जाडोमा झनै बढ्न सक्छ संक्रमण : विज्ञ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाडोमा झनै बढ्न सक्छ संक्रमण : विज्ञ

‘झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर हुँदैन । एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिन सक्छ ।’
अतुल मिश्र

काठमाडौँ — कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहन्छ । कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहने चिकित्सकहरू बताउँछन् । 

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले जाडोयाममा कोभिडसँगै मौसमी रुघाखोकीसमेत देखिने हुनाले आमव्यक्तिमा कोरोना संक्रमणको त्रास पनि बढ्न सक्ने बताए । ‘जाडोयाममा दमको समस्यासमेत बढ्छ,’ उनले भने, ‘सकेसम्म इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) विरुद्को खोप लगाउनु फाइदाजनक हुन सक्छ ।’

उनका अनुसार कोभिड र मौसमी रुघाखोकी दुवै संक्रमणसँग लड्नुपर्ने स्थितिमा शरीर झन् कमजोर हुने भएकाले त्यस्तो खोपले जटिल परिस्थितिबाट जोगाउन सक्छ । ‘पुस–माघसम्म संक्रमणको विस्तार जारी नै रहने देखिन्छ । त्यो बेलासम्म कोभिडविरुद्घको खोप बजारमा आउन सक्छ । त्यसैले जोखिममा रहेकाहरूले केही समय अझ जोगिएर बस्नुपर्छ,’ डा. पाण्डेले भने ।

कुल सक्रिय संक्रमितमध्ये ५० प्रतिशत हाराहारी काठमाडौं उपत्यकामै भएकाले राजधानीवासी सबैले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने विज्ञहरूले सुझाएका छन् । कुल सक्रिय संक्रमित ३९ हजार ६ सय ४३ मध्ये ४९.६३ प्रतिशत काठमाडौं उपत्यकामा छन् । कोभिडले हुने मृत्युदर बढिरहेको छ । हालसम्म पीसीआर परीक्षण गरेर कोभिड संक्रमण देखिएकामध्ये ८ सय ८७ जनाको मृत्यु भइसकेको छ । देशभरमा कोभिड संक्रमितमध्ये ३२ प्रतिशत मात्र महिला भए पनि पछिल्ला दिनमा यो प्रतिशत बढिरहेको छ ।

गत शुक्रबार कुल संक्रमितको ३७.५६ प्रतिशत, शनिबार ३५.०१ प्रतिशत, आइतबार ३७.३५ प्रतिशत, सोमबार ३८.८८ प्रतिशत, मंगलबार ३७.०१ प्रतिशत र बुधबार ३८.७९ प्रतिशत महिला छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार सक्रिय संक्रमितमध्ये ०.१० प्रतिशत व्यक्ति सघन उपचारमा छन् । हाल २ सय ९० जना आईसीयू र ७२ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी १ सय ७८ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा छन् । ‘देशभरिमा मंगलबार ५ सय ७० जनामा कोभिड पोजिटिभ देखिँदा मृत्यु हुनेको संख्या १४ पुग्नु बढी हो,’ डा. पाण्डेले भने, ‘पछिल्ला दिनमा परीक्षण कम भए पनि आईसीयू र भेन्टिलेटरमा रहेकाहरूको मृत्यु भइरहेको छ ।’

दसैंताका कोभिड–१९ को परीक्षण कम भएको छ । कुल पीसीआर परीक्षणमा बुधबार २३.६९ प्रतिशतलाई संक्रमण देखिएको छ । मंगलबार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षणबाट ५ सय ७० जना (२५.४ प्रतिशत) मा संक्रमण पाइएको थियो । संक्रमणको दर सोमबार ३४.७७ प्रतिशत, आइतबार २३.१९ प्रतिशत र शनिबार २९.७ प्रतिशत थियो । कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ । बुधबार मात्र २ हजार ९ सय ८१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २ सय ९५ वटा नमुना परीक्षण गरिएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४८ नमुनाको परीक्षण गरियो ।

प्रकाशित : कार्तिक १३, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्

बार्सिलोनाले युभेन्टसलाई २-० ले हरायो

म्यानचेस्टरका लागि रसफोर्डको ह्याट्रिक
रोयटर्स

लन्डन — ओसमन डेम्बेले र लियोनल मेसीले पेनाल्टीबाट गरेको गोलमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार युभेन्टसलाई २–० ले हराएको छ ।

आफ्नो घरेलु मैदानमा युभेन्टस भाग्यमानी रहेन र उसका अल्भारो मोराटाको तीन गोललाई मान्यता दिइएको थिएन् ।

डेम्बेलेले १४ औं मिनेटमा ‘डिफ्लेक्ट’ प्रहारको मदतले पहिलो गोल गरे भने मेसीले च्याम्पियन्स लिगमा आफ्नो १४ औं पेनाल्टी गोललाई सम्भव पारे । क्लबभित्रको आन्तरिक किचलोलाई बिर्सेर समूह ‘जी’ मा बार्सिलोनाले सिरी ‘ए’ क्लबमाथि यो सुखद जित निकालेको हो ।

यही समूहमा फेरेन्कभारोस र डायनामो किभले २–२ को बराबरी खेले । समूह ‘एच’ मा सब्टिच्युट मार्कस रसफोर्डको सानदार ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले जर्मनीको आरबी लाइपजिगलाई ५–० ले हरायो ।

ओल्ड ट्रायफोर्डमा खेल सकिन २७ मिनेट बाँकी छँदा रसफोर्ड मैदान छिरे र तीन गोल गरे । क्लबका व्यवस्थापक ओले गन सोल्सारपछि उनी म्यानचेस्टरका लागि सब्टिच्युटका रूपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् ।

यसअघि सोल्सारले सन् १९९९ मा नटिङघम फरेस्टविरुद्ध यो उपलब्धी हात पारेका थिए । यही समूहमा पेरिस सेन्ट जर्मेनले इस्टानबुल बासाकसेहिरलाई २–० ले हरायो ।

अर्को प्रिमियर लिग क्लब चेल्सीले भने समूह ‘ई’ मा क्रान्सडोरलाई ४–० ले हरायो भने सेभियाले रेनेसलाई १–० ले पन्छायो । समूह ‘एफ’ मा लाजियो र क्लब ब्रुगले १–१ को बराबरी खेले । यस्तै बोरुसिया डर्टमुन्डले जेनिथ सेन्ट पिटरर्सबर्गलाई २–० हरायो ।

प्रकाशित : कार्तिक १३, २०७७ ०७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×