कोरोना प्रकोप : अमेरिकामा एकैदिन २१०० भन्दा बढीको मृत्यु

वैशाख ३, २०७७

एजेन्सी

वासिङ्टन — कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट अमेरिकामा मंगलबार मात्रै २ हजार १ सयभन्दा बढीको ज्यान गएको छ ।

जोन होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मंगलबार राति ९ बजेसम्म मात्रै २ हजार १ सय २९ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिएयता एकैदिन सबैभन्दा बढीको मृत्यु भएको हो ।यसअघि गत अप्रिल १० मा २ हजार ७४ जनाको मृत्यु भएको थियो ।

योसँगै कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या २५ हजार ९ सय ८१ पुगेको छ । त्यस्तै बुधबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ६ लाख ८ हजार पुगेको छ । त्यस्तै अमेरिकामा करिब ४८ हजार निको भएका छन् । 

यसैबीच अमेरिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन(डब्लएचओ)ले प्रभावकारी भूमिका नखेलेको आरोप लगाउँदै आर्थिक सहयोग रोक्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले प्रशासनलाई डब्लूएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको बताएका छन् । डब्लूएचओलाई अमेरिकाले सबैभन्दा धेरै आर्थिक सहायता उपलब्ध गराउँछ। गत वर्ष उसले ४० करोड डलर सहयोग दिएको थियो, जुन डब्लूएचओको कुल बजेटको १५ प्रतिशत रकम हो।

बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५ सय ३९ पुगेको छ । त्यस्तै करिब १९ लाख ७९ हजार संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या करिब ४ लाख ९३ हजार रहेको छ ।

एजेन्सी

Link copied successfully