२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

फ्रान्समा अझै एक महिना लकडाउन

फ्रान्स मे ११ सम्म लकडाउन
ददि सापकोटा

पेरिस — फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको समय ११ मे (वैशाख २९) सम्म बढाएका छन् । कोरोना भाइरसविरुद्ध मुलुकले लडिरहेको जनस्वास्थ्य युद्धमाथि विजय हासिल गर्न लकडाउन लम्ब्याउनु जरुरी भएको उनले बताए ।

फ्रान्समा अझै एक महिना लकडाउन

म्याक्रोंले कोरोना संक्रमित पत्ता लगाउन आम नागरिकको स्वास्थ्य परीक्षण गराउने र मे ११ सम्म अनिवार्य रूपमा मास्क लगाउनु अनिवार्य भएको पनि घोषणा गरेका छन् ।

मे ११ पछि भने लकडाउन खुकुलो पारिने राष्ट्रपति म्याक्रोंले बताएका छन् । लकडाउन खुकुलो पार्ने पहिलो चरणमा चरणमा उद्योग, कलकारखाना, सामाजिक संस्था, प्राथमिक पाठशाला, नर्सरी, माध्यामिक विद्यालय र प्लस टूसम्मका कलेज खोलिने छन् । स्कुल र कलेज खुल्नाले बालबालिका स्कुल जाने र तिनका अभिभावक काममा जान पाउने हुँदा बिस्तारै रोजगार संरक्षण र अर्थतन्त्र धान्न सहयोग पुग्ने उनको भनाइ छ ।

विश्वभरिका मानिसहरूले कोरोना भाइरसविरुद्ध युद्ध लडिरहेकाले फ्रान्सेलीहरूले पनि राष्ट्रको सबै सामर्थ्य लगाएर यसमाथि विजय हासिल गर्नुपर्ने उनले बताए ।

राष्ट्रपति म्याक्रोंले फ्रान्समा थप १० हजार भेन्टिलेटरको व्यवस्था पनि जानकारी दिएका छन् ।

कोरोना भाइरसको प्रकोपले हाल ८० लाख नगरिक बेरोजगार बनेकोले उनीहरूलाई सरकारले भत्ता दिने र बन्द भएका उद्योग, कलकारखानालाई आर्थिक सहयोग गर्ने पनि राष्ट्रपतिले घोषणा गरेका छन् । खाद्य र कृषिमा संकट आउन नदिन युद्धकालझैं उत्पादन बढाउने पनि उनले बताए ।

'हामीले हाम्रा प्रयासहरूलाई आदर गर्नै पर्छ । जति तिनको पालना गर्यौं उतै धेरैको जीवन बचाउन सकिन्छ । त्यसैले लकडाउनको अवधि मे ११ सम्म बढाउनु जरुरी छ र यो समयमा लकडाउनलाई कडाइकासाथ सबैले पालना गर्नुपर्छ,' म्याक्रोंले भने ।

कोरोना भाइरस के हो भन्ने स्पष्ट भइनसकेको र विश्वभर यो रहस्यपूर्ण नै रहेकाले पनि विशेषज्ञहरूको सुझावलाई आदर गरेर क्वारेन्टाइनमा बस्नु र रोग निरोधक क्षमता बढाउनु नै स्वास्थ्य सुरक्षाको उपाय भएको उनले उल्लेख गरे । कोरोना भाइरसको प्रकोप सबै मुलुकलाई परेको बताउँदै म्याक्रोंले कमजोर मुलुकहरूलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

यसैबीच देशको अर्थतन्त्र र बेरोजगारीलाई धान्न नाफामा गएका ठूला उद्योग तथा कलकारखाना निश्चित अवधिका लागि सरकारीकरण गर्न राष्ट्रपतिका आर्थिक सल्लाहकारहरूले सुझाव दिएको 'टीएफ वान' टिभीले जनाएको छ ।

फ्रान्समा मंगलबारसम्म १ लाख ३७ हजार ८ सय ७७ जना कोरोना भाइरसबाट संक्रमित भएकोमा १४ हजार ९ सय ८६ जनाको मृत्यु भइसकेको छ भने २८ हजार १ जना निको भएका छन् ।

प्रकाशित : वैशाख २, २०७७ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?