कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पामा कोरोनामुक्त भएर घर फर्किनेको संख्या ३०३ पुग्यो

माधव अर्याल

पाल्पा — पाल्पामा अहिलेसम्म पुष्टि भएका ५ सय ४९ जना कोरोना संक्रमितमध्ये ३ सय ३ जना निको भएर घर फर्किएका छन् । शुक्रबार र शनिबार मात्रै पाल्पामा २ सय ५६ जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोनामुक्त घर फर्किनेहरुमा सबैभन्दा धेरै रामपुर नगरपालिकाका १ सय ६ जना छन् ।

पाल्पामा कोरोनामुक्त भएर घर फर्किनेको संख्या ३०३ पुग्यो

यस्तै, निस्दी गाउँपालिकाबाट ९५ जनालाई घर पठाइएको छ । माथागढी गाउँपालिकाका १५ जना, पूर्वखोला गाउँपालिकाका ३४ जना, रैनादेवी छहरा गाउँपालिकाका २० जना, रम्भा गाउँपालिकाका २५ जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । १५ दिन आइसोलेसनमा बसेकालाई पुनः जाँच नगरी घर पठाइएको छ । पाल्पाबाट आइसोलेसनमा बसेका १ सय ५६ जनाको स्वाब संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा पठाए पनि अहिलेसम्म परीक्षण गरिएको छैन । सबैभन्दा धेरै निस्दी गाउँपालिकाबाट ९० जनाको स्वाब संकलन गरी पठाइएको थियो ।

स्थानीय तहले आफै भीटीएम खरिद गरेर स्वाब संकलन गरी परीक्षणका लागि पठाए पनि जाँच नगरिदिएको निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । त्यसैगरी बगनासकाली गाउँपालिकाका एक, रिब्दीकोट गाउँपालिकाका चार, पाल्पामा उपचाररत गुल्मी र अघाँखाचीका तीन जना पनि कोरोनामुक्त भएर घर फर्केका छन् । आइसोलेसनमा बसेकाहरुको स्वाब संकलन नगर्न निर्देशन दिएको र संकलन गरेर पठाएको पनि जाँच नगरेकाले १५ दिन पुगेपछि लक्षण नदेखिएको र स्वास्थ्य समस्या नदेखिएपछि घर पठाइएको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ सय ४९ पुगेको छ । बगनासकाली गाउँपालिकामा ४२, रम्भा गाउँपालिकामा ४०, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८, तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १६, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५, निस्दी गाउँपालिकामा ९५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । पूर्वखोला, सिलुवाका ४५ वर्षीय एक जना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : असार २७, २०७७ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?