छिट्टै नै ‘भारतमा बनेको’ कोरोना खोप उपलब्ध हुनेछ : मोदी- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिट्टै नै ‘भारतमा बनेको’ कोरोना खोप उपलब्ध हुनेछ : मोदी

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले कोरोना भ्याक्सिनविरुद्ध ३ वटा खोप निर्माण गरिरहेको बताएका छन् ।

शनिबार नयाँदिल्लीस्थित लालकिलामा ७४औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा सम्बोधन गर्दै मोदीले छिट्टै ‘भारतमा बनेको कोरोना खोप’ उपलब्ध हुने भएको बताएका हुन् ।

भारतमा नेसनल डिजिटल हेल्थ मिसनको सुरुवात गरिने उल्लेख गर्दै मोदीले भने, ‘सबै नागरिकलाई हेल्थ आइडी उपलब्ध गराइनेछ । यसमा स्वास्थ्यसँग जोडिएका सबै रेकर्ड राखिनेछ ।’ उनले अगाडि भने, ‘कोरोना महामारीका कारण नागरिक चिन्तित रहेका छ । सबैलाई कोरोनाविरुद्धको खोप कहिले बन्छ भन्ने उत्सुकता छ । म तपाईँहरुलाई जानकारी दिन चाहन्छु कि भारतमा एउटा होइन, तीन–तीन वटा खोप अलग–अलग चरणको परीक्षणमा रहेका छन् । एक पटक स्वीकृति पाएसँगै हामीले यसको व्यापक मात्रामा उत्पादन गर्नेछौं ।’

शनिबार बिहानसम्म भारतमा कोरोना भाइरसबाछ संक्रमित हुनेको संख्या २४ लाख ६१ हजार नाघेको छ भने ४८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण ३१, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्

रावणको एघारौं शिर

रावण स्वयंले अब रामनामी ओढ्न थालेको थियो । ‘रामराम’ उसको नयाँ थेगो थियो ।
शरच्चन्द्र वस्ती

आधा घ्याम्पो मदिरा रित्याएर सुतेको रावण बिहान उठ्ता उसको शिर भारी थियो । टाउको दुखेजस्तो होइन, घाँटीलाई बोझ थपिएजस्तो । हाई गर्दै दुई हात पखेटाझैं फैलाएर पलङमै जीउ तन्काउँदै थियो, उसलाई देखेर मन्दोदरीका आँखा आश्चर्यले बाहिर निक्लेलान् जस्ता भए । दाहिने हात छातीमा राखेर स्वाँ स्वाँ गर्दै भनी, ‘लौन नि, तपाईंको त अर्को शिर पनि निस्केछ !’

रावण ऐना अगाडि गएर उभियो र रातारात प्रकट भएको आफ्नो एघारौं शिरलाई गमक्क परेर हेर्न थाल्यो । नयाँ शिर साबिकका दश शिरको बीचमा शोभायमान भएर बसेको थियो । अरूभन्दा रोबदार र भव्य । अरू शिर दायाँ–बायाँ मात्र मोडिन सक्थे, यो चारैतिर फनफनी घुम्न सक्थ्यो । उसले गर्वपूर्वक मन्दोदरीलाई आश्वस्त गरायो, ‘चिन्ता नगर् । यो मेरो प्रमुख शिर हो, ब्रह्माले वरदान दिएको । अब म झन् शक्तिशाली भएको छु ।’

उसले हुंकार गर्‍यो, ‘म वैवस्वत मन्वन्तरको उनन्तीसौं त्रेतायुगको रावण हुँ । यसअघिका अठ्ठाइस रावण भन्दा बुद्धिमान, बलवान र उत्कृष्ट । अरू दशानन, म एकादशानन । अर्थात् रावण नम्बर–एक । के बुझिस् ?’

