दैलेखमा स्वास्थ्यकर्मीले ५ महिनादेखि भत्ता पाएनन्
सल्यान, दैलेख — सल्यानको सिद्धकुमाख गाउँपालिकाले कोरोना विशेष अस्पताल सञ्चालनका लागि असोज १२ गते डाक्टरसहित दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीका लागि दरखास्त आह्वान गर्यो । तर डाक्टरका लागि कसैको आवेदन नपर्दा स्टार्फ नर्सको भरमा ५ शय्याको कोरोना अस्पताल सञ्चालन भइरहेको छ । कपुरकोट गाउँपालिकाको कोरोना अस्पताल पनि नर्सकै भरमा छ ।
दुवै पालिकाले डाक्टरबिनै अस्पताल सञ्चालनमा ल्याएका हुन् । कुमाख, त्रिवेणी र दार्मा गाउँपालिकामा पनि डाक्टर छैनन् । सरकारले तोकेभन्दा कम तलब भएको भन्दै ती गाउँपालिकामा डाक्टरको आवेदन नपरेको हो । सल्यानको शारदा नगरपालिकाको कोरोना अस्पतालमा मात्र डाक्टरले उपचार गरिरहेका छन् । डाक्टर नहुँदा ग्रामीण क्षेत्रका अस्पतालको सेवा प्रभावकारी बन्न सकेको छैन ।
कपुरकोटले तीन महिनाका लागि ४५ हजार तलब दिने भन्दै आवेदन आह्वान गरेको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए । ‘डाक्टर आउन नचाहेपछि नर्सकै भरमा अस्पताल सञ्चालन गर्नुको विकल्प भएन,’ उनले भने, ‘अस्पतालमा जनशक्ति, पूर्वाधार र उपकरण सबैको समस्या छ ।’ डाक्टर नहुँदा नर्सहरूले कोरोना संक्रमितलाई सामान्य परामर्श मात्र दिने गरेको सिद्धकुमाखका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए । उनका अनुसार डाक्टर नभएका कारण संक्रमितहरू होम आइसोलेसनमा बस्न बाध्य छन् ।
बनगाडकुपिण्डे नगरपालिका, कालीमाटी र छत्रेश्वरी गाउँपालिकाले पनि कोरोना अस्थायी अस्पतालका लागि विज्ञापन आह्वान गरेका छन् । तर डाक्टरमा कसैले आवेदन दिएका छैनन् । पहिलोपल्ट असोज पहिलो साता विज्ञापन गर्दा कसैको आवेदन नपरेपछि मंसिर २२ गते दोस्रो पटकका लागि पुनः विज्ञापन आह्वान गरिएको छत्रेश्वरीका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर खड्काले बताए । उनका अनुसार अहिलेसम्म स्टाफ नर्सको मात्र आवेदन परेको छ । ग्रामीण क्षेत्रका कोरोना अस्पतालमा डाक्टर नहुँदा संक्रमितहरू जिल्ला अस्पतालमा आउनुपर्ने बाध्यता भएको सिद्धकुमाख गाउँपालिकाका दण्डीराम रेउलेले बताए । ‘बरु निजी मेडिकल भरपर्दो छन्,’ उनले भने, ‘कोभिड अस्पताल भनिए पनि सामान्य उपचारको प्रबन्ध पनि छैन ।’
स्वास्थ्यकर्मीले ५ महिनादेखि भत्ता पाएनन्
कोरोना संक्रमण फैलिन थालेपछि वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत शंकर शाहीलाई तीन महिनाका लागि दैलेख काजमा खटाइयो । तीन महिना भनिए पनि पाँच महिनासम्म नारायण नगरपालिकास्थित पीसीआर ल्याबमा इञ्चार्जको जिम्मेवारी सम्हालेका उनले दुर्गम र जोखिमभत्ता अझै पाएका छैनन् । उनी मात्र होइन, ल्याबमा कार्यरत तीन स्वास्थ्यकर्मीले दुर्गम भत्ता, कोरोना जोखिम भत्ता र प्रोत्साहन भत्ता पाउन सकेका छैनन् । ‘दैलेख कोरोनाको ‘रेडजोन’ बनेकै बेला मलाई काजमा ल्याइयो,’ उनले भने, ‘ज्यानकै बाजी थापेर काम गर्यौं, तर हामीलाई विभिन्न सुविधाबाट ठगिएको छ ।’ सरकारले दिने भनेको सुविधा नदिएर काज फिर्ता गरेको उनले गुनासो गरे ।
उक्त ल्याबमै कार्यरत दिलीप केसीले पनि तलबबाहेकको सरकारी सुविधा अझै नपाएको बताए । उनले सुरुमा एक महिनाको पारिश्रमिक र भत्ता पाएका थिए । चार महिनाको अतिरिक्त सुविधा नपाएरै आफू कार्यक्षेत्रमा फर्किएको उनको भनाइ छ । २४ सै घण्टा ल्याबमा काम गर्दा पनि सरकारले आफूहरूको दुःख नबुझेको स्वास्थ्यकर्मीको गुनासो छ । ‘कोरोनाको प्रभाव कम भएपछि हामीहरूको सबै दुःख सरकारले बिर्सियो,’ इञ्चार्ज शाहीले भने, ‘स्वास्थ्य मन्त्रालयले दुई पटक परिपत्र गर्दा पनि जिल्ला अस्पतालले बेवास्ता गरेको छ ।’
दुल्लु अस्पतालको ल्याबमा कार्यरत ६ स्वास्थ्यकर्मीले पनि तलबबाहेकको सुविधा पाएका छैनन् । अस्पतालमा सरकारले सिधै बजेट नपठाउँदा स्वास्थ्यकर्मीलाई भत्ता दिन नसकिएको जिल्ला अस्पताल प्रमुख डा. निरन्जन पन्तले बताए । ‘मन्त्रालयले संघअन्तर्गतका अस्पतालमा सिधै बजेट पठाउँछ । हामी प्रदेशअन्तर्गत छौं,’ उनले भने, ‘जोखिम र प्रोत्साहन भत्ता कति हो भन्नेसमेत थाहा छैन ।’ उनले निर्देशिका नआउँदा जोखिमभत्ताबारे स्पष्ट नभएको जनाए । उनका अनुसार सामाजिक विकास मन्त्रालयले परिपत्र नगर्दासम्म भत्ता वितरण गर्न समस्या छ ।
