संक्रमित भर्ना भएपछि सुनसान अस्पताल

संक्रमितलाई छुट्टै र सुरक्षित आइसोलेसनमा राखिएको भए पनि संक्रमण फैलन सक्ने भय स्वास्थ्यकर्मी र कर्मचारीमा त छँदैछ, सशंकित भएका अरु विरामी र कुरुवाको आवागमन पूरै पातलिएको छ

वैशाख २, २०७७

फातिमा बानु

काठमाडौँ — दैनिक दुई हजार जना हाराहारी बिरामी आउजाउ गर्दै रहने पाटन अस्पताल मंगलबार दिउँसो सुनसान थियो । अस्पतालमा भर्ना भएका दुई जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको खबर बाहिरिएसँगै अरू विरामी पनि जान अप्ठेरो मानेका हुन् ।

फाट्टफुट्ट मात्रै मानिस हिँडिरहेका देखिएको मंगलबार अस्पताल परिसरमा धेरैजसोको अनुहारमा मास्क देखिन्थ्यो । कसैले मुखमा रुमाल बाँधेका थिए । केही महिलाहरू सलले टाउको छोपेर आँखा मात्रै देखाएर हिँडिरहेका देखिन्थे । अस्पतालको मूल गेटमा हात धुनका लागि धारा जडान गरिएको छ । धारामुनिको बेसिन हेर्दा यसले वर्षौंदेखि सफाइ नपाएको जस्तो देखिएको थियो । हात धुन साबुनका स–साना टुक्रा मात्रै राखिएको छ ।

‘यस्तो नि हात धुने ठाउँ रे, त्यो धारा र साबुन छुन पनि कस्तो घिन लाग्दो हो,’ अस्पताल छिर्दै गरेका एक वृद्धले भने, ‘यस्तो धारा छुनुभन्दा यत्तिकै भित्र छिर्नु जाति, उल्टै भाइरस सर्ला भन्ने डर ।’ उनी हातै नधोई अस्पताल छिरे । उनका पछि आउने कसैले पनि त्यो धारामा हात धोएको देखिएन । खल्तीमा सेनिटाइजर हुनेले त्यही हातमा दले, नहुने त्यसै अस्पताल पस्दै गरेका देखिन्थे । अस्पतालको मूलगेट भन्दा अलि पर ज्वरो क्लिनिक छ । भित्र स्थानीय पीपीई लगाएर एक जना स्वास्थ्यकर्मी बसेका थिए । अस्पताल छिर्ने जोसुकैलाई ज्वरो नाप्दै भित्र पठाइरहेका थिए । आकस्मिक कक्षबाहिर एक जना चिकित्सक पीपीई लगाएर बसेका थिए भने अर्का एक स्वास्थ्यकर्मी सेतो एप्रोन र कपडाको मास्क लगाएर बसेकी थिइन् । ‘एउटा मास्क त्यो पनि एक हप्ता पुर्‍याउन भनेर दिइएको छ,’ उनले भनिन्, ‘बाहिर कतै किन्न पनि पाउँदैन, के गर्नु ?’ भित्र अधिकांश बेडमा बिरामी सुतेका थिए । बिरामी जाँच्ने कुनै चिकित्सकले पीपीई लगाएका थिएनन् । पीपीई किन लगाएको भन्नेबारे कुनै चिकित्सक बोल्न चाहेनन् । अस्पताल प्रशासनले बिनाअनुमति पीपीईबारे नबोल्न आदेश दिएको सुनाए । कोभिड–१९ का बिरामी भर्ना भएको विषयले अस्पताल छिर्ने बिरामी र कुरुवा पनि त्रासमा देखिन्थे ।

पिसाबमा समस्या देएिपछि धादिङबाट उपचारका लागि आएका बिरामीले अस्पताल पस्न डर लागेको बताए । ‘हामी त यो अस्पताल नै नछिर्ने भनेको हो,’ उनले भने, ‘फेरि यहाँबाहेक अरू अस्पतालमा अपरेसन हुँदैन भनेपछि बाध्यताले पसियो, जतिखेरै मनको ढुकढुकी बढेको छ ।’ काकाको मिर्गाैला डायलसिस गर्न अस्पताल आएका राजकुमार शाही पनि केही त्रसित देखिन्थे । साताको एकपटक उनी काकालाई लिएर पाटन अस्पताल आउँछन् । अस्पतालतिर हिँडिराख्ने भनेर समुदायले पनि कर्के नजरले हेर्ने गरेको उनले गुनासो गरे । ‘अस्पताल नआए काकाको ज्यान तलमाथि पर्छ,’ उनले भने, ‘आउँ भने पनि रोगको डर लाग्छ, के गर्नु बाध्यता छ ।’

अस्पतालको टिकट काउन्टर, फार्मेसी, पैसा तिर्ने काउन्टर र ल्याब रिपोर्ट लिने ठाउँ पनि उस्तै सुनसान थियो । यी काउन्टरमा पहिले बिरामी र कुरुवाले कुरिरहेका भेटिन्थे । आजभोलि स्वास्थ्यकर्मीले बिरामी कुरिरहेका छन् ।

बिहानको सिफ्टमा ड्युटी गर्ने कर्मचारी घर फर्कने तयारी गरिरहेका थिए । सफाइकर्मीको एक हुल अस्पतालको बगैंचामा गाइगुइँ गरिरहेका थिए । तीमध्ये एक सफाकर्मीले भनिन्, ‘यसरी नै भकाभक कोरोनाका बिरामी आए भने हामी त बाँच्दैनौँ होला । झन् फोहोर जति हामी उठाउनुपर्छ, भाइरस त त्यसमै थुप्रिएका हुन्छन् रे ।’ अर्की सफाइकर्मीले घरबाट अस्पतालको काम छाड्न दबाब दिएको सुनाइन् । छिमेकीले पनि शंकाको नजरले हेर्ने, परपर हुनेजस्ता व्यवहार देखाउँदा काम छोडौं जस्तो लाग्ने उनले बताइन् । ‘तर, काम छोडे भोलि अर्को काम कहाँ पाउने भन्ने चिन्ताले सबै सहनुपरेको छ,’ उनले भनिन् । अस्पतालले हप्तामा एउटा मास्क मात्रै दियो भनेर अर्की सफाइकर्मीले गुनासो गरिन् । ‘हुन त बेला नै यस्तो छ, कतै केही पाउँदैन,’ उनले भनिन्, ‘त्यसो भनेर ज्यान नै फाल्न त कहाँ आँट आउँछ र ।’

अस्पताललाई सुरक्षा प्रदान गर्न कुनै सक्दो प्रयास भइरहेको निर्देशक डा.विष्णुप्रसाद शर्माले बताए । कोभिड–१९ मात्रै भनिरहँदा अन्य बिरामी मर्कामा नपरुन् भनेर अस्पतालको ओपीडी पनि सञ्चालन भइरहेको उनले जानकारी दिए । ‘सबै बिरामी इमर्जेन्सीमा आए भने त्यही भीड बढेर जोखिम हुन्छ, बिरामी त निकै कम मात्रै आइरहेका छन्,’ उनले भने । कोभिडका बिरामी बढेको अवस्थामा अस्पतालमा पीपीई निकै कम भएको उनले बताए ।

यो पनि 

 

फातिमा

Link copied successfully