२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

‘आगामी केही दिनमा वास्तविक परीक्षा’

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्यमा केही सुधार भएको तर आगामी केही दिन ‘वास्तविक परीक्षाको घडी’ हुने बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएपछि ट्रम्पको स्वास्थ्यबारे मिश्रित सन्देशहरू आइरहँदा ट्विटरमा उनले भिडियो पोस्ट गरेका छन् ।

‘आगामी केही दिनमा वास्तविक परीक्षा’

उपचारमा संलग्न चिकित्सकका अनुसार राष्ट्रपति ट्रम्पको स्वास्थ्य राम्रो भइरहेको र संक्रमण पुष्टि भएयता उल्लेख्य सुधार आएको छ ।

राष्ट्रपति ट्रम्पले दोस्रो रात पनि अस्पतालमा बिताएका छन् । ‘खतराबाट अझै बाहिर आइनसकेको अवस्था भए पनि हाम्रो टोली राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सावधानीपूर्वक आशावादी रहेको छ,’ डा. सिन कोन्लीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

डाक्टर कोन्लीका अनुसार राष्ट्रपति ट्रम्पलाई अहिले अतिरिक्त अक्सिजन नदिइएको र २४ घण्टायता उनलाई ज्वरो आएको छैन । कोन्लीले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाबारे सावधानीपूर्ण आशावादी रहेको र उनी अस्पतालबाट कहिले डिस्चार्ज हुनेछन् भन्नेबारे समयसीमा तोक्न नसकिने बताए ।

राष्ट्रपति ट्रम्पले चार मिनेट लामो भिडियो सार्वजनिक गर्दै वासिङ्टनस्थित द वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरका चिकित्सक तथा नर्सहरूलाई धन्यवादसमेत दिएका छन् । ‘म यहाँ आउँदा मेरो स्वास्थ्य त्यति राम्रो थिएन । अहिले मैले पहिलेभन्दा राम्रो महसुस गरिरहेको छु,’ उनले भनेका छन्, ‘मेरो विचारमा आगामी केही दिन वास्तविक परीक्षाका दिन हुन् । अब हेरौं के हुन्छ ।’

आफू चाँडै नै निर्वाचन प्रचारप्रसारमा फर्किन चाहेको ट्रम्पको भनाइ छ । अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावमा ट्रम्प र डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदै छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार ट्रम्प अझै केही दिन अस्पतालमै रहने अपेक्षा गरिएको छ ।

ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मिडोजले भने राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनको स्वास्थ्य सुधार हुने दिशातर्फ गएको भन्ने अझै स्पष्ट संकेत पाइनसकेको बताएका छन् । राष्ट्रपतीय चुनावको करिब महिना दिनअघि ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १९, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?