स्वदेश फर्कनेले पाउलान् काम ?

कोरोनाका कारण रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट फर्केकालाई पारिश्रमिकसहितको जनसहभागिता र प्रविधिसहितको विकासमा परिचालन गर्ने व्यवस्था गरिएको छ ।
होम कार्की

काठमाडौँ — साउदी आराम्को कम्पनीमा कार्यरत सिरहाको लहान–१३ का ३० वर्षीय दीपेन्द्र साहले मासिक ५४ हजार रुपैयाँ कमाउँथे । आराम्को कम्पनीमा उनी सहायक सेफ्टी अफिसर थिए । उनलाई एमएस अल सुवान्दी होल्डिङ कम्पनीले आराम्को कम्पनीमा सप्लाई गर्ने काममा पठाइयो । आराम्को साउदीमा तेल प्रशोधन गर्ने सरकारी कम्पनी हो । 

स्वदेश फर्कनेले पाउलान् काम ?

‘सिधै आराम्कोमा काम गर्न पाएको भए रोजगारी जाने थिएन होला । सप्लाई कम्पनीमार्फत काम गर्न गएको थियो,’ उनले भने, ‘हाम्रो कम्पनीले बिनातलब बस्न इच्छुक भएकालाई राख्न थाल्यो । जो बिनातलब बस्न इच्छुक छैन, उनीहरूलाई निकाल्न थाल्यो । मेरो साउदीबाट निस्कनु रहर होइन बाध्यता थियो ।’

उनीसँगै सुवान्दीले झन्डै दुई सय जना नेपालीलाई स्वदेश पठाउने तयारी थालेको छ । ‘लेबरमा गएको मान्छे निकै दुःख गरी सहायक सेफ्टी अफिसर बन्न पुगेको थियो । अब थप अवसर आउने बेला जागिरबाट हात धुनुपर्‍यो,’ उनले भने, ‘यहाँ कमाउने पैसा नेपालमा कमाउने अवस्था छैन । मैले जे काम गर्छु, त्यही काम नेपालमा नपाउन सकिन्छ । अरू त्यस्तै हो, अब मैले दुई बच्चालाई पढाउन भने निकै कठिन हुन्छ ।’ उनले दुई बालबच्चालाई पढाउन महिनाको १२ हजार रुपैयाँ जोहो गर्नुपर्ने बताए । विदेशबाट फर्किने नेपालीलाई स्वदेशमै कस्तो अवसर मिल्छ भन्ने साहलाई जानकारी छैन । ‘जतिखेर पनि नेताहरू जुधेर बसिरहेको मात्रै समाचारमा देख्छौं । हाम्रा लागि भने सोच्ने भए किन यसरी परदेशी भूमिमा पसिना बगाउनुपर्दथ्यो र,’ उनले भने ।

कोभिड महामारीपछि प्रमुख गन्तव्य मुलुकमा रोजगारी खुम्चिएको छ । खाडीबाट मात्रै नेपाल फर्किन चाहने एक लाख जनाको सूची तयार भइसकेको छ । हजारौं रोजगारी दिने कम्पनीहरू थला पर्दैछन् । साउदीको कास इन्टरनेसनल कम्पनीमा १८ वर्षदेखि कार्यरत इटहरीका ५७ वर्षीय चन्द्रमणि राईले आफ्नो कम्पनीमा एक हजार कामदारले रोजगारी गुमाइसकेको बताए । ‘पहिला यो कम्पनीको सानै अर्को थियो । १२ सयभन्दा बढी कामदार थिए । अहिले दुई सय मात्रै छन् । हाम्रो साइडमा ४५ जनाले काम गर्थे । अहिले त्यही काम १५ जनाले गर्नुपरेको छ,’ उनले भने, ‘म पनि फर्किने पक्षमा छु । तर नेपाल गएर के गर्ने भन्ने चिन्ता छ । यो बूढो शरीरलाई कसले पत्याउला र !’

