टोरन्टो — कोभिड–१९ विरुद्ध फाइजर र यसको साझेदार बायोएनटेकले विकास गरेको खोप सार्वजनिक प्रयोगका लागि क्यानाडाले पनि स्वीकृति दिएको छ । क्यानाडाको स्वास्थ्यसम्बन्धी एक संस्था हेल्थ क्यानाडाले खोप प्रयोगका लागि अनुमति दिने विषयमा व्यापक अनुसन्धान भएको र सरकारले १६ वर्षभन्दा माथिको उमेरका नागरिकमा तत्काल लगाउने गरी अनुमति दिइएको जनाएको छ ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा गरेको व्यापक खोजी र अनुसन्धानका आधारमा खोप प्रयोगका लागि सुरक्षित देखिएको भन्दै सिफारिस गरेको हो ।
स्वास्थ्य अधिकारीहरूले उक्त खोप अर्को सातासम्ममा क्यानाडा आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खोपको प्रभावकारिताबारे अनुसन्धान भएको र क्यानाडाका १४ वटा वितरक कम्पनीहरूले उक्त खोप देशभित्र वितरण गर्ने बताए । कोभिड–१९ को संक्रमणबाट युरोपमा सबैभन्दा प्रभावित बेलायतले मंगलबारदेखि नै फाइजरको खोप प्रयोगमा ल्याइसकेको छ । फाइजर–बायोएनटेक खोप प्रयोगका लागि बेलायतको नियामक निकायले करिब एक साताघघि नै अनुमति दिएको थियो । बेलायती अधिकारीका अनुसार पहिलो चरणमा जोखिममा रहेका वर्गमा खोप लगाउन थालिएको हो ।
कोभिड–१९ को संक्रमणबाट बचाउन यो खोप ९५ प्रतिशत प्रभावकारी भएको बताइएको छ । तर माइनस ७० डिग्री चिसोमा राख्नुपर्ने भएकाले ओसारपसार र व्यवस्थापनमा केही चुनौतीपूर्ण रहेको स्वास्थ्यविद्हरूको राय छ । सबै अस्पतालमा राम्रो र उच्च क्षमतामा फ्रिज नहुँदा समस्या हुन सक्ने बताइएको छ । यहाँका मिडियाले करिब ८ लाख डोज खोप बेल्जियमबाट बेलायत पुगेको बताइएका छन् । बेलायतमा चाँडै नै यो खोप प्रयोग गर्ने विषयमा विभिन्न प्रश्न उठेको भए पनि बेलायत सरकारले खोप प्रयोग गर्ने नागरिकको सूक्ष्म निरीक्षण गरेर खोप सुरु गर्ने जानकारी गतहप्ता नै दिएको हो । यसैबीच, विश्व स्वास्थ्य संगठनले भने जसलाई खोप आवश्यक पर्छ, उसलाई मात्रै प्रयोग गर्न भनेको छ । अहिल्यै सबैलाई खोप दिनु जरुरी नभएको उसको भनाइ छ । यो खोपका लागि विश्वका विभिन्न देशले खरिद अनुमति दिएका छन् । यो खोप क्यानाडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड र ब्राजिलले १९ करोड डोजको भ्याक्सिनका लागि पहिले नै खरिदको अनुमति दिएका छन् । संसारभरमा हालसम्म ६ करोडभन्दा बढी कोभिड–१९ संक्रमित छन् । त्यसमध्ये १५ लाखभन्दा बढीको ज्यान गइसकेको छ ।
