२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सांसद डा. यादवसहित ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

डा. यादव भन्छन्- गम्भीर बिरामी बालकको उपचार गर्दा कोरोना संक्रमण भयो
जयसिंह महरा

काठमाडौँ — संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । जनता समाजवादी पार्टीको तर्फबाट सप्तरी निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद यादवलाई एक बालकको उपचारमा संलग्न हुँदा कोरोना संक्रमण भएको हो । 

सांसद डा. यादवसहित ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

पेशाले बाल रोग विशेषज्ञ चिकित्सक सांसद यादव झाडापखलाले सिकिस्त भएका बालकको उपचारमा संलग्न भएपछि आफूमा कोरोना संक्रमण भएको बताउँछन् । जनकपुरको एक नर्सिङ होमले ४ वर्षीय बालकलाई झाडापखला भएको र उनको शरीरमा पानीको मात्रा न्यून भएकाले अवस्था गम्भीर भएपछि यादवलाई उपचारका लागि बोलाइएको थियो ।

जनकपुरस्थित घरमै आइसोलेसनमा रहेका बाल रोग विशेषज्ञ डा. यादवले फोनमा भने, 'म आफ्नो क्लिनिकमा जान छोडेको धेरै भइसकेको छ । एउटा नर्सिङ होम छ । गम्भीर बिरामी आयो भने मलाई बोलाउँछन् । एउटा ४ वर्षको बच्चा आएको थियो । अवस्था गम्भीर भएको बिरामी रहेछ । झाडापखला भएर आएको थियो तर उसको नाडीमा नसा नै भेटिइरहेको थिएन । मलाई बोलाइयो ।'

डा. यादवले भने, 'बच्चा बेहोश थियो । नाडीमा नसा भेटिँदै नभेटिने । त्यसपछि घाँटीको नसामा क्यानुला (बिरामीमा सलाइन चढाउने ट्युब) लगाएको थिएँ । त्यसले बच्चाको शरीरमा पानीको मात्रामा आएको कमी (डिहाइड्रेसन) त कमी भयो र होश आयो तर डाइरिया तत्काल ठीक भएन ।'

सम्भवतः पहिल्यै कोरोना संक्रमण भएका बच्चामा क्यानुला जोड्ने क्रममा आफूमा कोरोना भाइरस सरेको हुनसक्ने डा. यादवको भनाइ थियो । हाल बच्चाको उपचार धरानको कोरोना अस्थायी अस्पतालको आइसीयूमा राखेर भइरहेको आफूले जानकारी पाएको र अवस्था सामान्य हुँदै गएको डा. यादवले बताए । उनको धरानमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

'बच्चाको सम्पर्कमा आएका मसँगै अर्का एक चिकित्सकलाई पनि संक्रमण भएको छ । बिरामीको सम्पर्कमा आएका दुई हेल्थ असिस्टेन्ट एउटा अर्को चिकित्सक र एउटा अर्को सहयोगीलाई कोरोना भएको छ,' उनले भने ।

कोरोना संक्रमण भएका सबैजना घरमै आइसोलेसनमा रहेको र सबैको अवस्था सामान्य रहेको यादवले फोनमा जानकारी दिए । बच्चालाई कोरोनाका लक्षण देखिएसँगै आफूहरू आइसोलेसनमा बसेको उनले बताए ।

आफूमा कोरोनाको लक्षण नदेखिएको सांसद यादवको भनाइ छ । 'अहिले लक्षणहरू देखिएका छैनन् । मेरो अवस्था सामान्य छ । उमेर पनि ६४ वर्षभन्दा बढी भयो । ९९ डिग्री देखि ९९.५ डिग्रीभन्दा बढी ज्वरो आएको छैन । मांसपेसी दुख्ने, जिउँ दुख्ने भएको थियो ।'

असार १८ गते संसदको अधिवेशन अन्त्य भएसँगै सांसद यादव जनकपुर गएका थिए ।यसअघि जनता समाजवादी पार्टीकै सांसद प्रदीप यादवमा पनि कोरोना संक्रमण भएको थियो । उनी स्वस्थ भइसकेका छन् ।

प्रकाशित : श्रावण ३०, २०७७ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?