युरोपको चौथो सानो मुलुक लिचेस्टाइनले हातमा लगाउने बायोमेट्रिक ब्रासलेटका माध्यमबाट कोरोना भाइरस (कोभिड- १९) संक्रमितको पहिचान गर्ने भएको छ । यो मुलुक १६० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
विशेष खाले ड्राईभ जडित यो ब्रासलेटले कोरोना भाइरसका संभावित बिरामीको ट्र्याकिङ गर्ने छ । बिहिबार हरेक २० नागरिक मध्ये एक जनालाई छानेर यस्तो ब्रासलेट वितरण गरिएको छ । त्यसले छालाको तापक्रम, श्वास प्रश्वासको दर र मुटुको धड्कन नापेर त्यसको तथ्यांक अनुसन्धानका लागि स्विजरल्यान्डको प्रयोगशालामा पठाउने छ ।
दोस्रो चरणमा शरदयाम लागेपछि लेचिस्टाइनका सबै नागरिकलाई ब्रासलेट वितरण गरिने कार्यक्रम रहेको लेचिस्टाइनका समाज कल्याणमन्त्री मौरो पेद्राजिनिले बताएको 'द फाइनान्सियल टाईम्स'ले लेखेको छ ।
लिचेस्टाईन नागरिकको संख्या लगभग ३८ हजार ५ सय भएकाले ३८ हजार ब्रासलेट बितरण गर्न लागिएको हो । कोरोना भाइरसका संक्रमितहरू पत्ता लगाउनकालागि यो अहिलेको महत्त्वपूर्ण माध्यम हुने लेचिस्टाइन सरकारको दाबी छ ।
यसले सार्वजनिक स्वास्थ्य र व्यक्तिगत डाटा बीचको नैतिक सीमालाई लिएर पश्चिममा बढ्दो विवादलाई पनि जोड्न सक्छ, किनकि सरकारले आफ्नो जनस्वास्थ्यको अवस्था बुझ्न एउटा गतिलो माध्यम तयार पार्न सक्छ ।
'यो विज्ञान हो र यसको कुनै निश्चितता हुन्न कि यसले ग्यारेन्टिकासाथ काम गर्नेछ । तर, यसले काम गर्ला भन्ने आशा छ,' मन्त्री पेद्राजिनीले भने, 'हामी र अरु सरकारलाई यस संकटको प्रारम्भिक संकेत दिने प्रणाली चाहिएको हो ।'
यहाँ हालसम्म कोरोना भाईरसबाट ८० जना संक्रमित छन् । कसैको पनि मृत्यु भएको छैन ।
लिचेस्टाइनका फ्रन्टलाइन कामदारहरू जो कमजोर र उच्च जोखिममा रहेका छन् तिनको सम्पर्कमा आएकाहरूले साप्ताहिक रुपमा कोरोनाभाइरस टेष्ट लिनुपर्ने व्यवस्था छ । यो हप्ता देशको सीमा क्षेत्र, प्रशोधन केन्द्र र फोहोरमैला व्यवस्थापन गर्ने सबै क्षेत्रमा कोरोना भाइरस लागेको संकेत दिने उपकरण जडान गरेका छन् । त्यसले देशको सिमाना भित्र संक्रमित व्यक्ति छिरेमा तत्कालै संकेत दिनेछ ।
