भारतमा तीन माघदेखि कोरोना खोप

नयाँदिल्ली — भारत सरकारले आगामी ३ माघदेखि खोप अभियान सुरु गर्ने भएको छ । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा कोभिड १९ महामारीको पछिल्लो अवस्थाबारे समीक्षा गर्न बसेको उच्च सरकारी अधिकारीसहितको बैठकले उक्त निर्णय लिएको हो ।

भारतमा तीन माघदेखि कोरोना खोप

भारत सरकारले आगामी जुलाईसम्म ३० करोडलाई खोप लगाउने घोषणा पहिले नै गरिसकेको छ । जसअन्तर्गत पहिलो चरणमा भने कोरोना भाइरसविरुद्धको खोप देशभरि नै नि:शुल्क उपलब्ध हुने जनाइएको छ । त्यही पहिलो चरणको खोप अभियानको सुरुआत ३ माघदेखि गर्न लागिएको हो ।

पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएकाहरुलाई कोरोना खोप लगाइने भएको छ । त्यसपछि ५० वर्षभन्दा बढी उमेरका र जटिल स्वास्थ्य भएकाहरु गरी करिब २७ करोडलाई खोप लगाउने योजना रहेको छ ।

भारतीय सूचना ब्यूरोका अनुसार बैठकमा खोप अभियानका लाागि गरिएको पूर्वतयारीको समेत समीक्षा भएको थियो । यसअघि खोप अभियानको पूर्व तयारीस्वरुप तीन चरणमा गरेर ड्राइ रन गरिसकेको छ । खोप अभियानका तयारीको यथार्थ अवस्था थाहा पाउन उक्त ड्राइ रन चलाइएको थियो । ड्राइ रन सफल भएपछि भारत सरकारले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैगरी खोप अभियानका लागि भनेर करिब सवा ६ लाख जनालाई तालिम दिइएको छ । अनलाइनमार्फत खोप अभियानमा सहभागी हुन सर्वसाधारणलाई आह्वान समेत गरिएको छ । जसअन्तर्गत हालसम्म ७९ लाखजना दर्ता भइसकेको ब्यूरोले जनाएको छ ।

भारत सरकारले केही दिनअघि मात्र भारतमा उत्पादन भइरहेको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई आपतकालीन अनुमति दिने निर्णय गरेको थियो । कोभिशिल्डको विकास अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले गरेको हो भने कोभ्याक्सिन भने भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो । कोभिशिल्डको उत्पादक पुनाको सेरम इन्स्टि्ट्युट अफ इण्डिया(एसआईआई) हो भने कोभ्याक्सिन भने हैदरावादको भारत बायोटेकले नै उत्पादन गरिरहेको छ ।

प्रकाशित : पुस २५, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?