कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन अस्पतालबाटै काम गर्ने ह्वाइटहाउसको भनाइ
एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन् । बिहीबार कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति मेरिल्यान्डस्थित वाल्टर रीड नेसनल मिलिट्री मेडिकल सेन्टरमा शुक्रबार साँझ भर्ना भएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा बस्नेछन् । राष्ट्रपति ट्रम्प वासिङ्टनबाट अमेरिकी वायु सेनाको हेलिकप्टरमा मेरिल्यान्डस्थित वाल्टर रीड अस्पताल गएका हुन् ।

शुक्रबार बिहान राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफू र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सामान्य भए पनि पूर्वसावधानीका लागि उनी अस्पताल भर्ना भएका हुन् ।

ट्विटरमा १८ सेकेन्डको भिडियो सन्देश पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । साथै आफू र प्रथम महिलाको स्वास्थ्य अवस्था राम्रो भएको पनि उनले बताएका छन् ।

राष्ट्रपतिकी प्रेस सचिव केली म्याकनानीले ट्रम्पले केही दिन वाल्टर रीड अस्पतालबाटै काम गर्ने पनि बताएकी छिन् । उनका अनुसार राष्ट्रपति ट्रम्पलाई कोरोनाका सामान्य लक्षण मात्रै देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । ह्वाइट हाउसले ट्रम्पलाई सामान्य लक्षण देखिएको बताइरहे पनि द न्युयोर्क टाइम्सलगायतका सञ्चारमाध्यमले भने राष्ट्रपतिलाई शुक्रबार बिहानदेखि ज्वरो आउने र खोकी लाग्ने गरेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पका चिकित्सक सिन कोन्लेका अनुसार शुक्रबार राष्ट्रपतिलाई रिजेनेरनले बनाएको परीक्षणकै क्रममा रहेको औषधि दिइएको थियो । जसमा कोरोना भाइरसविरुद्धका दुई वटा एनिटबडी थिए । जुन औषधि अहिले चिकित्सकीय परीक्षणका क्रममा रहेको छ, जसलाई अमेरिकाको खाद्य तथा औषधि प्रशासन(एफडीए) ले मान्यता दिएको छैन ।

यसैबीच गत बुधबार राष्ट्रपति ट्रम्पसँग चुनावी बहसमा सहभागी डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । शुक्रबार बाइडेन र उनकी श्रीमती दुवैको कोरोना परीक्षणको नतिजा नगेटिभ आएको हो ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन १७, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?