क्रिसमस मनाउँदा मास्क लगाउन डब्लूएचओको आग्रह

पुस २, २०७७

एजेन्सी

जेनेभा —  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले क्रिसमस मनाउने क्रममा हुने भीडभाडका बेला अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेको छ । 

क्रिसमस मनाउनेको संख्या युरोपमा धेरै भएकाले संगठनको युरोप कार्यालयले विशेष गरेर उक्त क्षेत्रमा रहेकाहरूलाई मास्क लगाउन आह्वान गरेको हो ।

संगठनले बुधबार जारी गरेको अपिलमा भविष्यको पुनरुत्थानलाई ध्यान दिँदै नयाँ वर्ष २०२१ मा कोरोना महामारीको न्यूनीकरण हुने वातावरण बनाउन पनि आग्रह गरिएको छ । विगतमा खुलारूपमा क्रिसमस मनाउन पाइएको भए पनि यस वर्षको क्रिसमस भने मास्क लगाएर मनाउन संगठनले विशेष जोड गरेको छ । क्रिसमस मनाउने क्रममा हेलचक्र्याइँ गरेको खण्डमा युरोपभरि नै भाइरसको महामारी फेरि अझ बढ्ने खतरा भएको तर्फ चिन्ता व्यक्त गरिएको छ ।

संयुक्त राष्ट्रसंघअन्तर्गतको स्वास्थ्यसम्बन्धी यस निकायले नयाँ वर्ष सन् २०२१ को पहिलो हप्ता र पहिलो महिना कोरोना महामारीको दृष्टिकोणले उच्च जोखिमको समय हुन सक्ने उल्लेख गरेको छ । 

उच्च जोखिमको बेलामा उच्च सतर्कता अपनाउनुपर्ने र सँगसँगै काम गर्नुपर्नेतर्फ पनि संगठनले सबैको ध्यानाकर्षण गराएको छ । ‘हामीले महामारी थप नफैलिँदै ख्याल गरियो र उच्च सावधानी अपनाइयो भने त्यसलाई व्यवस्थापन गर्न सकिन्छ, नत्र ठूलो क्षति हुने र व्यवस्थापन गर्न गाह्रो हुने खतरा हुन्छ,’ संगठनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

हरेक व्यक्ति व्यक्तिको सतर्कताले समुदायलाई सुरक्षित बनाउन सकिने भएकाले हरेकले सावधानी अपनाउनुपर्नेमा संगठनले जोड दिएको छ । बिदा वा चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट मुक्त भइने भएकाले संवेदनशील हुन पनि विश्व स्वास्थ्य संगठनले सबैलाई अनुरोध गरेको छ । सकेसम्म परिवार मात्रै सहभागी हुने गरी आफ्नै घरमा मनाउन र बाहिर जानै परेमा मास्कको अनिवार्य प्रयोग गर्न संगठनले पटकपटक अनुरोध गरेको छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully