भारतमा कोरोना संक्रमण तीव्र

लकडाउन लम्ब्याउने प्रधानमन्त्री नरेन्द्र मोदीको संकेत
सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यामा तीव्र वृद्धि भएपछि भारतले देशव्यापी लकडाउनलाई निरन्तरता दिने सम्भावना बढेको छ ।

भारतमा कोरोना संक्रमण तीव्र

बुधबार साँझसम्ममा भारतमा कोभिड–१९ संक्रमितको संख्या ५ हजार ३ सय नाघिसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ७ सय ७३ नयाँ संक्रमित थपिएका छन् । संक्रमणबाट हालसम्म १ सय ४९ जनाको ज्यान गइसकेको छ ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार विपक्षी दलका नेता तथा संसद्मा रहेका अन्य पार्टीका प्रतिनिधिहरूसँगको भिडियो संवादमा कोरोना संक्रमण रोक्न लकडाउन लम्ब्याउने संकेत गरेका हुन् ।


मोदीले बुधबार राज्यसभाका विपक्षी दलका नेता गुलामनवि आजाद र नेसनलिस्ट कंग्रेस पार्टीका प्रमुख शरद पवारलगायत विभिन्न राज्यका प्रमुख नेताहरूसँग संवाद गरेका थिए । संवादमा मोदीले कोरोना भाइरसविरुद्धको लडाइँ लामो भएको हुँदा लकडाउनले निरन्तरता दिइने संकेत गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतमा गत २४ मार्चदेखि लागू गरिएको तीन साता लामो लकडाउन कायम छ । लकडाउन सकिन अझै एक साता बाँकी रहे पनि केही राज्यहरूले संक्रमण बढ्दै गएपछि लकडाउनलाई निरन्तरता दिने घोषणा गरिसकेका छन् ।


यद्यपि केन्द्र सरकारले भने लकडाउन बढाउने वा नबढाउने सम्बन्धमा निर्णय लिन बाँकी नै रहेछ । मोदीले राज्य र केन्द्र शासित प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेपछि यस विषयमा अन्तिम निर्णय लिने सम्भावना छ । मोदीले मुख्यमन्त्रीहरूसँग आगामी शनिबार त्यस सम्बन्धमा छलफल गर्ने बताइएको छ ।


भारतमा कोभिड–१९ को पहिलो केस जनवरी ३० मा दक्षिणी भारतीय राज्य केरलामा पुष्टि भएको थियो । यस अवधिमा भाइरसले पूरै भारत छोइसकेको छ । भारतका ३६ प्रदेश र केन्द्रशासित राज्यमध्ये ३० वटामा भाइरसको संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा बढी ८ सय ६८ जनामा महाराष्ट्रमा देखिएको छ । जसमध्ये ४५ को मृत्यु भइसकेको छ । यता राजधानी दिल्लीमा मात्र ५ सय २५ जना बिरामी पहिचान भएका छन् । तीमध्ये ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


संक्रमणको फैलावटलाई विश्लेषण गर्दै स्वास्थ्य मन्त्रालयले अहिलेको अवस्थालाई महामारीको स्टेज दुई र स्टेज तीनको बीचको अवस्था भनेको छ । जसको अर्थ भारतमा कोरोना महामारी स्थानीयबाट सामुदायिक संक्रमणको चरणमा प्रवेश गर्ने क्रममा रहेको छ ।


स्वास्थ्य क्षेत्रका विज्ञहरूले सामुदायिक संक्रमणको चरणमा पूर्णरूपमा प्रवेश गरेको खण्डमा भयावह स्थिति निम्तिने चेतावनी दिँदै आएका छन् । तर यद्यपि सरकारी अधिकारीहरूले भने सामुदायिक संक्रमणको चरणमा प्रवेश गर्नुअघि नै यसलाई नियन्त्रण लिइने दाबी गर्दै आएका छन् ।


कोभिड–१९ को संक्रमण विस्तार हुने क्रमसँगै तीन साता लामो लकडाउनले निरन्तरता पाउने, नपाउने बहस पनि सुरु भएको छ । संक्रमणको जोखिम बढ्दै गएपछि केन्द्र सरकार लकडाउनलाई निरन्तरता दिने, नदिनेमा प्रस्ट नभइसके पनि राज्य सरकारहरूले आआफ्नो हिसाबले विशेष रणनीति अख्तियार गर्न थालेका छन् ।

संक्रमणको बढ्दो जोखिमकै कारण कतिपय राज्यले लकडाउनलाई निरन्तरता दिने बताइसकेका छन् । केन्द्र सरकारले २४ मार्चदेखि लागू गरेको तीन साताको देशव्यापी लकडाउनको अवधि १४ अप्रिलमा सकिन्छ । तर लकडाउनको अवधि सकिँदै जाँदा संक्रमणमा पनि तीव्र विस्तार देखिएको छ ।


