क्‍वारेन्टाइन कष्ट : चिसो भुइँमा सुत्दा बिरामी

पानी चुहिने कोठामा त्रिपालमा पिफम ओछ्याएर २० जनासम्म सुत्न परिरहेको र आफूहरू बिरामी हुन थालेको क्वारेन्टाइन बस्नेहरूले गुनासो गरेका छन् ।

वैशाख १३, २०७७

तुलाराम पाण्डे

कालीकोट — जिल्लाबाहिर अलपत्र परेका स्थानीयहरूको घर फर्किने क्रम बढ्दो छ । यसअघि पैदलै आउने क्रम रहे पनि अहिले प्रदेश र स्थानीय सरकारको समन्वयमा जिल्लावासीहरू घर फिर्ता भइरहेका छन् । तर, उनीहरूले यात्राका क्रममा र क्वारेन्टाइनमा बस्दा पनि सास्ती भोगिरहेको गुनासो गरेका छन् ।

काठमाडौंबाट लकडाउन छिचोलेर बुधबार ताडी पुगेको ना४ख ५०३० नम्बरको यात्रुवाहक बसमा आएका ५५ जना यात्रुलाई खाँडाचक्र नगरपालिकाले तिलाकर्णाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा खान र बस्न समस्या रहेको तिलागुफा–२ का नन्द बोहोराले बताए । ‘चिसो भुइँमा त्रिपालमाथि पिफम ओछ्याएर सुत्दा ढाड चलाउनै नसकिने भएको छ,’ उनले भने, ‘घर पुर्‍याउने भनेर बाटोमा पनि धेरै दु:ख दिए ।’ महाबै, तिलागुफा र जुम्लाको सिँजाका बासिन्दालाई उक्त क्वारेन्टाइनमा राखिएको छ ।

सुत्ने ठाउँ पनि पानी चुहिएर चिसो भएको कनकासुन्दरी–१, जुम्लाकी सुशीला उपाध्यायले बताइन् । उनी काठमाडौंबाट हिँडेको तीन दिनमा कालीकोट पुगेकी हुन् । बुधबार राति र बिहीबार दिनभर पानी परेकाले चिसोका कारण रुघाखोकी लागेको उनको भनाइ छ । ‘गाउँकै क्वारेन्टाइनमा राखिएको भए जस्तो दु:ख पनि भोग्न सकिन्थ्यो,’ उनले भनिन्, ‘यहाँ ल्याएर राख्न किन उद्धारको नाटक गरिएको होला ?’ आधारभूत स्वास्थ्य इकाईका कर्मचारीले ज्वरो नापे पनि अन्य उपचार नगरेको उनको भनाइ छ ।

क्वारेन्टाइनमा बसेकाले जिल्ला अस्पतालबाट डाक्टर बोलाई आफूहरूको जाँच गर्नुपर्ने माग गरेका छन् । ‘उद्धार भनेर हामीलाई दु:ख मात्र दिइयो,’ स्थानीय जगत शाहीले भने, ‘सरकारले सामाजिक दूरी कायम गर्ने नारा लगाएको छ, यहाँ भने एउटै कोठामा १५/२० जनालाई खाँदेर राखिएको छ ।’ बुधबार तीनवटा यात्रुवाहक बस कालीकोट भित्रिएकोमा एउटा गाडीलाई मात्र रोकेर दु:ख दिएको उनको आरोप छ ।

कोहलपुरबाट एक जना शंकास्पद बिरामी आएको भन्ने सूचनाका आधारमा जाँचका लागि गाडी रोकिएको कालीकोट प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । जुम्ला र मुगु जाने दैनिक ३/४ वटा गाडी छोडिएको उनको भनाइ छ । ‘सबैलाई आरडीटीपछि घर पठाइनेछ,’ उनले भने, ‘स्थानीय तहलाई नागरिकको व्यवस्थापन गर्न आग्रह गरिएको छ ।’ उनका अनुसार एक साताको अवधिमा करिब ५ सय जनालाई प्रदेश र स्थानीय सरकारले उद्धार गरेका छन् ।

शंकास्पद बिरामी भएको गाडी र सबै यात्रुलाई गाउँको बीचमा रहेको तिला कर्णाली क्याम्पसको क्वारेन्टाइनमा राखेको भन्दै स्थानीयले विरोधसमेत गरेका छन् । गाउँमा बाहिरका बिरामी ल्याएर सबैको स्वास्थ्यमाथि खेलवाड गरिएको स्थानीय अर्चना पाण्डेले आरोप लगाइन् ।

क्वारेन्टाइनमा २०५ जना

लकडाउनमा अलपत्र परेका करिब ५ सय जनालाई कालीकोट ल्याइए पनि बिहीबारसम्म ९ वटै स्थानीय तहमा २ सय ५ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । अरू यात्रुबारे स्थानीय सरकारसमेत बेखबर छन् । गाउँमा आएको थाहा भएकालाई क्वारेन्टाइनमा राख्ने गरिएको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । लुकेर सुटुक्क घर जानेको पनि खोजी भइरहेको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालयका अनुसार खाँडाचक्रमा ८५, पाचालझरनामा ४, सान्नीत्रिवेणीमा ४०, नरहरिनाथमा २७ र महाबैमा २६ जना क्वारेन्टाइनमा छन् । पलाँता गाउँपालिकामा मंगलबार आएका केही व्यक्तिलाई सरस्वती माविको क्वारेन्टाइनमा राखिए पनि खाना र बस्नको असुविधा भएपछि भागेर घर गएका छन् । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले धौलागोहको राडुनेटा, खीनको नेटा र मेहेल्ने क्वारेन्टाइनमा २७ जना बसिरहेको दाबी गरे । ‘थिर्पुबाट स्थानीयवासीलाई घर नजिकको क्वारेन्टाइनमा पठाइएको हो,’ उनले भने, ‘भागेर गएका होइनन् ।’

३८९ जनाको स्वास्थ्य परीक्षण

जिल्लाका सबै स्थानीय तहमा अहिलेसम्म ३ सय ८९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । २ सय २८ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डा. भीष्म पोख्रेलले जानकारी दिए ।

उनीहरू सबैको परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको उनले बताए । उनका अनुसार सबै पालिकामा किटसहित चिकित्सकको टोली अवलोकन र स्वास्थ्य जाँच गरी फर्किएको छ ।

लकडाउनकोरोना भाइरस

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully