नयाँदिल्ली — भारतीय अर्धसैनिक बल केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) को नयाँदिल्लीस्थित मुख्यालय सिल गरिएको छ । सीआरपीएफका वरिष्ठ अधिकारीसँगै काम गर्ने एक जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि मुख्यालय सिल गरिएको हो ।
सीआरपीएफ भवनमा कसैलाई प्रवेश गर्न दिइएको छैन । सीआरपीएफका स्पेसल डाइरेक्टर जनरल(एसडीजी) का एक जना निजी सचिवलाई कोरोना संक्रमण पुष्टि भएको हो । सीआरपीएका अनुसार कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमित व्यक्ति कस–कसको सम्पर्कमा आएका थिए भन्ने जानकारी लिइरहेको छ ।
अहिलेसम्म सीआरपीएफका १४४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये दिल्लीको मयूर विहारमा रहेको ३१ बटालियनका १३५ जनालाई कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमणबाट एक जना सीआरपीएफ जवानको पनि मृत्यु भएको छ ।
आइतबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार ९ सय ८० पुगेको छ । त्यस्तै एक हजार ३ सय २३ को मृत्यु भएको छ भने १० हजार ८ सय १९ जना निको भएका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतले केही स्थानमा खुकुलो बनाउँदै मे १७ सम्मका लागि लकडाउन लम्ब्याएको छ ।