मन्दोदरी हतारहतार शयनकक्षबाट बाहिर निस्की । उसले थुप्रै नयाँ व्यवस्था गर्नु थियो । रावणलाई दाँत माझ्न साबिक झैं दशवटा दतिउन राखिएका थिए, दासीलाई भनेर अर्को एउटा राख्न लगाई । दारी काट्न दशजना हजामको दरबन्दी थियो, मन्त्रीलाई भनेर तत्काल थप एकजनाको नियुक्ति गरी । एघार जना हजामले लहरै उभिएर राक्षसराजको दारी काटे । भोजनोपरान्त एघार बीडा पान चपाउँदै राजसभातिर जान लाग्दा उसको नयाँ शिरमा झलझलाकार मुकुट पहिर्‍याउन पनि उसले बिर्सिन ।

राजसभामा रावणको एघारौं शिरको तुमुल जयघोषका साथ स्वागत भयो । सम्पूर्ण सभासदले त्यसको सम्मानमा तीन पटक सामूहिक साष्टांग दण्डवत् गरे । तान्त्रिक वज्रमुखले यसलाई सृष्टिको अद्भुत उपलब्धि बतायो भने राजपुरोहित महोदरले सम्राट्को नयाँ मुखबाट नवीन मार्गदर्शन प्राप्त गर्न सिंगो राजसभा लालायित रहेको बिन्ती बिसायो । रावणले ताजा शिर सुमसुम्याउँदै भन्यो, ‘यो आज विश्राममा छ । भोलिदेखि मात्र सक्रिय हुन्छ ।’

राजसभा बयान गर्न लायक थियो, एकसेएक ज्ञानी–गुणी र विशेषज्ञहरूले भरिएको । दुनियाँसामु तिनको फुइँफाइँ सानो थिएन । तर, रावणका सामु तिनीहरू गरुडको छायामा परेका सर्पजस्ता हुन्थे । टाउको ठाडो पारेर बोल्ने आँट कसैको हुँदैनथ्यो । जे बोल्थ्यो उसैले बोल्थ्यो । अरूको काम उसको आदेश पालन गर्नु र उसको विरुदावली गाउनु मात्र थियो ।

त्यस दिन रावणले धेरै बोलेन । सर्वप्रथम, एउटा सिंगै स्वर्णमहल पानीजहाजमा हालेर तस्करी गर्न लाग्दा अघिल्लो दिन समुद्रमा पक्राउ परेको राक्षस पूर्णतः निर्दोष छ भन्ने ‘तथ्य’ न्यायाधीश लम्बहस्तलाई सम्झायो । त्यसपछि, अलकापुरीमा कुवेरले चंगाको आकार बढाउँदै जाँदा पुष्पक विमान बन्न पुगेको रहस्य वैज्ञानिक निकुम्मसामु उद्घाटित गर्‍यो । अनि, देशमा महामारीका रूपमा फैलिएको क्षयरोग दिनमा तीन पटक मूला खाएर डकारेपछि ठीक हुन्छ भन्दै वैद्यराज नरान्तकलाई औषधिको सट्टा मूला वितरणमा केन्द्रित हुन निर्देशन दियो । अन्त्यमा सकल राक्षसलाई सम्बोधन गर्दै भन्यो :‘हामी राक्षस हौं, त्यसैले ईश्वर मान्दैनौं । ईश्वरको नाम लिन राक्षसकुलको सिद्धान्तले दिंदैन । मैले आजसम्म मन्दिरमा गएर कुनै ईश्वरलाई ढोगेको छैन । ईश्वरको नाममा शपथ खाएको छैन । राक्षस भएपछि ईश्वर मान्न पाइँदैन । अझ रामको त नाम लिनु पनि अपराध हो । मेरो राज्यमा जसले रामको नाम लिन्छ, ऊ दण्डित हुनेछ ।’

सभासदहरू रावणको जयजयकार गर्न थाले । उसले सभा विसर्जन गर्‍यो र गोप्य कक्षमा प्रवेश गर्‍यो । त्यहाँ गुप्तचर प्रमुख उलूकाक्षसँगै सेनापति प्रहस्त उसलाई पर्खिरहेको थियो । कक्षका झ्यालढोका बन्द गरेर उलूकाक्षले गोप्य सूचना जाहेर गर्‍यो, ‘गैर–राक्षसहरूमा मात्र होइन, लंकानिवासी राक्षसहरूमा समेत रामको प्रभाव अत्यधिक बढ्दो छ । अधिकांशले आफ्नो घरमा उनको तस्वीर राखेका छन् । कैयौंले त नियमित पूजा नै गर्छन् ।’