ओमनमा एक दशकदेखि कार्यरत झापाका दीपक श्रेष्ठले निराश भई स्वदेश फिर्नेहरू धेरै रहेको बताए । ‘काम छैन । कामबेगर क्याम्पमा बस्नुभन्दा बिदा लिई परिवारकै साथ मनाउन जानेहरू त्यत्तिकै छन् । महामारीले गर्दा आफू बसेको देशमा बिरामी भएमा कसैलाई देख्न पाइँदैन । साथीहरू पनि भेट्न पाइँदैन भन्ने छ । परिवारले शव पनि देख्न नपाइने भन्ने छ । मर्नुपरे पनि नेपालमै मर्छु भन्ने छ । अहिलेको अवस्थामा पैसाको महत्त्व देखेन । परिवारलाई महत्त्व देख्न थालेको छ,’ उनले भने, ‘बाँच्यौं भने फेरि काम गर्न विदेशमै आउला भन्नेहरू धेरै छन् । तर स्वदेश गइसकेपछि फेरि रोजगारीको अवसर पाउला जस्तो स्थिति छैन ।’

कतारमा कार्यरत अमिना खानले स्वदेशमा २० हजार रुपैयाँसम्मको आम्दानीसमेत नभएपछि विदेश आउनुपरेको बताइन् । ‘कतारमा क्लिनिङ कम्पनीले महिलालाई अवसर दिएको छ । एउटा क्लिनिङ कम्पनीमा आउनेले महिनाको २० देखि ३० हजार कमाउँछन् । आफ्नो सुविधायुक्त जीवन चलाउन, बच्चाहरूको गर्जो टार्नका लागि यो आम्दानी प्रशस्त हुन्छ । उनीहरूले नेपाल छिटो फर्कन चाहेका छैनन्,’ नेपाली महिला समाज कतारका उपाध्यक्षसमेत रहेकी खानले भनिन्, ‘केही गर्छु भनेर भइरहेको रोजगारीबाट राजीनामा गरेर नेपाल गएको हुन्छ । घरमा गएर कम्तीमा ६ महिना पनि बस्न पाएको हुँदैन, उनीहरू फेरि फर्किन चाहन्छन् । हामीले उद्धार गरेर पठाएको मान्छे विदेशमा भन्दा नेपालीमा कठिन छ भनेर फर्केका हुन्छन् । बालबच्चालाई पढाउनका लागि हरदिन बिताउन कठिन छ भन्छन् ।’

उनले रेमिट्यान्स बिनाको जीवन आकाशपातालजस्तो फरक हुने बताइन् । ‘रेमिट्यान्सबिना पारिवारिक कलह आउँछ । एउटा गुणस्तरीय जीवन चलिरहेको हुन्थ्यो । उनीहरूको जीवन शैली एक्कासि तल झर्छ । त्यसपछाडि परिवारलाई सुख दिन नसकेपछि पारिवारिक कलह सुरु हुन्छ । बच्चाहरूको दिमागमा असर पर्छ,’ उनले बताइन्, ‘अब बाँच्ने र बचाउने काम मात्रै भयो । गाउँ छाडेर सहरमा राखेर बच्चालाई पढाइरहेको छ । उनीहरूलाई धेरै कठिन छ । उनीहरू कि छाडेर गाउँमै जानुपर्छ । कि त्यहीं संघर्ष गर्नुपर्छ ।’ संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत श्याम पाठकले आफूहरूले कहिल्यै स्वदेश फिर्तीको योजना नबनाउँदा संकट देखिएको बताए । ‘हामीले एउटा गल्ती गरेका छौं । हामीले कहिल्यै पनि एक्जिट प्लान बनाएनौं । यूएई त एकदिन छोड्नुपर्दथ्यो । तर, हामीले कहिले फर्किने भन्ने प्लान बनाइएन । हामीले माइक्रो व्यवस्थापन गरेनौं,’ उनले भने, ‘हामीले ज्ञान, सीप र थोरै पुँजी लिएर त जाँदै छौं । तर, हामी जुन भूगोलमा गएर काम गर्दै छौं, हामीसँग फिजिविलिटी रिपोर्ट छैन । अब यस्तो रिपोर्ट दिने गरी राज्यले प्राधिकरण बनाउनुपर्छ । राज्यले तुरुन्तै ब्रेन गेन भएका श्रमिकलाई राज्यको निर्माणमा कहाँ–कहाँ लगाउने भन्ने योजना बनाउनुपर्छ । यस्तो नीति छैन ।’

कोरोनाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीको अवसर कम भएपछि सरकारले नेपालमा काम गर्ने विदेशी श्रमिकको स्थानमा नेपालीलाई नै दक्ष बनाएर अवसर दिने नीति लिएको छ । यसका लागि विदेशी श्रमिकलाई श्रमस्वीकृति नलिई रोजगारी दिन नपाइने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने सरकारको तयारी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले बताए ।

