नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ५० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा थपिए ९ सय ३६ कोरोना संक्रमित, १४ को मृत्यु

मंसिर ३०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमतिको संख्या साढे २ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा ७ हजार १ सय १७ पीसीआर परीक्षण भएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १९ सय ९६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ३० पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिए ४ सय ३८ संक्रमित

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ३८ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ सय ७४ जना महिला र २ सय ६४ जना पुरुष रहेका छन् । नयाँ थपिने संक्रमितमा काठमाडौंमा ३ सय १० जना, भक्तपुरमा ४२ जना र ललितपुरमा ८६ जना रहेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully