२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा कोरोना संक्रमितहरुको संख्या ३० लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार बिहानसम्ममा ३० लाख ४४ हजार जनामा कोरोना संक्रमण भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो

पछिल्लो एक दिनमा मात्र भारतमा ६९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । त्यसैगरी गएको चौबिस घन्टामा भएको ९१२ मृत्युलाई समेत जोड्दा हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने ५६ हजार ७०६ पुगेको छ ।

भारत विश्वका कोरोना भाइरसले संक्रमित मुलुकहरुमध्ये अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । त्यसैगरी कोरोना संक्रमणबाट बढी मृत्यु हुने मुलुकहरुमा भने चौथौ नम्बरमा रहेको छ । बढी मृत्यु हुने मुलुकहरुमा अमेरिका, ब्राजिल पछि तेस्रो स्थानमा मेक्सिको रहेको छ । तर, पछिल्ला दिनमा भइरहेको संक्रमणलाई हेर्दा भारतले चाँडै नै ब्राजिललाई उछिन्ने देखिन्छ ।

भारतमा विगत केही सातायता संक्रमणको विस्तार उच्च देखिएको छ । भारतमा ३६ प्रदेश तथा केन्द्र शासित राज्यहरुमध्ये महाराष्ट्र, तमिलनाडु र आन्ध्रामा अत्यधिक संक्रमण रहेको छ । यसबाहेक नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशमा पनि संक्रमणमा तीव्र गतिमा फैलिरहेको छ । जसले गर्दा नेपालमा पनि संक्रमणको जोखिम अत्यधिक छ ।

भारतमा पहिलो संक्रमण ३० जनवरीमा दक्षिण भारतीय राज्य केरलामा पुष्टि भएको थियो । तर, सात महिना नपुग्दै संक्रमितको संख्याले तीस लाख नाघेको हो । भारतमा संक्रमित संख्या पहिलो एक लाख पुग्‍न साढे तीन महिना लागेकोमा थप पछिल्लो चार महिनामा २९ लाख नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पन्ध्रदिनमै दश लाख संक्रमित थपिएका हुन् ।

संक्रमण बढेसँगै भारत परीक्षणको दरलाई पनि बढाउँदै लगेको छ । भारतमा शनिबार मात्र ८ लाखभन्दा बढि पीसीआर परीक्षण गरिएको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले जनाएको छ । भारतमा हालसम्म ३ करोड ५२ लाखभन्दा बढीको पीसीआर परीक्षण भइसकेको छ ।

प्रकाशित : भाद्र ७, २०७७ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?