कोरोनाविरुद्धको रुसी खोपमा मलाई पूर्ण भरोसा छ : राष्ट्रपति डुटेर्टे

'खोप परीक्षण मैमाथि गरे हुन्छ'

श्रावण २७, २०७७

एजेन्सी

मनिला — फिलिपिन्सका राष्ट्रपति डुटेर्टेले कोरोना भाइरसविरुद्धको खोप निर्माणमा रुसले सफलता प्राप्त गरेको भन्दै प्रशंसा गरेका छन् । उनले रुसले आफूहरुलाई नि:शुल्क रुपमा खोप आपूर्ति गर्ने विश्वास पनि व्यक्त गरेका छन् । 

रुसले यसै महिना कोरोना भाइरसविरुद्धको खोपलाई आधिकारिक मान्यता दिने र फिलिपिन्सलाई उपलब्ध गराउने वा स्थानीय फर्मसँग मिलेर उत्पादन गर्ने भन्नेबारेमा छलफल भइरहेको बताएको छ ।

फिलिपिन्स एसियाली देशहरुमा कोरोना संक्रमणका हिसाबले अगाडि नै रहेको छ । सोमबार मात्रै फिलिपिन्समा थप ६ हजार ९ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  ‘म राष्ट्रपति भ्लादिमिर पुटिनलाई भन्छु कि कोरोनाविरुद्धको लडाइँमा तपाईंहरुको अनुसन्धानले काम गर्छ भन्ने पूर्ण विश्वास छ । मलाई विश्वास छ कि तपाईंहरुले बनाउनु भएको खोप मानव कल्याणका लागि सहयोगी सावित हुनेछ,’ राष्ट्रपति डुटेर्टेले सोमबार टेलिभिजनमार्फत सम्बोधन गर्दै भने ।

सर्वसाधारणलाई कोरोनाविरुद्धको उक्त खोपका बारेमा भरोसा दिलाउनका लागि आफू परीक्षणका लागि तयार पनि भएको उनले बताए । ‘ममाथि नै परीक्षण गर्दा हुन्छ । त्यसका लागि म तयार छु,’ उनले भने ।  कोरोनाविरुद्धको खोपको परीक्षण, आपूर्ति र उत्पादनका लागि रुससँग मिलेर काम गर्न इच्छुक रहेको फिलिपिन्सको राष्ट्रपति कार्यालयले बताएको छ । यसअघि जुलाईमा राष्ट्रपति डुटेर्टेले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कुरा गर्दै यदि कोरोनाविरुद्धको खोप बनेमा फिलिपिन्सलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

राष्ट्रपति डुटेर्टेले यसै महिना राजधानी मनिलामा कडा लकडाउन गरेको बताएका थिए । कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको उल्लंघन बढेमा सेना परिचालन गरिने पनि उनले चेतावनी दिएका छन् ।

विश्वभर कोरोना भाइरसविरुद्धको खोप निर्माणमा भइरहेको होडबाजी चलिरहेको छ । विश्वका विभिन्न देशका विभिन्न कम्पनी र विश्वविद्यालयहरु भाइरसविरुद्धको खोप निर्माणमा जुटेका छन् । कोरोनाविरुद्धको खोप कसले पहिला बनाउने भन्ने होडबाजी चलिरहँदा कतै सुरक्षामा खेलबाड त हुने होइन भनेर विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले जनाएको छ ।

यसअघि असारको अन्तिममा  रुसको सेचनोव विश्वविद्यालयले कोभिड–१९ विरुद्धको खोप स्वयंसेवकमा परीक्षण गर्दा सफल भएको दाबी गरेको थियो । प्रमुख अनुसन्धानकर्ता इलिना स्मोलयारचुकले खोपसम्बन्धी सोध पूरा भएको र पूर्ण रुपमा सुरक्षित रहेको बताएकी थिइन् ।

सम्बन्धित समाचार

कोरोना भाइरस

एजेन्सी

Link copied successfully