चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुर अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जनामध्ये एकजना २७ वर्षीय पुरुषको स्वाब परीक्षणमा लगातार दोस्रो पटक नेगेटिभ नतिजा देखिएको छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बिहीबार र शुक्रबार ती व्यक्तिको स्वाब परीक्षण भएको थियो । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको पौडेलले जानकारी दिए ।
‘यो भनेको ती व्यक्ति निको भए भन्ने हो । प्रोटोकलअनुसार अब उनलाई अस्पतालबाट डिस्चार्ज गर्न मिल्छ,’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले भने । ती व्यक्तिसँगै उनको आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उपचार सुरु भएपछि बिहीबार पहिलो पटक आमाछोरा दुवैको स्वाब परीक्षण गरिएको थियो । आमाको नतिजा भने पाेिजटिभ देखिएको छ । आमाको आइतबार फेरि परीक्षण हुने छ ।
चैत ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरका यी आमा छोरामा गत शुक्रबार अर्थात वैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । चैत्र ४ गते अर्का छोरा पनि हङकङबाट काठमाडौं आएका थिए । उनीहरु तीनजना काठमाडौंमा भेट भएर चैत्र ५ गते सँगै घर आएका थिए । होम क्वारेन्टाइनमा बसेका उनीहरुको वैशाख ३ गते द्रुत परीक्षण (आरडीटी) भएको थियो ।
आरडीटीमा आमामा मात्रै एन्टीबडी पोजिटिभ देखिए पनि सँगै आएका दुईजना छोरालाई पनि स्वाब परीक्षण गर्न भरतपुर ल्याएर सकारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । स्वाब परीक्षणमा बेलायतबाट सँगै आएका आमा छोरामा संक्रमण पुष्टि भए पनि हङ्कङबाट आएका अर्का छोरामा संक्रमण भेटिएन । उनी अहिले होम क्वारेन्टाइनमा नै छन् ।
नियमले डिस्चार्ज गर्न मिल्ने भए पनि आमा पनि उपचारमै भएको हुँदा परिवारसँग पनि सल्लाह गर्ने र राप्ती नगरपालिकाका मेयर प्रभा बरालसँग सम्पर्क गरेर निर्णय लिने भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ड डा.श्रीराम तिवारीले बताए । स्वाबको नतिजा लगातार दुई पटक नेगेटिभ आएर अस्पतालबाट बिदा भए पनि त्यस्ता व्यक्तिहरु एक हप्ता होम क्वारेन्टाइनमा बस्नु पर्ने नियम रहेको डा.तिवारीको भनाइ छ ।
अस्पतालले शुक्रबार राति परीक्षणका लागि लगिएका २४ वटा नमुनाको नतिजा सर्वाजनिक गरेको थियो । जसमा सबैको नेगेटिभ नतिजा आएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुरमा अहिलेसम्म स्वाब परीक्षणका लागि ४७२ वटा नुमना संकलन गरेर आरटी–पीसीआर परीक्षण गरिएको छ । जसमा दुईजना बाहेक अरुमा अहिलेसम्म संक्रमण देखिएको छैन । कोरोना भाइरस परीक्षणका लागि भरतपुरमै प्रयोगशाला सञ्चालन भएको छ । यसै गरी लगभग सात सय जनाको द्रूत परीक्षण (आरडीटी) पनि भएको छ ।
