लकडाउन, टेस्ट र पुल-टेस्ट

सक्दो चाँडो र धेरैभन्दा धेरै व्यक्तिको परीक्षण गरी रोग पहिचान गर्न, उनीहरूलाई आइसोलेसनमा राख्ने, उपयुक्त उपचार गर्ने, र कन्ट्याक्ट ट्रेसिङ गरेर समुदायमा रोग फैलन नदिन पुल–टेस्ट विधिले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

वैशाख २१, २०७७

डा. वसुधा खनाल, डा. नारायणराज भट्टराई

प्रत्येक दिन समाचार र घरपरिवारमा छलफलको मुख्य विषयवस्तु बनेको कोभिड–१९ अब नयाँ विषय रहेन । यससँगै लकडाउन, टेस्ट, आइसोलेसन, क्वारेन्टाइन, कन्ट्याक्ट ट्रेसिङ, पीसीआरलगायत शब्द पनि चर्चामा आइरहे ।

महिनादिनभन्दा बढी लम्बिइसकेको लकडाउन खुकुलो बनाउँदा एकातिर रोग फैलिन सक्ने जोखिम छ भने अर्कातिर सीमित स्रोत–साधन भएका प्रयोगशालामा सक्दो धेरै परीक्षण गर्न केही ठोस कदम अघि बढाउनुपर्ने आवश्यकता छ । विभिन्न समयमा यस्ता देशव्यापी र विश्वव्यापी कठिनाइको समयमा आमनेपालीले दुःख–हैरानी सहेर समाज र राष्ट्रलाई सहयोग गरेका धेरै उदाहरण छन् । अहिलेको लकडाउनमा पनि नागरिक स्तरबाट सक्दो सहयोग भएको पाइन्छ ।

यद्यपि लकडाउनबाट उत्पन्न त्रास, यस रोगबारेका गलत बुझाइ र द्विविधा एकैसाथ नेपाली समाजले झेलिरहेको छ । सरकारले छोटो समयमै सीमित स्रोतसाधन उपयोग गर्दै नेपालका विभिन्न ठाउँमा सानाठूला गरी १६ परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । निजी अस्पताललाई पनि निश्चित मापदण्ड पुर्‍याएर परीक्षण गर्न अनुमति दिने निर्णय गरिएको छ जुन सरकारको स्वागतयोग्य कदम हो ।

यसरी परीक्षण बढाउन सके मात्रै वास्तवमा कति जनामा संक्रमण छ भन्ने प्रक्षेपण गर्न सकिन्छ । परीक्षण नै नगरी रोगको निर्क्योल गर्न सकिँदैन । त्यसमा पनि नेपालमा अहिलेसम्म कडा प्रकृतिको संक्रमण नदेखिनु, संक्रमितमा रोगका लक्षण खासै नदेखिनुले गर्दा यो रोग सुषुप्त रूपमा फैलिएर पछि कडा रूप देखिने त होइन भन्ने बुझाइ पनि छ । लकडाउनले समुदायमा परेको असजिलोको कारण यसलाई खुकुलो बनाउने दबाब हुँदाहुँदै फेरि रोग ह्वात्तै बढ्ने हो कि भन्ने डर पनि सबैको मनमा छ । यी सबैको निदान हामीले गर्ने परीक्षण पद्धतिमै भर पर्छ ।

यससँगै अर्को  प्रश्न उब्जन्छ– सीमित प्रयोगशाला र अपूरो दक्ष जनशक्तिले परीक्षणचाहिँ धेरैभन्दा धेरै कसरी गर्ने त ? यसैलाई ध्यानमा राखेर हामीले गत महिना (अप्रिल ७) स्वास्थ्यविज्ञलाई सुझाव पठाएका थियौं । जुन लामो छलफलपछि अन्तरिम दिशानिर्देशका रूपमा आएको छ । अब प्रश्न उठ्छ– पुल–टेस्ट के हो त ? यसले कसरी परीक्षणको संख्या बढाउन मद्दत गर्छ ?

एउटा कुरा के बुझ्नुपर्छ भने अहिलेको लकडाउनमा हामीले सबै ‘हटस्पट’ अर्थात् संक्रमणको उच्च जोखिमपूर्ण स्थानमा कन्ट्याक्ट–ट्रेसिङ तथा भिडभाडमा गएका मानिस पहिचान गरी परीक्षण सके उनीहरूलाई क्वारेन्टाइन, आइसोलेसनमा राख्दै उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट–टेस्टिङ गर्न सकिन्छ । यसमा हामीलाई थप चुनौती भारतसँग खुला सिमाना भएका कारण र त्यहाँबाट लुकीछिपी यात्रुको आवागमन हुन सक्ने स्थितिले सिर्जना गर्न सक्छ ।

द्रुत परीक्षण विधिले हामीलाई सहयोग हुँदैन भन्ने कुरा पनि बारम्बार आइरहेको छ । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्ले २७ अप्रिलमा द्रुत परीक्षण विधिका सम्बन्धमा सुझाव जारी गर्दै ‘फरकफरक नतिजा र क्षमता देखाएका कारण त्यसलाई बन्द गर्ने’ निर्णयसहित खरिद गरिएका किट उत्पादनकर्तालाई फिर्ता गर्न सुझाएको छ । यद्यपि द्रुत परीक्षण विधि रोग पहिचानमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले पनि अनुमति दिएको छैन । तसर्थ अहिलेको अवस्थामा धेरैभन्दा धेरै पीसीआर टेस्ट कसरी गर्न सकिन्छ भन्ने नै मुख्य सरोकार हो ।

