संक्रमण बढेपछि फ्रान्समा एक महिनाका लागि फेरि पूर्ण लकडाउन- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण बढेपछि फ्रान्समा एक महिनाका लागि फेरि पूर्ण लकडाउन

ददी सापकोटा

पेरिस — कोरोना भाइरसको दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अझ घातक हुन सक्ने भन्दै फ्रान्सेली राष्ट्रपति एमानुयल माख्रोले देशभरि नै नयाँ लकडाउनको घोषणा गरेका छन् ।

फ्रान्सका अस्पतालहरुमा कोरोना भाइरसबाट बढ्दो बिरामीको चाप कम गर्न यस्तो कदम चाल्नुपरेको राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले बताएका हुन् ।

उनले भने, 'कोरोना भाइरसको द्रुत गतिको संक्रमणले हामी अति अभिभूत भएका छौं । सबै फ्रान्सेलीले अब उच्च सतर्कता अपनाउनुपर्छ । यसको विकल्प छैन ।'

राष्ट्रपतिका अनुसार शुक्रबारदेखि नयाँ घोषणा लागू हुने छ । यो घोषणा डिसेम्बर १ सम्म लागू हुने छ । घोषणाअनुसार सुसार केन्द्र र स्कुलहरु भने खुला रहने छन् । लकडाउनको नयाँ नियमअनुसार सर्वसाधारण नागरिकहरु अत्यावश्यक सामान खरिद, स्वास्थ्य परामर्श र एक घण्टा दैनिक व्यायामका लागि निस्किन पाउने छन् । कफी, रेस्टुरेन्ट, बारहरु पूर्णरुपमा बन्द गर्नुपर्ने छ । सुपरमार्केट र फार्मेसीहरुहरु भने खुला रहन पाउने छन् ।

यदि कुनै रोजगारदाताले घरबाट काम गर्न असम्भव भएको दाबी गरेमा रोजगारदाताहरुलाई काममा जन अनुमति दिइने छ । 'गएको वसन्त कालमा जस्तै तपाईं कामको लागि, चिकित्सकसितको भेट, आफन्तलाई सहयोग गर्न, आवश्यक किनमेल गर्न वा तत्कालै विमान लिनुपर्ने भए बाहिर जान सक्नुहुनेछ,' फ्रान्सेली राष्ट्रपति माख्रोले सम्बोधनका क्रममा भने । लकडाउनको अवधिमा एक प्रान्तबाट अर्को प्रातमा जान भने पाइने छैन ।

कोरोना भाइरसको दोस्रो तरंगले ल्याएको गम्भीर स्थितिमा अहिलेको लकडाउनले बिरामीको चाप भएका अस्पतालहरुलाइ केही राहत दिने तथा सिकिस्त बिरामीहरुको उपचार गर्न सहज हुने विश्वास गरिएको छ ।

फ्रान्समा केही दिनदेखि संक्रमितको संख्या २४ घण्टामा ५२ हजार नाघेको थियो । गत २ दिनमा मात्रै करिब ८० हजार संक्रमित थपिएका थिए । हाल पेरिसका अस्पतालमा नब्बे प्रतिशत सघन उपचार कक्षहरु भरिएका छन् । जाडोयामको कारणले ठण्डीबाट प्रभावित बिरामीहरुको संख्या थपिँदा अस्पतालहरुले धान्नै नसक्ने स्थिति देखिएको चिकित्सकहरुले बारम्बार दोहोर्‍याइरहेका थिए ।

हाल फ्रान्समा कोरोना भाइरस परीक्षण गर्न मध्ये १७ प्रतिशतको नतिजा पोजिटिभ देखिएको छ । यो गतिमा भाइरस फैलिँदा नोभेम्बरको मध्यसम्म सघन उपचार कक्षमा बिरामीहरुको संख्या ९० हजार पुग्ने अनुमान गरिएको छ । दैनिक मृत्यु हुनेको संख्या पनि ५० प्रतिशतले बढ्नसक्ने देखेपछि सरकारले लकडाउनको कठोर निर्णय लिएको हो । लकडाउनको कारणले काममा जान नसक्नेको लागि सरकारले शतप्रतिशत तलब वा अंशिक बेरोजगारी भत्ताको सुनिश्चितता गरेको राष्ट्रपतिले सार्वजनिक गरेका छन् ।

