लन्डन — बेलायतमा गरिएको एक अध्ययनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण अस्पताल भर्ना भएकामध्ये दक्षिण एसियाली मूलका मानिसको मृत्यु हुने सम्भावना उच्च रहेको देखाएको छ ।
बेलायतका विश्वविद्यालय तथा सार्वजनिक स्वास्थ्य निकायसहितका विभिन्न २७ वटा संस्था र २ सय ६० अस्पताल समेत संलग्न उक्त संयुक्त अध्ययनले कोरोना संक्रमित अन्य समुदायभन्दा दक्षिण एसियालीमा मृत्युको जोखिम बढी देखाएको हो ।
इंग्ल्यान्डका २ सय ६० अस्पतालका करिब ३५ हजार बिरामीमा अध्ययन गरिएको थियो । बीबीसीका अनुसार खास गरी मधुमेह रोगका कारण दक्षिण एसियाली मूलका मानिसको मृत्युदर उच्च रहेको अध्ययनले जनाएको छ ।
कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका दक्षिण एसियालीहरूमध्ये ४० प्रतिशतमा टाइप १ वा टाइप २ मधुमेह पाइएको थियो जसमा श्वेत समुदायमा २५ प्रतिशत थियो ।
बेलायतमा कोभिड संक्रमित भएर अस्पताल भर्ना भएका बेलायती श्वेत समुदायका मानिसभन्दा दक्षिण एसियाली समुदायका मानिसको मृत्यु हुने सम्भावना २० प्रतिशत उच्च रहेको अध्ययनमा छ ।
यसअघि अश्वेत, एसियाली तथा अल्पसंख्यक समुदायहरूमा कोरोनाका कारण हुने मृत्यु उच्च रहेको भन्दै ब्रिटिस सरकारले एक अध्ययन गराएको थियो। उक्त अध्ययनको नतिजा सार्वजनिक भइसकेको छैन ।
लेटन हस्पिटल चेसायरमा आईसीयूमा कार्यरत डा. सुमित्रा काफ्लेले दक्षिण एसियालीहरू मोटोपन र मधुमेहबाट बढी ग्रस्त भएका जनाउँदै वजन घटाएर टाइप–टु मधुमेह सुधार गरे कोभिड–१९ बाट मर्ने जोखिम कम हुने बताउँछिन् ।
बेलायतमा संक्रमण घट्यो
युरोपको सबैभन्दा प्रभावित मुलुक बेलायतमा कोभिड–१९ संक्रमण घटेको छ । ब्रिटेनको संयुक्त बायो सेक्युरिटी सेन्टरले ब्रिटिस सरकारलाई कोभिड–१९ सम्बन्धी हाल लागू चौथो तहको सावधानी स्तर (लेभल–४ अलर्ट) लाई घटाएर तह ३ मा झार्न सिफारिस गरेको छ ।
चौथो तहले देशमा संक्रमण उच्च तवरले बढिरहेको र तेस्रो तहले संक्रमण सामान्य ढंगले बढिरहेको देखाउँछ । यसले लकडाउन क्रमिक रूपमा खुकुलो बनाउन पनि बाटो खुल्नेछ ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनाअनुसार इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स तथा उत्तर आयरल्यान्डका मुख्य चिकित्सा अधिकारीहरूले उक्त सिफारिसप्रति सहमति जनाएको मन्त्रालयले बताएको छ ।
बेलायत सरकारका मुख्य चिकित्सा अधिकारीहरूले ‘आर’ भनिने कोरोना भाइरसको प्रजनन दर, नयाँ संक्रमण संख्या, चार सातायता अस्पताल भर्ना हुने, आईसीयूमा रहने तथा दैनिक मृत्यु हुनेको संख्या कमका आधारमा ‘अलर्ट लेभल’ एक तह झार्ने निर्णय लिइएको बताएका बीबीसीले जनाएको छ ।
तर मुख्य चिकित्सा अधिकारीहरूले अहिले नै महामारी सकिएको नभई आम जनतालाई सरकारले जारी गरेका निर्देशनहरू पालना गरिरहन आग्रह गरेका छन् । बेलायती स्वास्थमन्त्री म्याट हयन्ककले सावधानी स्तर घट्नु देशका लागि ठूलो क्षण भएको बताउँदै सरकारको योजनाले काम गरेको बताएका छन् ।
‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ का अनुसार बिहीबार देशभर कोरोना संक्रमणबाट १ सय ३५ जनाको मात्र मृत्यु भएको थियो । यो तथ्यांकसँगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ हजार ३ सय हाराहारी छ । संक्रमितको संख्या ३ लाख नाघेको छ । लन्डनस्थित नेपाली दूतावासका अनुसार भाइरसका कारण ६७ जना नेपालीले ज्यान गुमाएका छन् ।