धेरै परीक्षण भएको अवस्थामा समुदायमा सम्भावित संक्रमितको पहिचान हुने र उनीहरूलाई समयमै आइसोलेसनमा राख्न सकिने अवस्था आउन सक्छ । यसबाट विस्तृत कन्ट्याक्ट–ट्रेसिङ गर्न सकिने हुँदा यो ‘टेस्ट, टेस्ट, टेस्ट र ट्रेस’ भन्ने अवधारणालाई प्रभावकारी बनाउन सकिन्छ । सीमित स्रोत–साधनमा कसरी यति धेरै पीसीआर परीक्षण गर्न सक्छौं भन्नेबारे सोच्न जरुरी छ । अहिलेसम्म प्रयोग भएका विधि हेर्दा यसको उपाय भनेकै पुल–टेस्ट हो ।

सक्दो चाँडो बिरामीको पहिचान, आइसोलेसन, क्वारेन्टाइन, उपचार सबैका निम्ति सीमित समयावधिभित्र हुने भाइरसको कुशल परीक्षण अहिलेको अपरिहार्य आवश्यकता हो । परीक्षण विधिले महामारीको उचित रोकथाम र समाधानका निम्ति प्रत्यक्ष प्रभाव पार्छ । विश्व स्वास्थ्य संगठन प्रमुख डा. टिड्रोसले मार्च १६ मा जेनेभामा सञ्चार माध्यमसँगको अन्तरक्रियामा भनेका थिए, ‘सबै सम्भावित व्यक्तिको टेस्ट, टेस्ट, टेस्ट गर्न सम्पूर्ण देशलाई हाम्रो सल्लाह छ ।’

परीक्षणले नै समयमै रोगको पहिचान र उपचारको बाटो तय गरी निको हुनेको संख्या बढाउन र मृत्युदर घटाउन घटाउन सक्छ । त्यसैले कोभिड–१९ पहिचान र नियन्त्रणको महत्त्वपूर्ण आधार नै भाइरसको परीक्षण हो ।

कोभिड–१९ को पहिचान पीसीआर परीक्षणबाट गरिन्छ । यसमा बिरामीको शरीरबाट संकलित नमुनामा भएको पृथक् आनुवंशिक क्रमिकताका आधारमा भाइरसहरूको अनुगमन, परीक्षण र पहिचान गरिन्छ । यद्यपि पीसीआर विधिले परीक्षण गर्दा घण्टौं लाग्ने र रोगको लक्षण नदेखिएका तर संक्रमण भएका व्यक्तिको अनुगमन गर्न नसकिने परिस्थिति हुन्छ ।

पुल–टेस्टिङ के हो ?

पुल टेस्टमा हरेक व्यक्तिबाट लिइएको स्वाब नमुना छुट्टाछुट्टै नभई समूह (पुल) बनाएर एकैचोटि परीक्षण गरिन्छ । यसरी गरिएको परीक्षणमा कोरोना देखिएन भने त्यो समूहमा कुनै पनि व्यक्तिलाई संक्रमण छैन भन्न सकिन्छ । पोजिटिभ रिजल्ट आएको खण्डमा भने ती समूह (पुल) का प्रत्येक नमुनाका लागि छुट्टाछुट्टै व्यक्तिगत परीक्षण गरेर कुनचाहिँ पोजिटिभ हो भनी यकिन गर्न सकिन्छ । यो परीक्षणलाई त्यस्तो स्थितिमा उत्तम उपाय मानिन्छ जहाँ परीक्षण भइरहेका बहुसंख्यक मानिसलाई यो रोग छैन भन्ने रिपोर्ट आइरहेको हुन्छ । हाम्रो देशमा अहिलेकै अवस्थामा धेरै व्यक्तिको परीक्षणको नतिजा नेगेटिभ आइरहेको छ । त्यसैले यो विधि सीमित स्रोतसाधनको अवस्थामा परीक्षणको दायरा बढाउन साथै कोरोना पहिचानमा सहायक सिद्ध हुन सक्छ । अहिलेसम्म यो विधिबाट इजरायल, जर्मनी, भारत, दक्षिण कोरिया आदि देशमा पुल–टेस्ट भएको छ ।

कोभिड–१९ को ठोस उपचार पद्धति विकसित भइनसकेको, खोपको विकास पनि अनुसन्धान क्रममा रहेकाले समयमै गरिने पहिचानले नै नियन्त्रणमा मद्दत पुग्न सक्छ । सक्दो चाँडो र धेरैभन्दा धेरै व्यक्तिको परीक्षण गरी रोग पहिचान गर्न, उनीहरूलाई आइसोलेसनमा राख्ने, उपयुक्त उपचार गर्ने, र कन्ट्याक्ट ट्रेसिङ गरेर समुदायमा रोग फैलन नदिन पुल–टेस्ट विधिले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

लकडाउन खुकुलो बनाउने सोच्दै गर्दा यसले संक्रमण रोकथाममा खेलेको भूमिकाबारे पनि बहस हुन जरुरी छ । लकडाउनबीचमा जनसाधारणले सामना गर्ने कठिनाइबारे पनि मूल्यांकन हुनुपर्छ । कोभिड–१९ का लागि सामूहिक परीक्षण अवलम्बन गरेर मात्रै लकडाउन बढाउने वा खुकुलो बनाउने विकल्पबारे छलफल थालिनुपर्छ ।

-डा. खनाल र डा. भट्टराई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागसम्बद्ध छन् ।

लकडाउनकोरोना भाइरस

डा.

डा.

Link copied successfully