मा लगाउने आदेश दियो ।

***

उदयपुरको बेलका नगरपालिकाकी १६ वर्षीया छात्रा एसईई दिने तयारीमा थिइन् । लकडाउनसँगै परीक्षा रोकियो । फेसबुक चलाउँदा चलाउँदै एक युवासँग प्रेम भयो । पुस १० मा उदयपुरको चन्द्रपुरका २० वर्षीय युवकसँग भागेर विवाह गरिन् । अभिभावकले थाहा पाएपछि दुवैलाई बोलाएर सम्झाइबुझाई ‘उमेर पुगेपछि’ धुमधामसाथ बिहे गरिदिने सर्तमा जोडी छुटाइयो ।

तर, उनीहरू अलग बस्न सकेनन् । पुनः उनीहरू भागे । किशोरीका बाबुले पुस २३ मा छोरीलाई भगाएर बालविवाह गरेको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी गरे । केटालाई प्रहरीले पक्राउ गर्‍यो । किशोरीलाई अभिभावकको जिम्मा लगायो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका इन्स्पेक्टर तेजबहादुर दाहाल भन्छन्, ‘यो घटनाले किशोरीलाई मानसिक रूपमा असर परेको बुझिएको छ ।’

***

कोरोना संक्रमणकालमा समेत प्रदेश १ का विभिन्न जिल्लामा बालविवाह भइरहेका थिए भन्ने माथिका केही दृष्टान्तले प्रस्ट पार्छ । गत चैतदेखि १० महिना विद्यालय बन्द भए । यही समयमा बालबालिकासँग सम्बन्धित यस्ता धेरै घटना भएको पाइएका छन् । यस्ता घटना समाजमै मिलापत्र गरेर लुकाउने प्रवृत्तिले मुद्दाका रूपमा निकै कम कारबाहीको चरणमा पुग्छन् । कोरोना कालमा प्रदेशका चार जिल्लाबाट यस्ता ६ वटा मुद्दा मात्रै प्रहरीमा दर्ता भएका छन् ।

मोरङ र उदयपुरमा दुई–दुई तथा खोटाङ र पाँचथरमा एक–एक वटा घटनाका मात्रै उजुरी प्रहरीमा पुगेका हुन् । ‘धेरै घटना त प्रहरीसम्म पुग्दै पुगेनन्,’ बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) की प्रदेश संयोजक स्वस्तिका पोखरेल भन्छिन्, ‘लकडाउनका कारण प्रहरीसम्म मुद्दा पुर्‍याउनै पनि असहज भयो ।’

कानुनले विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ । उल्लंघन गरेमा बालबालिकाको उमेरअनुसार बढीमा तीन वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ अनुसार नेपालमा बालविवाहको दर ग्रामीण क्षेत्रमा बढी छ । ग्रामीण क्षेत्रमा बसोबास गर्नेमध्ये ४३ प्रतिशत र सहरमा २७ प्रतिशत महिलाले १८ वर्ष नपुग्दै विवाह गर्ने गरेको उल्लेख छ ।

‘कानुनको उल्लंघन गरेर विवाह गर्ने गराउनेलाई कारबाही हुन्छ,’ प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्की भन्छन्, ‘उमेर नपुग्दै किशोरकिशोरी भागेर विवाह गरेका घटनामा विभिन्न किसिमका हिंसामा खासगरी किशोरीहरू पर्ने गरेको पाइएका छन् ।’

विराटनगरका आसपासका ग्रामीण भेगमा बालविवाहका नरोकिएको नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन) का प्रदेश इन्चार्ज वासु अधिकारीले बताए । उनका अनुसार लकडाउनकै बेला एक रात जनकपुरबाट आएको परिवारले उमेर नपुगेकी किशोरीलाई एकै रात मगनी र बिहे गरेर दुलही बनाई सुटुक्क लगेको घटना अलि ढिला थाहा भयो ।

सिविन विराटनगरका अनुसार सन् २०२० मा प्रदेश १ का विभिन्न प्रहरी कार्यालयहरूमा बालविवाहका ३४ वटा उजुरी दर्ता भएका छन् । ‘प्रहरीसँगको सहकार्यमा कतिपय मुद्दा हामीले बदर गराएका छौं,’ सिविनका इन्चार्ज अधिकारीले भने, ‘धेरैजसो मुद्दा अदालतमा छन् ।’

विद्यालयको पाठ्यक्रमको सामाजिक शिक्षामा बालविवाह गर्न नहुने र गर्दा कारबाही हुने कानुनी प्रावधानबारे पनि प्रस्ट पारिएको छ । यद्यपि बालविवाह नघटेको बताउँछन् मोरङ रतुवामाईस्थित सिद्धकाली माविका प्रधानाध्यापक घनश्याम तिम्सिना । भन्छन्, ‘कतिपय समुदायमा सानैमा विवाह गर्ने संस्कारहरू छन्, यसले पनि बालविवाहलाई टेवा पुगेको देखिन्छ ।’

मनोविश्लेषक करुणा कुँवरका अनुसार अभिभावक र शिक्षकले किशोरकिशोरीका निजी र भावनात्मक कुराहरू नबुझ्दा बालविवाहजस्ता घटनाहरू बढेको हुन सक्ने बताउँछिन् । ‘यो बेला शिक्षक र अभिभावक साथी बन्न जरुरी हुन्छ,’ उनले भनिन्, ‘त्यसो गर्दा उनीहरूका धेरै समस्या समाधान हुन्छन् ।’

किशोरावस्थामा हुने शारीरिक वृद्धि, यौन शिक्षालगायतका कुरा पाठ्यक्रममा समावेश गरिने तर पढाउने बेलामा शिक्षकहरू नै लजाउने प्रवृत्ति देखिन्छ । ‘अभिभावक, शिक्षक र हाम्रो शिक्षा प्रणाली नै दोषी छन्,’ उनले भनिन् ।

प्रकाशित : माघ १४, २०७७ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×