कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो

बिहार र उत्तर प्रदेशका सीमावर्ती जिल्लामा पनि संक्रमण बढ्दै
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा केही दिन यता कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । खुला सीमा भएका कारण भारतमा संक्रमण बढेसँगै नेपालमा पनि पनि त्यसको जोखिम नेपालमा पनि पर्ने देखिन्छ । भारतमा गएको एक दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २७ हजार ११४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो । जुन एक दिनको अहिलेसम्मकै सबैभन्दा बढी हो । योसँगै भारतमा कुल संक्रमितको संख्या आठ लाख नाघेको छ । विश्वका कोरोना भाइरसको उच्च संक्रमण भएका मुलुकहरुमध्ये भारत तेस्रो स्थानमा छ । पहिलोमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल रहेका छन् । भारतमा हालसम्म संक्रमणबाट २२ हजार १ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यसैगरी कुल संक्रमितमध्ये पाँच लाख पन्ध्र हजारभन्दा बढी निकोसमेत भइसकेका छन् ।

भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमण बढेको हो । छिल्लो समय महाराष्ट्र, दिल्ली, तमिलनाडु, गुजरात, बिहार, उत्तर प्रदेशलगायतका राज्यहरुमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । राजधानी दिल्लीमा संक्रमितको संख्या एक लाख नौ हजार नाघिसकेको छ । भारतका ३६ प्रदेश तथा केन्द्रशाासित प्रदेशमध्ये महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित छन् । त्यहाँ संक्रमितको संख्या २ लाख ३८ हजार नाघेको छ ।

गएको एक दिनमा महाराष्ट्रमा ७ हजार ८ सयभन्दा बढी नयाँ संक्रमित पहिचान भएका छन् । संक्रमण बढ्दै गएपछि महाराष्ट्रलगायतका राज्यहरुले कतिपय सहरमा फेरि लकडाउन गर्ने घोषणा गरिसकेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार महाराष्ट्रको पुनेका केही भागमा १३ जुलाईदेखि दश दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ । त्यसैगरी महाराष्ट्रकै मुम्बई सहरको थाने क्षेत्रमा १९ जुलाईसम्म लकडाउन बढाइएको छ । त्यसैगरी संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले दिल्ली विश्वविद्यालयअन्तर्गतका कुनै पनि परीक्षा नलिने निर्णय गरेको छ ।

बिहार र उत्तर प्रदेशमा पनि संक्रमण तीव्र

पछिल्ला दिनमा भारतको बिहार र उत्तर प्रदेशमा संक्रमण तीव्र रुपमा बढिरहेको छ । जसले गर्दा खुला सीमा भएका कारण नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको छ । उत्तरप्रदेश र बिहार भारतका बढी जनघनत्व भएका राज्यहरुमा पर्छन् । बिहारको जनसंख्या करीब तेह्र करोड र उत्तर प्रदेशको जनसंख्या २३ करोडभन्दा बढी छ । यी दुई राज्यको जनसंख्याको तुलनामा संक्रमण अझै पनि न्यून हो । तर, विज्ञहरुले परीक्षण नै कम भएको हुँदा संक्रमण कम देखिएको दाबी गर्दै आएका छन् । र, त्यसै पनि भारतका अन्य राज्यहरुको तुलनामा यी दुई राज्यहरु स्वास्थ्य पूर्वाधारका हिसाबले कमजोर मानिन्छ ।

शुक्रबार साँझसम्म बिहारमा संक्रमितको संख्या १४ हजार नाघेको छ । त्यसमध्ये ९ हजार ७ सयभन्दा बढी निको भएका छन् भने १२३ जनाको मृत्यु भइसकेको छ । शुक्रबार मात्र बिहारमा ३५२ जना बिरामी थपिएका छन् । स्थानीय सञ्चारमाध्यमहरुले संक्रमण बढेपछि बिहार सरकारले पटनालगायतका एक दर्जन जिल्लामा १६ जुलाईसम्म लकडाउन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

पछिल्ला दिनमा बिहारका नेपालसँगका सीमावर्ती जिल्लाहरु मधुवनी, सुपौल, पश्चिम चम्पारण, पूर्वी चम्पारण, किसनगञ्ज, सितामढी, अररियामा उच्च संक्रमण देखिएको छ । शुक्रबारसम्ममा मधुवनीमा ५७६, सुपौलमा ३४५, पश्चिम चम्पारणमा ३३४, पूर्वी चम्पारणमा ३११, किसनगञ्जमा २२९, सितामढीमा १६८, अररियामा १६१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । संक्रमण बढेसँगै राजधानी पटनालगायत विभिन्न ११ जिल्लामा शुक्रवारदेखि एक साताका लागि लकडाउन गरिएको छ । त्यसमा नेपालसँग सीमा जोडिएका सुपौल, किसनगञ्जसमेत छन् ।

अर्को सीमावर्ती राज्य उत्तर प्रदेशमा हालसम्म ३३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार एक दिनमा कोरोनाका १३ सयभन्दा बढी नयाँ बिरामी थपिएका छन् । संक्रमण बढेपछि गत शुक्रबार रातिदेखि सोमबारसम्मका लागि लकडाउन बढाउने गर्ने निर्णय गरिएको राज्य सरकारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म उत्तर प्रदेशका सीमावर्ती जिल्लाहरु पिलभितमा १७५, लखिमपुर खेरीमा १४२, बहराइचमा १६१, महाराजगन्जमा २४२, सिद्धार्थनगरमा २९७, बलरामपुरमा १०५, श्रावस्तीमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण रोक्न राज्य सरकारले मास्क नलगाउनेलाई भारु पाँच सय जरिवाना तोकेको छ ।

बढ्दो कोरोना भाइरसको संक्रमणबाट भारतमै रहेका नेपालीहरु पनि अछुतो छैनन् । भारतमा रोजगारी, अध्ययन र अन्य प्रयोजन गरी १५ लाखभन्दा बढी नेपालीहरु रहेको अनुमान छ । तीमध्ये धेरैजसो महाराष्ट्र, दिल्ली, तमिलनाडु, गुजरात र पन्जाबमा छन् ।

नेपालीहरुको बाक्लो उपस्थिति रहेका यिनै भारतीय राज्यहरुमै कोरोना संक्रमण उच्च देखिएको छ । जसले गर्दा नेपालीहरुमा संक्रमणको जोखिम पनि बढ्दै गएको छ । भारतमा रहेका नेपालीहरुमध्ये हालसम्म ८१ जनामा संक्रमण पुष्टि भएको छ । दिल्लीस्थित दूतावासका अनुसार संक्रमित नेपालीहरुमध्ये ११ जनाको मृत्यु भएको छ । ५४ जना उपचारपछि निको भइसकेका छन् भने १६ जनाको उपचार चलिरहेको छ ।

पछिल्लो समय दक्षिण भारतको तमिलनाडु राज्यको चेन्नईमा बस्दै आएका १७ जना नेपालीहरुमा कोरोना भाइरस पुष्टि भएको छ । दूतावासका अनुसार उनीहरुलाई आइसोलेसनमा राखिएको र सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित : असार २७, २०७७ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?