कोरोना संक्रमण भित्रिन नदिन चिनियाँ हवाई क्षेत्रको सतर्कता

भाद्र १७, २०७७

लक्ष्मी लम्साल

बेइजिङ — कोभिड-१९ महामारीको घरेलु मामिला घटे पनि बाहिरी मुलुकबाट भित्रिनेको संख्या यथावत् रहेपछि चीनको नागरिक उड्डयन ब्युरोले अन्तर्राष्ट्रिय हवाई उडानमा अझै कडाइ गर्न थालेको छ।

ब्युरोले अन्तर्राष्ट्रिय हवाई उड्डयनका प्रतिउडानमा यात्रुको संख्या ७५ प्रतिशतभन्दा कम हुनुपर्ने नियम जारी गरेको हो। साथै हरेक एअरलाइन्स कम्पनीले सबै यात्रुको कडाइका साथ स्वास्थ्य परीक्षण गर्नुपर्ने आदेश पनि ब्युरोले दोहोर्‍याएर दिएको छ।

गत अगस्टदेखि बाह्य मुलुकमा कोभिड-१९ महामारीको स्थिति गम्भीर बन्दै गएको चीनको ठहर छ। अन्तर्राष्ट्रिय हवाई उड्ययन बढ्दै गइरहेको बेला विदेशबाट संक्रमित भित्रिने क्रम बढिरहेको निष्कर्षमा चीन पुगेको छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार मध्यरातिसम्मको तथ्यांक सार्वजनिक गरेअनुसार कुल ८ जना संक्रमित भेटिएका छन् जुन सबै आयातित संक्रमित हुन्।

चीनमा महामारी फैलिएलगत्तै हरेक प्रान्तले आ-आफ्नो बस्तुस्थितिअनुसार कोरोना नियन्त्रणको नीति अख्तियार गरेका थिए भने हाल कोरोना शून्य भएका क्षेत्रले होसियारीपूर्वक पर्यटकीय क्षेत्रहरू खोल्नेदेखि जनजीवन सामान्य बनाउँदै लगेका छन्।

यो सेप्टेम्बरबाट चिनियाँ नयाँ शैक्षिक सत्र सुरू भएको छ। सोहीबमोजिम पूर्ण सतर्कताका साथ स्कुलहरू खुलेका छन् भने राजधानी बेइजिङमा सडकमा निस्किँदा  अनिवार्य मास्क लगाउनुपर्ने नियम हटाइएको छ। यद्यपि सार्वजनिक यातायात वा कार्यालय वा भीडहरूमा प्रवेश गर्दा मास्क लगाउनैपर्ने नियम छ। चीनमा कूटनीतिक तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनका पूर्वनिर्धारीत कार्यक्रमहरू भिडियो कन्फरेन्सबाट चलाइएका छन्। 

कोरोना भाइरस

लक्ष्मी

Link copied successfully