काठमाडौं — भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ११ हजार ९ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट भारतमा थप ३ सय ११ जनाको मृत्यु भएको छ ।
आइतबार बिहानसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ९५ पुगेको छ । त्यस्तै भारतमा संक्रमितको संख्या ३ लाख ८ हजार नाघेको छ । कोरोना संक्रमणको हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमण पुष्टि भएकामध्ये एक लाख ६२ हजारभन्दा बढी निको भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ । महाराष्ट्रमा १ लाख ४ हजार ५ सय ६८ जना संक्रमित छन् भने ३ हजार ८ सय ३० जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमा संक्रमण पुष्टि भएकामध्ये ४९ हजारभन्दा बढी निको भएका छन् ।
त्यसैगरी, तमिलनाडु राज्यमा ४२ हजार ६ सय ८७ जना संक्रमित भइसकेका छन् । तमिलनाडुमा २३ हजार ४ सय ९ जना निको भएका छन् भने ३ सय ९७ जनाको ज्यान गएको छ ।
दिल्लीमा आइतबार बिहानसम्म ३८ हजार ९ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये १४ हजार ९ सय ४५ जना निको भएका छन् । भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ७१ पुगेको छ ।
नेपालसँग सीमा जोडिएका राज्यमध्ये उत्तरप्रदेश बढी प्रभावित देखिएको छ । त्यहाँ १३ हजार १ सय ७८ जना संक्रमित भइसकेका छन् भने ३ सय ८८५ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै, पश्चिम बंगालमा १० हजार ६ सय ९८, बिहारमा ६ हजार २ सय ९० र उत्तराखण्डमा १ हजार ७ सय ८५ जना संक्रमण पुष्टि भइसकेको छ । पश्चिम बंगालमा ४ सय ६३, बिहारमा ३९ र उत्तराखण्डमा २३ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सिक्किम राज्य कोभिड–१९ बाट सबैभन्दा कम प्रभावित देखिएको छ । सिक्किममा हालसम्म ६३ जनामा संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७७ लाख ८६ हजार नाघेको छ । विश्वका विभिन्न देशमा गरी अहिलेसम्म ४ लाख २९ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब ३७ लाख निको भएका छन् ।
