संक्रमित युवकको परिवारका सबैको पीसीआर रिपोर्ट नेगेटिभ

गाउँका अन्यको पनि आरडीटी परीक्षण गरिँदै

वैशाख २१, २०७७

घनश्याम गौतम

बुटवल — कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएका रूपन्देहीको कोटहीमाइ गाउँपालिका–१ सिपवाका २५ वर्षीय युवकको परिवारका सबैको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । 

युवामा कोरोना पोजिटिभ देखिएपछि उनलाई क्वारेन्टाइनमा पुर्‍याउने उनका दाजु, परिवार र उनको सम्पर्कमा रहेका ३ जना गरी १० जनाको शनिबार स्वाब संकलन गरिएको थियो । उनी भारतको दिल्लीबाट वैशाख ५ गते गाउँ आएका थिए । घर पुग्न नपाउँदै बीच बाटोबाट दाजुले उनलाई गाउँपालिकाको मझगवामा रहेको क्वारेन्टाइनमा पुर्‍याएका थिए । उनलाई क्वारेन्टाइन पुर्‍याउने दाजु, उनको परिवार र बाटोमा सम्पर्कमा आएका अन्य ३ जनाको समेत स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए । 

उनीसँगै क्वारेन्टाइनमा बसेका अन्य १३ जनाको रिपोर्ट पनि नेगेटिभ नै आएको छ । उनको र परिवारको रिपोर्ट नेगेटिभ आए पनि कन्ट्याक्ट ट्रेसिङका आधारमा अन्यको र ठूलो घेरा बनाएर आरडीटी परिक्षणको पनि तयारी भइरहेको प्रदेशको स्वास्थ्य विभागका स्वास्थ्य निर्देशक डाक्टर विनोदकुमार गिरीले बताए । संक्रमित युवाको बिहीबारदेखि रूपन्देहीको धागो कारखानामा रहेको बुटवल अस्थायी कोरोना अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालका इन्चार्ज डाक्टर सुदर्शन थापाले बताए । 

कोरोना भाइरस

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully