१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रधानमन्त्री ओलीको राजीनामा रोकिनुका पाँच कारण

‘यो युद्ध विराम हो । प्रधानमन्त्रीले आगामी दिनमा ठीकसँग काम गर्नु भयो भने राजीनामाको कुरा आउँदैन । राम्रो काम गर्नु भएन, पार्टी पद्धति मान्नु भएन भने राजीनामाको कुरा फेरि उठ्न सक्छ ।’
गंगा बीसी

काठमाडौँ — नेकपाको बैशाख २० मा बालुवाटारमा भएको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको एउटै प्रकारको रातो टेबुल र कुर्सी थियो । यो बैठकमा दुई अध्यक्षको आसन सार्वजनिक भएपछि नेकपाका कार्यकर्ताले ‘शुभसंकेत’ भनेर टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीको राजीनामा रोकिनुका पाँच कारण

बैठक सकिनासाथ प्रधानमन्त्री ओलीको राजीनामा ‘हट इस्यु’ भएको सचिवालय बैठकमा पार्टी ‘पार्टी एकतालाई मजबुद बनाउन एकतावद्ध भएर अघि बढ्ने’ निर्णय भएको समाचार आयो पनि ।

यससँगै शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै प्रधानमन्त्री ओलीका लागि सत्ता संकट टर्‍यो । खासगरी अध्यक्ष दाहाललाई विश्वस्त बनाएपछि प्रधानमन्त्री ओली अब बालुवाटारबाट बालकोट सर्नुपर्ने छैन ।

ओलीलाई राजीनामा गराउने दाहालको रणनीति किन स्थगित भयो त ? अहिले धेरैको मनमा जागेको प्रश्न हो यो । पछिल्ला बैठकहरुदेखि भैंसेपाटी, कोटेश्वर र खुमलटारमा भएका भेलाहरुमा उठेका प्रश्नहरुको समाधान कसरी भयो त ?

यसका पाँच कारण देखिन्छन् । पहिलो, कहिल्यै आत्मालोचना नगर्ने प्रधानमन्त्री ओलीले सरकार संचालनका क्रममा भएका कमजोरी स्वीकार गर्नु । दोस्रो, आगामी दिनमा सरकारले गर्ने राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टीमा छलफल गर्ने प्रतिबद्धता ओलीले जनाउनु । तेस्रो, पार्टी एकतालाई अझै मजबुद बनाएर जान दुई अध्यक्षबीच सहकार्य भएर अघि जाने सहमति हुनु । पार्टी संचालनका विषयमा दुई अध्यक्षबीच समान हैसियतले काम गर्ने र एक अध्यक्षले अर्को अध्यक्षको भावनाको सम्मान गर्ने सहमति पनि भयो ।

चौथो, कोरोना त्रासका बेला प्रधानमन्त्री ओलीलाई राजीनामा गराउने कामले भविष्यमा पार्टी झन् संकटमा पर्ने र त्यसको मुख्य आरोप दाहाल र नेता माधवकुमार नेपाललाई लाग्न सक्ने संभावना थियो । र, पाँचौं कारण थियो– उत्तरी छिमेकी चीनको नेकपाको एकता र स्थायी सरकार कायम राख्ने सन्देश दिनु ।

‘प्रधामन्त्रीले विगतमा कमजोरी भयो, अब आपसी छलफल र समझदारीका आधारमा अघि जाने भनी आत्मालोचना गरेपछि सभ्झौता भयो । प्रधानमन्त्रीले पार्टी पद्धति, विधिलाई मानेर प्रतिबद्धता जनाउनु भयो,’ नेकपाका एक वरिष्ठ नेताले कान्तिपुरसँग भने, ‘यो युद्ध विराम हो । प्रधानमन्त्रीले आगामी दिनमा ठीकसँग काम गर्नु भयो भने राजीनामाको कुरा आउँदैन । राम्रो काम गर्नु भएन, पार्टी पद्धति मान्नु भएन भने राजीनामाको कुरा फेरि उठ्न सक्छ ।’

तत्कालका लागि ओलीको सत्ता संकट टर्‍यो । दाहालले पनि धेरै सम्झौता गरेर बनेको पार्टीर् एकता कायम राखेकोमा सन्तोष मान्न सक्ने भए । उनी निकटकाको भनाई अनुसार दाहालको इच्छा पनि अलिे नै प्रधानमन्त्री ओलीको विकल्पमा आफू अघि सार्ने भन्ने थिएन । किनकि पार्टी एकीकरण गर्ने बेलामा सरकार संचालन आधाआधा अवधि गर्ने समझदारी दाहालले छोडिसकेका छन् । ओलीलाई पूरा अवधि सरकार संचालन गर्ने सहमति दिइसकेका छन् ।

दाहालको ध्यान प्रधानमन्त्रीभन्दा पार्टी अध्यक्ष हुनेमा बढी केन्द्रित देखिन्छ । पछिल्लो समय उनको रणनीति थियो, प्रधामन्त्री पद सुरक्षित छैन भनेर ओलीलाई महशुस गराउने । आत्मसम्मानका साथ कार्यकारी अध्यक्षको भूमिकामा काम गर्ने वातावरण बनाउने । पछिल्लो समय ओली र दाहालबीच यस विषयमा अनौपचारिक समझदारी भएको अनुमान गरिएको छ । यसअघि पनि लिखित रुपमा दुवै अध्यक्षले कार्यकारी भूमिकामा काम गर्ने समझदारी भए पनि व्यबहारमा लागु भएको थिएन ।