बढ्दो संक्रमणकै कारण महाराष्ट्र, गुजरात, तेलंगना, राजस्थान, यूपी, आसामलगायतका राज्यले देशव्यापी लकडाउन फिर्ता भए पनि राज्यस्तरमा निरन्तरता दिने बढी सम्भावना छ । तेलंगनाका मुख्यमन्त्री केसी रावले त लकडाउन जारी रहने घोषणा नै गरिसकेका छन् ।


अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले पनि कोरोनाविरुद्धको लडाइँ थप सघन बनाउने घोषणा गरेको छ । मंगलबार मात्र मुख्यमन्त्री केजरीवालले महामारीविरुद्ध जुध्न पाँच ‘टी’ को रणनीति अख्तियार गर्ने घोषणा गरेका छन् । जसअन्तर्गत टेस्टिङ, ट्रेसिङ, ट्रिटमेन्ट, टिमवर्क र ट्र्याकिङ छन् । केजरीवालले कोरोना संक्रमणका तीस हजार केसलाई आवश्यक पर्ने गरी पूर्वाधार विकासको काम अगाडि बढाइएको समेत दाबी गरेका छन् । हालसम्म दिल्लीमा ५ सय २५ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ७ जनाको मृत्यु भइसकेको छ ।


भारतमा कोरोना संक्रमणको उच्च फैलावटले नेपालमा पनि जोखिम बढाएको छ । विशेषगरी नेपाली कामदारको बाक्लो उपस्थिति रहेको महाराष्ट्र, गुजरात, कर्नाटक, दिल्लीमा कोरोनाको संक्रमण देखिएको हुँदा विशेषगरी फर्केकाहरूबाट कोरोना संक्रमण फैलन सक्ने जोखिम पनि त्यत्तिकै छ ।


पछिल्लो समय सुदूरपश्चिम क्षेत्रमा पहिचान भएका कोरोना बिरामीहरू मुम्बईबाट फर्केमध्ये केहीमा कोरोना भाइरस संक्रमण देखिनुले त्यो पुष्टि हुन्छ । र, यी राज्यहरूबाट फर्केका नेपालीहरूको वास्तविक अभिलेख नराखिएकाले पनि सुदूरपश्चिम र अन्य भागमा संक्रमणले कुन रूप लिएको छ भन्ने यकिन गर्न गाह्रो छ ।


अर्कोतर्फ खुला सीमा भएका कारण भारतले कोरोना भाइरसको महाव्याधिमाथि जति चाँडो नियन्त्रण पाउँछ त्यसले पनि नेपालमा यसको संक्रमणको फैलावट निर्धारण गर्नेछ । विशेषगरी नेपालसँगका सीमावर्ती राज्यहरू बिहार र उत्तरप्रदेशमा महामारीले कुन रूप लिन्छ त्यसले पनि नेपालमा कारोनाको जोखिमको तस्बिर बताउनेछ । अत्यधिक जनघनत्व भएका भारतका यी दुई राज्य स्वास्थ्य सुविधाका हिसाबले सबैभन्दा कमजोर मानिन्छन् ।

दक्षिण भारतीय राज्यहरूले संक्रमितको पहिचान र परीक्षणलाई तीव्रता दिए पनि अत्यधिक जनघनत्व भएका उत्तरप्रदेश, बिहारलगायतका राज्यको अवस्था निकै दयनीय छ । सीमित परीक्षणै कारण नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र बिहारमा महामारीको वास्तविक अवस्था बाहिर आउन सकेको छैन ।


दुई राज्यमा मात्रै ३५ करोडको बसोबास छ । यी दुई राज्यबाट ठूलो संख्यामा रोजगारीका लागि दिल्ली, महाराष्ट्र, बैंग्लोरलगायत राज्य जाने गरेका छन् । कोभिड–१९ को त्रास बढ्दै गएपछि २४ मार्चदेखि लागू भएको लकडाउन हुनुअघि नै ती राज्यमा रहेका कामदारको ठूलो हिस्सा घर फर्केका थिए । कतिपय त हिँडेर नै गएका थिए ।

भाइरसको संक्रमण बढी देखिएका राज्यबाट आआफ्ना गाउँ फर्केका ती आप्रवासी कामदारहरूको व्यवस्थित ढंगले क्वारेन्टाइन र स्वास्थ्य परीक्षण नभएकाले यूपी र बिहारमा भित्रभित्रै संक्रमणले भयावह रूप लिएको हुन सक्ने आशंका पनि गरिएको छ ।


त्यसमाथि यति धेरै जनसंख्या भएर पनि यी दुई राज्यमा मात्र चारवटा स्थानमा मात्र कोरोना भाइरसको परीक्षणको सुविधा छ । त्यसमाथि आधारभूत स्वास्थ्य सेवाका हिसाबले पनि यी राज्य निकै पछाडि मानिन्छन् । जसले गर्दा यी राज्यको संक्रमणलाई नजिकबाट नियाल्दै आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ । अन्यथा नेपालले कोरोना महामारी नियन्त्रणका लागि जतिसुकै कडा कदम चाले पनि खुला सीमाका कारण त्यसको संक्रमण कुनै पनि बेला भित्रिनेछ ।

प्रकाशित : चैत्र २७, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?