भाइरसले स्वरूप बदलेपछि विज्ञहरू चिन्तित- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाइरसले स्वरूप बदलेपछि विज्ञहरू चिन्तित

नवीन पोखरेल

लन्डन — बेलायतमा कोभिड–१९ को नयाँ रूप देखिएको खबर बाहिरिएसँगै थप चिन्ता बढेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार संसद्‍मा नयाँ भाइरसबारे जानकारी दिँदै यो इंग्ल्यान्डमा द्रुत गतिमा फैलिइरहेको बताएका छन् ।

लन्डनमा मास्कलगायत सामग्री बेच्‍न राखिएको मेडिकल स्टोरअगाडिबाट हिँड्दै यात्रु । फाइल तस्बिर : रोयटर्स

बेलायतले यसबारे विश्व स्वास्थ्य संगठनलाई समेत जानकारी गराइसकेको ह्यानककले बताए । बीबीसीका अनुसार, बेलायतका ६० वटा स्थानीय निकायहरूले नयाँ भाइरसको रेकर्ड राखेका छन् भने इंग्ल्यान्डको दक्षिण क्षेत्रमा मात्र एक हजारभन्दा बढी नयाँ केस पाइएका छन् ।

बेलायती वैज्ञानिकहरूले भाइरसको नयाँ रूपबारे अध्ययन गरिरहेका छन् । बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडाले यो चिन्ताको विषय भएको बताए । ‘कुनै पनि भाइरसले एउटा बिन्दुमा पुगेपछि आफ्नास्वरूप परिवर्तन गर्छ,’ सिम्खडाले कान्तिपुरसँग भने, ‘आरएनए ग्रुपको भाइरस म्युटेड (परिवर्तित स्वरूपमा) हुन्छन् । खोप वा औषधिसँग लड्न सक्ने अवस्था कम भएपछि यसले रूप बदल्छ ।’

सिम्खडाले हाल आएका कोभिड–१९ विरुद्धको खोपले नयाँ किसिमको भाइरस रोकथाम गर्न सक्छ कि सक्दैन भन्न नसकिने बताए । तर नयाँ भाइरसविरुद्धको अर्को खोप बनाउन त्यति समय भने नलाग्ने उनी बताउँछन् । बेलायतमा कोभिड खोप सुरु भएकै बेला संक्रमण तीव्र फैलिइरहेको छ । ब्रिटिस मेडिकल जर्नल र हेल्थ सर्भिस जर्नलले क्रिसमसका बेला प्रतिबन्ध खुकुलो गर्ने सरकारको घोषणाले झन डरलाग्दो अवस्था निम्त्याउने चेतावनी दिएका छन् । पछिल्लो साता लन्डनका केही क्षेत्रमा कोरोना संक्रमण ७० प्रतिशतसम्म वृद्धि भएको तथ्यांकले देखाएको छ ।

लन्डनमा थप कडा प्रतिबन्ध

लन्डनमा कोभिड–१९ को संक्रमण बढ्ने क्रम नरोकिएपछि सरकारले बुधबारदेखि थप कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सरकारले संक्रमणको आधारमा अहिले ‘उच्च अलर्ट’ (टियर टु) मा रहेको लन्डनलाई ‘अति उच्च अलर्ट’ (टियर थ्री) मा लैजाने निर्णय गरेको हो ।

गत डिसेम्बर २ देखि एक महिना लामो देशव्यापी लकडाउन खुला गरेसँगै सरकारले इंग्ल्यान्डमा संक्रमणको आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा क्षेत्रगत वर्गीकरण गरी प्रतिबन्धहरू लागू गरेको थियो । अति उच्च अलर्ट (टियर थ्री) मा रहेका क्षेत्रमा अलग घरमा बस्ने मानिसले घरभित्र जमघट गर्न पाउने छैनन् । फरक घरका ६ जनासम्मको समूहमा पार्क, समुद्री किनारालगायत ठाउँमा मात्र भेट्न छुट छ ।

बार, पब, रेस्टुरेन्ट, क्याफेलगायत हस्पिटालिटी व्यवसाय बन्द रहनेछन् । टेकवे र डेलिभरी सेवा भने सुचारु राख्न पाइनेछ । पसल, जिमखाना, हेयर ड्रेसरलगायत व्यवसाय खुला रहनेछन् । तर सिनेमासहितका इन्डोर मनोरञ्जनहरू बन्द रहनेछन् ।

खेल इभेन्टहरू प्रत्यक्ष हेर्न दर्शक स्टेडियमसम्म जान पाउँदैनन् । अति उच्च अलर्टमा रहेका क्षेत्रहरूमा बाहिरबाट आउने र त्यहाँबाट बाहिर जाने यात्राहरू पनि नगर्न आह्वान गरिएको छ ।

प्रकाशित : पुस १, २०७७ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्

पत्रकार डेकेन्द्र थापा हत्या प्रकरणका एक अभियुक्त पक्राउ

ज्योति कटुवाल

दैलेख — द्वन्द्वकालमा मारिएका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक जना फरार अभियुक्तलाई मगंलबार प्रहरीले प्रक्राउ गरेको छ । थापाको हत्यामा सलंग्न भएका भनिएका नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो ।

जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते थापाको हत्यामा संलग्न भएको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो । फैसलामा पुनलाई २ वर्ष कैद सजाय तोकिएको थियो । यसअघि पुनले १ वर्ष सात महिना १ दिन कैद भुक्तान गरेका र बन्दीप्रत्यक्षीकरण परेका कारण अदालतको फैसला ढिला आएपछि उनी फरार रहेका थिए ।

फरार रहेका उनलाई आफ्नै घरबाट प्रहरीले प्रकाउ गरेको हो । अब पुनले ४ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले प्रहरीले पक्राउ गरेको डीएसपी अनुपम श्रेष्ठले बताए । २०६१ साउन २७ गते नौमुलेको द्वारीमा तत्कालीन माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेर सास छदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेका थिए ।

डेकेन्द्रका घरपरिवार भने प्रहरीले मुख्य अभियुक्तलाई प्रहरी प्रशासनले प्रकाउन गर्न नसकेको बताउछन । डेकेन्द्रका कान्छा भाइ यज्ञराज थापा भने प्रहरीले चाहे जति बेला पनि प्रकाउ गर्न सक्ने बताउछन । उनले भने, ‘पटक–पटक प्रहरी प्रशासनलाइ हत्याराको घरसमेत देखाउँदा माथिको आदेश छैन भन्दै आलटाल गर्‍यो । के साँच्चिकै डेकेन्द्रप्रतिको न्याय मरेको हो त ।’

प्रकाशित : पुस १, २०७७ १२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×