दाहाल प्रस्ताव बनाउँदै

शनिबार सचिवालय बैठकले स्थायी समितिमा पेश गर्ने प्रस्ताव बनाउने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ । उनले बनाउने प्रस्ताव सचिवालय बैठकले गरेको निर्णय अनुसार ‘पार्टी एकताको सन्देश दिने’ हुने छ । यसको सिधा अर्थ हुन्छ, तत्कालका लागि सत्ता संघर्ष होइन, पार्टी एकता बलियो बनाउने ।

ओली र दाहालको मिलनले फेरि वरिष्ठ नेता माधवकुमार नेपाललाई भने बढी सशंकित बनाएको छ । यसअघिका दाहालसँगका भेटमा नेपालले भन्दै आएका थिए, ‘यसपटक तपाईँ दह्रोसँग खुट्टा टेक्नुस् ।’ सायद नेपालले यो कुरा यतिबेला राम्ररी सम्झिरहेको हुनुपर्छ । ओली र दाहालबीचको संघर्षबीच नेपाल शक्तिशाली देखिएका थिए । उनी जता ढल्कियो, उही पक्ष बहुमत हुने अवस्था थियो । ओली र दाहालबीच नै सहमति भएपछि नेपाल पक्ष फेरि मझधारमा परेको छ । नेपाल पक्ष शक्तिशाली हुन ओली र दाहालबीच फेरि संघर्ष चर्कनु पर्नेछ । त्यो समय भनेको पार्टीर् महाधिवेशनको मुखतिर हुन्छ ।

अब के हुन्छ ?

केही समय अध्यक्ष दाहालले ओलीको काम गराईप्रति ‘पर्ख र हेर’को नीति लिने छन् । प्रधानमन्त्री ओलीले सचिवालय बैठक अघि ‘सहकार्य गरेर अघि जान तयार’ भनेका बिषय नै दाहालका लागि महत्वपूर्ण हुनेछ ।

पार्टीको आगामी महाधिवेशनसम्म दुई अध्यक्षको पार्टीमा समान भूमिका र सरकारको काम गर्दा आपसरी समझदारीलाई ओलीले पछ्याएमात्र यी दुईको सम्बन्ध राम्रो हुनेछ । वरिष्ठ नेता माधवकुमार नेपाललको असन्तुष्टिलाई मत्थर पार्ने प्रयास दुवै अध्यक्षले गनुर््पर्ने छ ।

सत्ता संकट टर्‍यो, कोरोना संकट बाँकी

कोरोनाको त्रासमा रहेका नेपालीका लागि गएको दुई साता अप्रिय रहे । पहिलो प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी असान्दर्भिक अध्यादेश ल्याएर नेपाली जनतालाई थप आक्रोशित र निराश बनाए । पार्टीभित्र र बाहिर व्यापक विरोध भएपछि यी दुई अध्यादेश उनले फिर्ता लिए ।

यी अध्यादेश फिर्ता लिएलगत्तै अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको राजीनामा मागे । अध्यादेश ल्याउने काम र कोरोनाविरुद्ध लड्ने बेला प्रधानमन्त्रीको राजीनामा गराएर सरकार बदल्न खोज्ने दुबै काम उचित थिएन । यतिबेला प्रधानमन्त्री को हुने, नहुने कोरोनाको त्रासमा रहेका नेपालीका लागि खास सरोकारको विषय होइन । यतिबेलाको प्राथमिकता कोरोना संक्रमणबाट कसरी पार पाउने भन्ने हो, प्रधानमन्त्रीको कुर्सीमा ओलीको सट्टा दाहाल वा गौतम आसिन हुने भन्ने होइन ।

मुलुक लकडाउनबाट बाहिर निस्कन खोजेको छ । कोरोना त्रास सकियोस्, लकडाउन अन्त्य होस् । त्यसपछि नेताहरुले जे गरुन् । सत्ता र पदका लागि संघर्ष गरुन् । कोराना भाइसर संक्रमण अन्त्य भएपछि सत्ताको खेल जति खेले पनि हुन्छ । कोरोनाविरुद्धको निर्णायक लडाइँ गर्ने बेला प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले सत्ताका लागि गर्ने खेल गलत हो ।

कोरोना महामारीको त्रास एक दिन जाने नै छ । तर, यो बेला नेताहरुले गरेको अप्रिय कामको लेखाजोखा हुने नै छ । यतिबेला कसले के काम गर्‍यो ? नेकपाले के गर्‍यो ? कांग्रेसले के गर्‍यो ? कुन नेताले के गरे ? त्यसको मूल्याङ्कन हुनेछ । यो महासंकटको बेला कसले पद र कुर्सीका लागि खेल खेल्यो ? समयले यसको निर्मम जवाफ दिने नै छ ।

नेताले गरेका सबै काम जनताले रुचाउँछन् भन्ने छैन । हुनु पर्ने त, जनताले रुचाएमात्र नेता हुने हो । जनताको चाहनाअनुसार नेता हुनुपर्ने हो, यहाँ त नेताले चाहेअनुसार नेता हुने अवस्था छ । जसरी पनि पदमा जाने र पदमा टिकिरहने राजनीतिक संस्कार देखिएको छ ।

यतिबेला ओली र दाहाल पक्षले खेलेका खेलले गतिलो राजनीतिक संस्कारको संकेत गर्दैनन् । नेपाली राजनीतिमा राजनीतिक संस्कार बन्न नसक्नुको मूल कारण समय र परिस्थितिको सही मूल्याङ्कन गर्न नसक्नु हो ।

प्रकाशित : वैशाख २१, २०७७ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?