विश्‍वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍वभर कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो

एक करोड २२ लाखभन्दा बढी निको भए, करिब ७ लाख ३४ हजारको मृत्यु
कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको हो ।

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या दुई करोड एक हजार १९ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ८ सय ९७ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड २२ लाखभन्दा बढी निको भएका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मंगलबार बिहानसम्म ५० लाख ८५ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब १६ लाख ७० हजार रहेको छ ।

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब ३० लाख ७० हजार संक्रमित भएका छन् भने एक लाख एक हजार ७ सय ५२ जनाको मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब २४ लाख निको भएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख १५ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १५ लाख ३५ हजार निको भएका छन् ।

चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ९ लाख पुगेको छ । रुसमा कोरोना संक्रमणबाट १४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । रुसमा करिब ७ लाख संक्रमित निको भएका छन् ।

विश्वका विभिन्न देशमा लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमण अझ बढ्न सक्ने चेतावनी दिँदै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित : श्रावण २७, २०७७ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्

९ प्रहरीसहित पर्सामा थप ५५ जनामा कोरोना संक्रमण

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना बारा स्थायी घर भएका छन्  ।

वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक जना गरी ९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालका चिकित्सक डा.निरजकुमार सिंहका अनुसार सोमबार गरिएको परीक्षणमा १७ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २७ जनामा कन्टयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ । पैसा तिरेर स्वयम् परीक्षणका लागि आएका ४ जनामा पनि कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालका थप ५ जना स्टाफमा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार राति संक्रमण पुष्टि भएका ५५ जनामध्ये १० जना संक्रमित वीरगन्ज महानगरपालिका–४ विर्ताका बासिन्दा हुन् । ५ जना संक्रमित वीरगन्ज–१ छपकैयाका र ३ जना संक्रमित माइस्थानका हुन् ।

कृषि सामाग्री प्रालिका एक जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । अन्य संक्रमित वीरगन्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्लीका बासिन्दा हुन् । एक जना संक्रमित पर्साको धोबनी गाउँपालिकाका हुन् ।

प्रकाशित : श्रावण २७, २०७७ ०६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×