२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बिदा नजिकिँदै गर्दा चीनमा कोरोना चेतावनी

लक्ष्मी लम्साल

बेइजिङ — राष्ट्रिय दिवस तथा मध्य शरद पर्वको अवधिमा लगातार ८ दिन लामो बिदा नजिकिँदै गर्दा चीनले आफ्नो सुरक्षा आफै गर्न सर्वसाधारणसमक्ष अपिल गरेको छ।

बिदा नजिकिँदै गर्दा चीनमा कोरोना चेतावनी

बिदाका बेला पर्यटन क्षेत्र चलायमान हुने पूर्वसन्ध्यामा चीनले यस्तो सूचना जारी गरेको हो । चीनमा कोरोना भाइरसको महामारी लगभग शून्यमा झरे पनि उच्च सतर्कताका लागि ध्यानाकर्षण गराइएको छ। हाल सडकमा मास्क नलगाइकन हिँड्न पाइए पनि कुनै भवनभित्र छिर्दा वा सार्वजनिक यातायात चढ्दा भने मास्क अनिवार्य छ र प्रारम्भदेखि चालिएका स्क्रिनिङ, परीक्षणसम्बन्धी प्रक्रियाहरू भने लगभग कायमै छन्।

बुधबार चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले एउटा सूचना निकालेर पर्यटकले महामारी रोकथामका मापदण्डहरू पालना गर्न तथा भ्रमणमा निस्किनु अघि नै सतर्कताको पूर्वतयारी गर्न सूचित गरेको हो। सार्वजनिक यातायात प्रयोग गर्दा र रेस्टुरेन्टमा खाना खाँदा पर्यटकले सामाजिक दूरी कायम गर्न र यदि कुनै पर्यटकमा कोरोना सम्बन्धित लक्षणहरू, ज्वरो, कफ, थकानलगायत देखिएमा जानकारी गराउन र सक्दो चाँडो नजिकको अस्पतालमा उपचारका लागि जान पनि ध्यानाकर्षण गराइएको छ।

चीनमा वसन्त चाडपछि अर्को लामो बिदामध्ये एक राष्ट्रिय दिवस अक्टोबर १ तारिखमा पर्दछ भने यस वर्ष चाहिँ चिनियाँ परम्परागत चाड मध्य शरद पर्व पनि सोही दिन खप्टिएको छ।

राष्ट्रिय दिवसको बिदामा घरेलु पर्यटकलाई स्वागत गर्न चीनका विभिन्न पर्यटकीय स्थलहरूले तयारी तीव्र पारेका छन्। बेइजिङको थ्यानआनमन चोकमा बर्सेनि प्रदर्शन गरिने फूल टोकरीको निर्माण शुक्रबार पूरा भएको चाइना डेलीले जनाएको छ। १८ मिटर अग्लो ‘फ्लावर बास्केट’ चिनियाँ राष्ट्रिय दिवसमा प्रदर्शन गरिन्छ । जसले पूरा चीनभरिका फूलहरूको प्रतिनिधित्व गर्छ । यसका साथै छाङआन सडकमा १० प्रकारका पुष्प प्रदर्शनी राखिनेछ जस्ले चीनको वर्तमान विकास र उपलब्धिको चित्रण गर्ने दाबी गरिन्छ ।

प्रकाशित : आश्विन ९, २०७७ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?