प्रकाशित : कार्तिक १३, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्

जाडोमा झनै बढ्न सक्छ संक्रमण : विज्ञ

‘झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर हुँदैन । एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिन सक्छ ।’
अतुल मिश्र

काठमाडौँ — कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ । कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहने चिकित्सकहरू बताउँछन् । 

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले जाडोयाममा कोभिडसँगै मौसमी रुघाखोकीसमेत देखिने हुनाले आमव्यक्तिमा कोरोना संक्रमणको त्रास पनि बढ्न सक्ने बताए । ‘जाडोयाममा दमको समस्यासमेत बढ्छ,’ उनले भने, ‘सकेसम्म इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) विरुद्को खोप लगाउनु फाइदाजनक हुन सक्छ ।’

उनका अनुसार कोभिड र मौसमी रुघाखोकी दुवै संक्रमणसँग लड्नुपर्ने स्थितिमा शरीर झन् कमजोर हुने भएकाले त्यस्तो खोपले जटिल परिस्थितिबाट जोगाउन सक्छ । ‘पुस–माघसम्म संक्रमणको विस्तार जारी नै रहने देखिन्छ । त्यो बेलासम्म कोभिडविरुद्घको खोप बजारमा आउन सक्छ । त्यसैले जोखिममा रहेकाहरूले केही समय अझ जोगिएर बस्नुपर्छ,’ डा. पाण्डेले भने ।

कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशत हाराहारी काठमाडौं उपत्यकामै भएकाले राजधानीवासी सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने विज्ञहरूले सुझाएका छन् । कुल सक्रिय संक्रमित ३९ हजार ६ सय ४३ मध्ये ४९.६३ प्रतिशत काठमाडौं उपत्यकामा छन् । कोभिडले हुने मृत्युदर बढिरहेको छ । हालसम्म पीसीआर परीक्षण गरेर कोभिड संक्रमण देखिएकामध्ये ८ सय ८७ जनाको मृत्यु भइसकेको छ । देशभरमा कोभिड संक्रमितमध्ये ३२ प्रतिशत मात्र महिला भए पनि पछिल्ला दिनमा यो प्रतिशत बढिरहेको छ ।

गत शुक्रबार कुल संक्रमितको ३७.५६ प्रतिशत, शनिबार ३५.०१ प्रतिशत, आइतबार ३७.३५ प्रतिशत, सोमबार ३८.८८ प्रतिशत, मंगलबार ३७.०१ प्रतिशत र बुधबार ३८.७९ प्रतिशत महिला छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सक्रिय संक्रमितमध्ये ०.१० प्रतिशत व्यक्ति सघन उपचारमा छन् । हाल २ सय ९० जना आईसीयू र ७२ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी १ सय ७८ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । ‘देशभरिमा मंगलबार ५ सय ७० जनामा कोभिड पोजिटिभ देखिँदा मृत्यु हुनेको संख्या १४ पुग्नु बढी हो,’ डा. पाण्डेले भने, ‘पछिल्ला दिनमा परीक्षण कम भए पनि आईसीयू र भेन्टिलेटरमा रहेकाहरूको मृत्यु भइरहेको छ ।’

दसैंताका कोभिड–१९ को परीक्षण कम भएको छ । कुल पीसीआर परीक्षणमा बुधबार २३.६९ प्रतिशतलाई संक्रमण देखिएको छ । मंगलबार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षणबाट ५ सय ७० जना (२५.४ प्रतिशत) मा संक्रमण पाइएको थियो । संक्रमणको दर सोमबार ३४.७७ प्रतिशत, आइतबार २३.१९ प्रतिशत र शनिबार २९.७ प्रतिशत थियो । कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ । बुधबार मात्र २ हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २ सय ९५ वटा नमुना परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ नमुनाको परीक्षण गरियो ।

प्रकाशित : कार्तिक १३, २०७७ ०७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×