काठमाडौँ — कांग्रेसले जति खबरदारी गरे पनि कोभिड–१९ संक्रमण नियन्त्रणमा गम्भीरता नदेखाएको भन्दै सरकारलाई बिचौलियातन्त्रको कठपुतलीको संज्ञा दिएको छ ।
‘लगानी बोर्डमा गरिएको नियुक्ति यसको नाङ्गो रूप हो,’ कांग्रेसद्वारा गठित कोभिड–१९ अनुगमन समितिका संयोजक एवं पार्टीका सहमहामन्त्री प्रकाशशरण महतले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘आफ्नो निजी स्वार्थ पूर्ति गर्न रमाइरहेको सरकार र सत्तारूढ दलबाट जनताले कुनै आशा राख्ने ठाउँ नरहेको स्थिति छ ।’
कोरोना महामारी नियन्त्रणका दिशामा महत नेतृत्वको समितिले सरकारलाई सुझाव दिन पत्रकार सम्मेलन आयोजना गरेको हो । समिति गठन गर्नुअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै ज्ञापन दिएको थियो । देशभरकै पार्टीको जिल्ला कार्यसमितिले स्थानीय प्रशासनमार्फत समेत प्रधानमन्त्रीलाई ज्ञापन पठाएका थिए । महत नेतृत्वको समितिले अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउँदै आएको छ ।
यी सबै प्रयत्न र दबाबहरूका बाबजुद गम्भीर नभएको भन्दै महतले ओली नेतृत्वको वर्तमान सरकारबाट अब आशा गर्ने ठाउँ नभएको बताए । ‘देश कोभिड–१९ को संक्रमणको मारमा छ तर नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको छ । लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारहरूको इतिहासमा यस्तो संवेदनहीनता कहिल्यै देखिएको थिएन,’ पत्रकार सम्मेलनमा बाँडिएको विज्ञप्तिमा कांग्रेसले भनेको छ, ‘भ्रष्टाचार, अनियमितता र दुरुपयोगको पर्याय बनेको वर्तमान सरकार बिचौलियातन्त्रको कठपुतली बनेको छ ।’ उसले आमजनतालाई सरकारको भरोसा धेरै नगर्न र आफ्नो सुरक्षामा आफैंले ध्यान दिनसमेत अपिल गरेको छ ।
सरकार गम्भीर बनेको भए मुलुकमा अहिलेको जस्तो भयावह स्थिति नआउने महतले बताए । ‘हाम्रो हकमा यो महामारी नियन्त्रणबाहिर थिएन । अलिकति सरकार संवेदनशील भइदिएको भए संक्रमणमुक्त अवस्थामा हामी हुन्थ्यौं,’ उनले भने, ‘तर सरकार सत्ताकेन्द्रित भयो । बिचौलियाको कठपुतली बन्यो । भ्रष्टाचारको पर्याय बनेर बसिराख्यो ।’
कोभिड–१९ नियन्त्रणका लागि सरकारले बनाएको संयन्त्र पूर्ण रूपमा असफल भएको ठहरसमेत कांग्रेसले गरेको छ । ‘तत्काल कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी नेतृत्वलाई जिम्मेवारी दिइयोस्,’ कांग्रेसले भनेको छ, ‘स्वास्थ्य मन्त्रालयमा समेत योग्यता, वरिष्ठता र व्यावसायिकतालाई बेवास्ता गरिँदा नेतृत्व अप्रभावकारी देखिएको छ ।’
कांग्रेसले लकडाउन खुकुलो पारिए पनि आर्थिक, सामाजिक, शिक्षा तथा अर्थतन्त्रका क्षेत्रमा धेरै जोखिम रहेको उल्लेख गर्दै त्यसलाई न्यून गर्ने उपायमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ । संक्रमितलाई सीमामा प्रवेश रोक्न कडाइ गर्नुपर्ने, सघन अनुगमन र परीक्षणको दायरा अझै बढाउनुपर्ने, संक्रमित ठाउँहरूमा मात्रै लकडाउन र पर्याप्त आइसोलेसनको व्यवस्था हुनुपर्ने, खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई तत्काल देश फिर्ताको व्यवस्था गर्नुपर्ने माग कांग्रेसले गरेको छ ।
समुदायमा संक्रमण विस्तार भएसँगै ज्येष्ठ नागरिकहरू संक्रमित हुने जोखिम बढेको औंल्याउँदै कांग्रेसले उपचारमा निजी अस्पताललाई पनि संलग्न गराउनुपर्ने बताएको छ । क्वारेन्टाइन केन्द्रहरूलाई मापदण्डअनुसार बनाउने व्यवस्था तत्काल गर्न र त्यसका लागि आवश्यक आर्थिक सहयोग स्थानीय निकायहरूलाई दिन कांग्रेसले माग गरेको छ । ‘कुनै पनि नागरिक कोभिड–१९ सम्बन्धी होस् वा अन्य बिरामी हुन्, उपचारको ढोका बन्द भएर मर्नु हुँदैन । वीरगन्जलगायत अन्य ठाउँहरूमा उपचारको ढोका बन्द हुँदा मर्नु परेको घटना अत्यन्त दुःखदायी छ,’ कांग्रेसले भनेको छ, ‘यो अवस्थाको तत्काल अन्त्य गरियोस् ।’
