कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कन्ट्याक्ट ट्रेसिङ नहुँदा संक्रमण बढ्दै

शिक्षकहरुमा पनि धमाधम संक्रमण तर उनीहरुको सम्पर्कमा रहेकाहरुको खोजी गरिएन
भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुरको भीमदत्त–१५ गोबरियाको वेस्टर्न पब्लिक स्कुलकी एक शिक्षिकामा गत साता कोरोना संक्रमण पुष्टि भयो । शिक्षिकामा संक्रमण देखिएपछि बुधबारदेखि विद्यालय बन्द गरिएको छ । तर शिक्षिकाको सम्पर्कमा आएका विद्यार्थी र अन्य शिक्षकहरूको कन्ट्याक्ट ट्रेसिङ भने हुन सकेन ।

कन्ट्याक्ट ट्रेसिङ नहुँदा संक्रमण बढ्दै

गत साता नै भीमदत्त–७ हल्दुखालको बाल जागृति आधारभूत विद्यालयकी एक शिक्षिकामा पनि संक्रमण देखिएको थियो । उक्त विद्यालय पनि बन्द गरिएको छ । यहाँका विद्यार्थी र अन्य शिक्षकहरूको पनि कन्ट्याक्ट ट्रेसिङ गरिएन । ‘संक्रमण देखिएका दुवै शिक्षिकाको कन्ट्याक्ट ट्रेसिङ पाँच दिनपछि मात्रै हुन्छ,’ भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले भने, ‘स्वास्थ्य निर्देशनालयबाट यस्तै निर्देशन छ ।’ उनका अनुसार अहिले संक्रमण पुष्टि भएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ पाँच/सात दिनपछि मात्रै भइरहेको छ । कञ्चनपुरमा हालसम्म ६ जना शिक्षकहरूमा संक्रमण देखिएको छ ।

केही दिनयता भीमदत्तलगायत जिल्लाका सबै स्थानीय तहमा संक्रमणको दर बढेको छ । जिल्लाभरिमा दिनमा ३० जनाभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ । तर स्थानीय तहहरूले संक्रमण रोकथामका लागि अत्यावश्यक मानिएको कन्ट्याक्ट ट्रेसिङमा ध्यान दिएका छैनन् । ‘संक्रमित भएका मान्छे बजारमा निर्बाध घुमिरहेका छन्,’ महेन्द्रनगरका बिसनदेव जोशीले भने, ‘कन्ट्याक्ट ट्रेसिङ नहुँदा जोखिम झनै बढेको छ ।’

पछिल्लो पटक कञ्चनपुरकै शुक्लाफाँटा–५ मा समुदायमै संक्रमण बढ्न थालेपछि वडा नै सिल गरिएको छ । उक्त वडामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु र थप ९ जनामा संक्रमण पुष्टि भएकाले वडा कार्यालयले मंसिर २९ देखि पुस २ गतेसम्म सिल गरेको हो । ‘निर्देशिकाले नै कन्ट्याक्ट ट्रेसिङ ढिलो गर्ने भनेको छ,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले भने, ‘हामीले कन्ट्याक्ट ट्रेसिङ सकेअनुसार गरेकै छौं, तर पहिले जस्तो तीव्र गतिमा भने छैन ।’ शुक्लाफाँटामा हालसम्म १ सय ३६ जनामा संक्रमण देखिएको छ, जसमध्ये ९ जना सक्रिय संक्रमित छन् । संक्रमितको सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने र उनीहरूको निश्चित अवधिपछि स्वाब संकलन गर्नेलगायत गतिविधि कम हुँदै गएका छन् । ‘संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरू नै क्वारेन्टाइनमा बस्न र स्वाब दिन तयार हुँदैनन्,’ दोधारा–चाँदनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले भने । कतिपय आफैं स्वाब दिएकाहरू नगरबाहिर बस्ने हुँदा तिनको कन्ट्याक्ट ट्रेसिङमा समस्या हुने गरेको उनले बताए ।

दोधारा–चाँदनी नगरमा पछिल्लो पटक एक वडाध्यक्षमा संक्रमण देखिनुका साथै थप एक वडाध्यक्षमा लक्षण देखिएको छ । उक्त नगरपालिकामा समुदायमै संक्रमण तीव्र गतिमा फैलिइरहेको स्वास्थ्यकर्मीहरूको आकलन छ । ‘पछिल्लो पटक नगर क्षेत्रभन्दा बाहिर नगएकाहरूमा पनि संक्रमण देखिएको छ,’ महराले भने, ‘अब समुदायमा नै धेरै फैलिइसकेको हाम्रो अनुमान छ ।’ पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले आवश्यकता हेरेर कन्ट्याक्ट ट्रेसिङ गरिरहेको बताए । पुनर्वासमा सक्रिय संक्रमितको संख्या घट्दो रहेको उनले बताए । पछिल्लो पटक उक्त नगरपालिकामा पनि एक शिक्षकमा संक्रमण पुष्टि भएको छ । विद्यालय खुलेपछि संक्रमणको जोखिम बढेको उनले बताए ।

कञ्चनपुरमा पछिल्लो एक सातामा दुई सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यसमा शिक्षक र जनप्रतिनिधिहरू पनि छन् । तर तिनको सम्पर्कमा आएकाहरूको पहिचानमा भने ढिलाइ भएको छ । यसले समुदायमा संक्रमण बढ्न सक्ने देखिन्छ ।

‘कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहहरूलाई नै हो, तर गर्न सकेको देखिँदैन,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन सिद्धराज भट्टले भने ।

प्रकाशित : पुस १, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?