२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

दोस्रो पटक कोरोना संक्रमणपछि नेदरल्यान्ड्सकी ८९ वर्षीया महिलाको मृत्यु

एजेन्सी

आम्स्टर्डम — 'दोस्रो पटक' कोरोना भाइरसको संक्रमण भएकी नेदरल्यान्ड्सकी एक महिलाको मृत्यु भएको छ । नेदरल्यान्ड्सकी ८९ वर्षीया महिलाको दोस्रो पटकको कोरोना संक्रमणबाट मृत्यु भएको डच विज्ञहरुको एउटा टोलीद्वारा प्रकाशित लेखमा उल्लेख गरिएको छ ।

दोस्रो पटक कोरोना संक्रमणपछि नेदरल्यान्ड्सकी ८९ वर्षीया महिलाको मृत्यु

पुन: कोरोना संक्रमण भएका व्यक्तिको मृत्यु भएको यो पहिलो घटनाका रुपमा लिएको छ ।

यो घटनाले कोरोना भाइरसबाट संक्रमित भएपछि रोगप्रतिरोधात्मक क्षमता र एन्टीबडीले कति समयसम्म काम गर्छ भन्ने गम्भीर प्रश्न उब्जिएको विज्ञहरुले बताएका छन् । ती महिलालाई बोनम्यारोको क्यान्सरको पनि समस्या थियो । ती महिलाको उपचार भएको मास्त्रिहित युनिभर्सिटी मेडिकल सेन्टरका अनुसार ती महिलालाई यस वर्षको सुरुवातमा कोरोना पुष्टि भएको थियो ।

सेल डिप्लेटिङ थेरापीका कारण उनमा प्रतिरोधात्मक क्षमता कम भए पनि उनको प्राकृतिक प्रतिरोधी क्षमता कोभिड–१९ सँग लड्नका लागि पर्याप्त भएको अनुसन्धानकर्मीले दाबी गरेका छन् । उनको केस अनुसन्धान गरिरहेका अनुसन्धानकर्मीद्वारा प्रकाशित लेखमा क्यान्सरका लागि उनलाई गरिएको उपचार मृत्युको कारण बन्न नसक्ने उल्लेख छ ।

यस वर्षको सुरुवातमै ती महिला खोकी र ज्वरोको समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । त्यसै क्रममा उनलाई कोरोना पुष्टि भए पनि ५ दिनमै उनलाई डिस्चार्ज गरिएको थियो । तर पहिलो पटक कोभिड–१९ पुष्टि भएको ५९ दिनपछि पुन: उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिन थालेको थियो । परीक्षण गर्दा उनलाई पुन: कोरोना संक्रमण भएको पुष्टि भयो । उनको रक्तसञ्चार प्रणालीमा एन्टीबडी विकसित भएको पनि नपाइएको अनुसन्धानकर्मीहरुले बताएका छन् । दोस्रो पटक कोरोना संक्रमण भएको चौथो र छैटौं दिनमा उनको एन्टिबडी जाँच गरिएको थियो । आठौं दिनको दिन उनको स्वास्थ्य अवस्था एकदमै नाजुक भयो । दोस्रो पटक संक्रमण भएको दुई हप्तापछि उनको मृत्यु भएको लेखमा उल्लेख छ ।

दोस्रो पटक संक्रमण भएपछि बीचमा परीक्षण नगरेकाले ती महिला कोरोना मुक्त भइसकेकी थिइन् वा थिइनन् भन्ने कुरामा भने यसै भन्न नसकिने अनुसन्धानकर्मीहरुले बताएका छन् । तर अनुसन्धानका क्रममा पहिलो पटक र दोस्रो पटक ती महिलामा देखिएको भाइरसको ‘आनुवंशिक संरचना) भने फरक पाइएको बताइएको छ ।

दोस्रो पटक कोरोना संक्रमण भएका खबर विभिन्न मुलुकबाट प्राप्त भइरहे पनि दोस्रो पटकको संक्रमणपछि मृत्यु भएको भने यो पहिलो घटना भएको बताइएको छ । हङकङका ३३ वर्षीय पुरुषमा सबैभन्दा पहिले दोस्रो पटक पनि कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो पटक मार्च २६ मा कोरोना पुष्टि भएका ती व्यक्तिमा १४२ दिनपछि पुन: कोरोना देखिएको थियो ।

प्रकाशित : आश्विन २८, २०७७ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?