स्याङ्जा — कोरोना संक्रमणको जोखिम बढेपछि गल्याङ नगरपालिकाले स्वास्थ्यसम्बन्धी सेवा, डेरी र तरकारी पसलबाहेक अन्य कामकाज तथा सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बैंक तथा वित्तीय संस्था र खाद्यान्न पसल पनि एक साताका लागि बन्द हुनेछन् । शुक्रबार बसेको नगर कार्यपालिका र सरोकारवालासँगको बैठकले आइतबारदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो । सिंगो नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले उक्त निर्णय लिइएको नगर प्रमुख भूपराज अधिकारीले बताए ।
यसअघि भारतबाट फर्केकामा मात्र देखिएको संक्रमण शुक्रबार स्थानीय २ जनामा पनि देखिएपछि सोको रोकथामका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गर्न बाध्य भएको उनको भनाइ छ । गल्याङ बहुमुखी क्याम्पसमा १६ जना भारतबाट आएकासँगै क्वारेन्टाइन सरसफाइमा संलग्न दम्पतीमा पनि संक्रमण देखिएपछि नगरपालिकाले लकडाउनमा थप कडाइ गरेको हो ।