‘वैदेशिक रोजगारीबाट फर्केकालाई कृषि कार्यका लागि चाहिने जग्गा उपलब्ध गराउना भूमि बैंकको स्थापना गरिएको छ,’ उनले भने, ‘कोरोनाका कारण रोजगारी गुमाएका र वैदेशिक रोजगारबाट फर्केकालाई पारिश्रमिकसहितको जनसहभागिता र प्रविधिसहितको विकासमा परिचालन गर्नका लागि बजेटमा व्यवस्था गरिएको छ । वैदेशिक रोजगार रोजगारी कल्याणकारी कोषलाई समेत रोजगारी सिर्जनामा प्रयोग गरिने नीति छ । यो नीतिअनुसार कार्यक्रमको ढाँचा बनाइरहेको छ ।’

सरकारले स्थानीय तहमा बेरोजगार पहिचान गरी रोजगारी दिलाउनका लागि रोजगारदातासँग समन्वय गर्न भन्दै स्थानीय तहमै रोजगार सेवा केन्द्र खोलेको उनले बताए । ‘रोजगार सेवा केन्द्रलाई श्रम सूचना बैंकमा उपयोग गर्ने सरकारको नीति छ । यसमा विदेशबाट कसले केसम्बन्धी सीप बोकेर ल्याएको छ भन्ने पहिचान गर्नेछ,’ उनले भने ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका श्रमविज्ञ गणेश गुरुङले सरकारले अल्पकालीन रोजगारी सिर्जनालाई केन्द्रित गरेको नीतिहरू देखिए पनि कार्यान्वयन गर्ने बलियो संयन्त्र नभएको बताए ।

युनाइटेट अरब इमिरेट्स युनिभर्सिटीका सहायक प्राध्यापक डा.शशिधर बेल्बासेले बाहिर बसेकाहरूको समस्या लम्बिँदै गएकाले नकारात्मक भावना सिर्जना भएको बताए । ‘देशप्रति, सरकारप्रति नकारात्मक भावना जाग्नु राम्रो होइन । सरकारले यो समयमा अत्यन्त बुद्धिमत्तापूर्ण भूमिका खेल्नुपर्छ । बाहिरबाट नेपाली फर्काउनु भनेको अवसर हो । नेपालबाट बाहिर जाँदा के स्किल लिएर जानु भएको थियो ? अनि बाहिरबाट नेपाल आउँदा कस्तो स्किल लिएर आउनुभयो भन्ने कुरा बुझ्नुपर्छ,’ उनले भने, ‘त्यसबाट नेट स्किल फरकलाई हामीले प्रयोग गर्नुपर्छ । स्किल प्रोफाइल बनाउनुपर्छ । बाहिरबाट नेपाल आउनु भनेको रोग लिएर आउने होइन । समस्या मात्रै लिएर पनि आउने होइन । एउटा अवसर पनि लिएर आउने हो । जो–जो हामी जहाँ–जहाँ बसेर जे–जे काम गरेका थियौं । त्यो धेरै राम्रो सीप सिकेका छौं ।’

उनले स्किल प्रोफाइल बनाएर प्रक्षेपण गर्न सकिने बताए । ‘नेपालमा कस्तो किसिमको मानवस्रोत छन् र बाहिरबाट कस्तो स्रोत आएको छ भनेर फरक छुट्याउन सकिन्छ,’ उनले भने, ‘यो सबै कुरा रेमिट्यान्समा गएर जोडिन्छ । रेमिट्यान्सलाई स्थायी सोलुसनका रूपमा लिनु हुँदैन । यो अस्थायी हो । नेपालमा भित्रिने नेपाली दक्ष जनशक्ति हो । नेपाल फर्किनेबित्तिकै एयरपोर्टमै स्किल प्रोफाइल तयार गर्नुपर्छ । प्रोजेक्ट बनाउन प्रोत्साहित गर्नुपर्छ । यसमा स्थानीय, प्रदेश र संघीय सरकारले सहजीकरण गर्नुपर्छ । मानव संसाधन सबैभन्दा ठूलो सम्पत्ति हो । यसलाई स्थानीय, प्रदेश र संघीय सरकारमा जोड्नुपर्छ । बाहिरबाट फर्किने थ्रेट होइन । यसलाई अवसरका रूपमा लिनुपर्छ ।’

प्रकाशित : श्रावण २७, २०७७ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?