प्लाज्मा दान गर्न केजरीवालको अनुरोध

कोभिड–१९ संक्रमितमा गरिएको परीक्षणमा प्लाज्मा थेरापी सफल देखिएपछि दिल्लीका मुख्यमन्त्री उत्साहित

वैशाख १३, २०७७

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट निको भएकाहरूलाई प्लाज्मा दान गर्न अनुरोध गरेका छन् । केजरीवालले शुक्रबारको नियमित डिजिटल पत्रकार सम्मेलनमार्फत त्यस्तो आह्वान गरेका हुन् ।

दिल्लीकै केही अस्पतालमा भर्ना गरिएका कोभिड–१९ संक्रमितमा गरिएको परीक्षणमा प्लाज्मा थेरापी सफल देखिएपछि उत्साहित बनेका केजरीवालले त्यस्तो आग्रह गरेका हुन् । केजरीवालले ४ जना बिरामीमा गरिएको क्लिनिकल परीक्षणको नतिजा सकारात्मक आएको समेत बताए । दुई/तीन दिनमा थप बिरामीमा परीक्षण गरिनेसमेत उनले जनाए ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री केजरीवालले गम्भीर बिरामीहरूमाथि प्लाज्मा थेरापी परीक्षण गर्न अनुमति पाइसकिएको छिट्टै अन्य बिरामीको उपचारका लागि अनुमति खोजिने बताएका छन् । ‘यी प्रारम्भिक नतिजा भए पनि निकै उत्साहवद्र्धक देखिएको छ । आशाको किरण देखिएको छ,’ उनले भने । तर, यसका लागि सबैभन्दा बढी भूमिका दाताको हुने भएकाले बढीभन्दा बढीलाई प्लाज्मा दानका लागि आउन पनि उनले आग्रह गरेका छन् ।‘म कोभिड–१९ को संक्रमणबाट निको भइसकेकाहरूलाई हात जोडेर निवेदन गर्न चाहन्छु कि अब तपाईंहरू अरूको ज्यान बचाउन सक्नुहुन्छ,’ उनले भने । केजरीवालले अर्काका लागि काम आउनु निको भइसकेका एक–एक व्यक्तिहरूको जिम्मेवारी पनि भएको बताएका छन् ।

उपचारपछि घर फर्केकाहरूमध्ये प्लाजा दान गर्न इच्छुक दाताका लागि अस्पताल आउने–जाने प्रबन्ध दिल्ली सरकारले मिलाउने केजरीवालको भनाइ छ । त्यसका साथै सबै खर्च सरकारले बेहोर्ने पनि उनले जनाए । भारतको केन्द्र सरकारले हाललाई दिल्ली, पन्जाब, कर्नाटक, गुजरात, महाराष्ट्र र केरलालाई मात्र प्लाज्मा थेरापीको परीक्षण गर्न अनुमति दिएको छ ।

राजधानी दिल्लीमा भाइरसको संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि त्यसको रोकथामका लागि दिल्ली सरकारमाथि दबाब बढ्दै गएको थियो । त्यसमाथि दिल्लीमा संक्रमणबाट निको हुने दर अन्य राज्यको तुलनामा कम पनि छ । भारतमा शुक्रबार साँझसम्म २३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । ७ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

राजधानी दिल्लीमा भने २३ सयभन्दा बढी संक्रमित भएका छन् । पचास जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । दिल्लीमा ८०८ जना मात्र उपचारपछि घर फर्केका छन् । दिल्लीमा उपचारपछि निको हुने दर करिब ३५ प्रतिशतको हाराहारीमा छ । केरलामा ६० प्रतिशतभन्दा बढी छ । त्यही भएर केजरीवाल सरकारले वैकल्पिक उपचारका लागि प्लाज्मा थेरापीका लागि विशेष जोड दिन थालेको हो ।

भाइरसका बिरामीहरूमा संक्रमण कम गर्नका लागि प्लाज्मा थेरापी प्रभावकारी मानिएको छ । यसका लागि सबैभन्दा पहिले निको भइसकेका बिरामीको रगत निकालिन्छ । त्यसपछि त्यो रगतमा रहेको कोभिड–१९ एन्टीबडी भएको प्लाज्मा निकालिन्छ । प्लाज्मा निकालेपछि निकालिएको रगतलाई पुन: दातालाई चढाइन्छ ।

निकालिएको कोभिड–१९ एन्टिबडीयुक्त प्लाज्मा संक्रमित व्यक्तिलाई दिइन्छ । जसबाट संक्रमित व्यक्तिमा रहेका भाइरसविरुद्ध उक्त एन्टिबडी लड्छ र बिरामीको रोगविरुद्धको प्रतिरोध क्षमता पनि बढाउँदै जान्छ । जसले गर्दा कोभिड–१९ को भाइरसको संक्रमण कम हुँदै जान्छ र बिरामी पनि तंग्रिँदै जान्छ ।

प्लाज्मा थेरापीले भाइरसको उपचार गर्ने भने होइन । यसले भाइरसविरुद्ध लड्न शरीरको प्रतिरोध क्षमता बढाउने मात्र हो । यसअघि सार्स भाइरसको रोकथामका लागि पनि प्लाज्मा थेरापीको प्रयोग सफल मानिएको थियो ।

कोरोना भाइरस

सुरेशराज दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका न्यौपाने कान्तिपुरका समाचार संयोजक हुन् ।

Link copied successfully