‘सबैलाई सेना लगाएर पक्रन र दण्डित गर्न पनि सम्भव छैन । त्यसले सम्राट्को लोकप्रियता न्यून गर्नेछ,’ प्रहस्तले विनम्र भाकामा परामर्श टक्र्यायो । त्यो रात रावण निदाउन सकेन । आफ्नो साम्राज्यमा दुश्मनको प्रभाव बढ्न थालेको थाहा पाएपछि निद्रा परोस् पनि कसरी ? अब के गर्ने र कसो गर्ने भनेर रातभरि दशवटै शिरले माथापच्ची गर्दा पनि कुनै उपाय सुझेन । तर, भोलिपल्ट घाम उदाएपछि जब एघारौं शिर सक्रिय भयो, रावणको दिमाग बिल्कुलै नयाँ बाटोमा दगुर्न थाल्यो । एक घडी बित्न नपाउँदै उसले निर्णय गरिसकेको थियो— रामनामको निषेध गर्नुको सट्टा रामकै उपयोग गरेर फाइदा लिने । मनमनै भन्यो, ‘भर्सेलामा परोस् राक्षसकुलको सिद्धान्त !’

नित्यकर्म सकेर चंगा दिमागले ऊ अशोक वाटिका पुग्यो र राक्षसीहरूको पहरामा राखिएकी सीतालाई प्रणाम गरेर भन्यो, ‘माते, हजूरको जन्म यही अशोक वृक्षमुनि भएको रहेछ । हजूरको नाल यहीं गाडिएको छ । केटाकेटीमा लुकामारी खेल्दाखेल्दै अलमलिएर हजूर जनकपुर पुग्नुभएकाले तथ्यमा अतिक्रमण भएछ र हजूरले उहीं जन्म लिएको नकली कथा प्रचार गरिएछ । हामीले सत्य पत्ता लगाइसक्यौं । हजूरकी धाईआमा मेरो दरवारमा अझै जीवित हुनुहुन्छ । अब हजूर सधैंका लागि यहीं राज हुनुपर्छ ।’

सीता क्रोधले भाउन्न भइन् तर केही बोलिनन् । त्यसै दिन उसले पुरातत्त्वविद्हरूलाई अशोक वाटिकामा उत्खनन गरेर सीताको नाल निकाल्न आदेश दियो । दुइटा टोलीले एकसाथ काम शुरू गरे । संयोगवश एक हप्तापछि दुवैले गाडिएको नाल फेला पारे । तीमध्ये कुन नाल सीताको हो भन्ने निर्क्योल गर्न अधिकारसम्पन्न उच्चस्तरीय कार्यदल गठन गरियो ।

चारैतिर घुम्ने एघारौं मुखले रावणलाई वीरको सट्टा ढोंगी, गफास्टक र षड्यन्त्रकारी बनाइदिएको थियो । ऊ दिउसो पूर्वतिर मुख फर्काएर भ्रष्टाचारीलाई प्राणदण्ड दिने घोषणा गर्थ्यो । रात परेपछि पश्चिमतिर मुख फर्काएर दुर्मुख, मकराक्ष, गजोदर लगायत बिचौलियासँग एकान्त वार्ता गर्थ्यो । साँझ उत्तरतिर फर्केर स्वजातीयहरूका कानमा ईश्वरको नामोनिशान मेटाउने साउती गर्थ्यो र बिहान दक्षिणतिर फर्केर उच्चस्वरमा राम भजन गाउन थाल्थ्यो । एक महीनामा दुईपल्ट नकली हनुमान बोलाएर प्रतिचण्ड, महोद्धव, वामान्तक जस्ता आफूसँग द्वेष गर्नेहरूको घरमा आगजनी गराइसकेको थियो ।

यसैबीच रावणले असली राम लंकामा फेला परेको घोषणा गर्‍यो । सीता खोज्दै भौंतारिइरहेका राम नकली हुन् भनेर उसका विशेषज्ञहरूले त्यसअघि नै दाबी गर्न थालिसकेका थिए । शास्त्रमा उल्लेख गरिए अनुसार श्यामल रंग, कालो कपाल, दुई हात, दुई खुट्टा, दुई कान, दुई आँखा र सग्ला नाक–मुखवाला भएकाले यी नै असली राम हुन् भन्ने उनीहरूको दाबी थियो, जसलाई रावणले मान्यता दिएको थियो । बाल्यकालमा रामले लगाएका लुगा, गहना, खेलाएको खेलौना, डन्डीबियो, गुच्चा र उनले भाँचेका रूखका हाँगाबिँगा समेत फेला परेको विशेषज्ञहरूले बताएका थिए ।

‘असली’ रामलाई वंशजका रूपमा लंकाको नागरिकता प्रदान गरियो र उसका लागि भव्य मन्दिर निर्माण गरियो । पौष्टिक खानपीनले एक महीनाभित्रै उसको शरीर भरिलो र अनुहार उज्यालो देखिन थालेको थियो । राक्षसीहरूले गरिदिएको श्रृंगार र पहिराइदिएको रंगीचंगी वेशभूषामा सजिएर, हातमा धनुषवाण लिएर ऊ बिहानदेखि बेलुकासम्म मन्दिरमा विराजमान हुन थालेको थियो । रामको दर्शनका लागि भक्तजनको घुइँचो दिनप्रतिदिन बढ्दो थियो । पुराना रामभक्तहरू भने त्यो भीडमा कहिल्यै देखिएनन् ।

रावण स्वयंले अब रामनामी ओढ्न थालेको थियो । ‘रामराम’ उसको नयाँ थेगो थियो । उसको अनुकरण गर्दै अरू धेरैले रामनामी ओढ्न थाले र एक हप्ताभित्रै यो राष्ट्रिय पोशाकको अंग बन्न पुग्यो । अभिवादनदेखि हप्कीदप्की र गालीगलौजसम्म ‘रामराम’ को प्रयोग हुन थाल्यो । राष्ट्रिय गानको सट्टा कैयौं ठाउँमा राम भजन गाउन थालियो ।

रामलाई दुश्मन मान्ने र रामनाम लिनेलाई शूलीमा चढाउन नहिचकिचाउने रावण रातारात रामभक्त भएको देखेर राजसभा स्तब्ध थियो । राक्षसकुलको सिद्धान्त र संस्कृति मासिन लागेको देखेर ज्येष्ठ राक्षसहरू किंकर्तव्यविमूढ थिए । यो सबको जड रावणको एघारौं टाउको हो भन्ने उनीहरूलाई थाहा थियो, त्यसैले त्यसप्रति क्रुद्ध थिए । तर केही गर्न सक्तैनथे । देश रामको लहरमा बग्न थालेपछि जनसाधारणका बीच रावणको लोकप्रियताले भने आकाश छोएको थियो । ऊ त्यसैमा मग्न थियो । एघारैवटा शिर हल्लाउँदै सोच्थ्यो— एक दिन असली रामको वध गर्छु र ढुक्कसँग सीतालाई आफ्नी बनाउँछु ।

एक दिन नारद वीणा बजाउँदै लंका आइपुगे । रावणको आतिथ्य ग्रहण गर्दै एक हप्ता देश–दर्शन गरे । उनको चित्त कुँडियो । फर्केर सोझै रामसामु पुगे र निवेदन गरे : ‘प्रभु, अब पाखण्डको अति भैसक्यो । ढोंगीहरूले रामनामको अपहरण गर्न लागे । अब ढीला गर्न भएन । धनुषवाण उठाएर चाँडै लंका सवारी हुनुपर्‍यो । नारायण !’

प्रकाशित : श्रावण ३१, २०७७ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×