स्विट्जरल्यान्ड ल्याइँदै गरेको कीटनाशक जेल इटालीद्वारा कब्जा

ददि सापकोटा

पेरिस — आफूले ल्याउँदै गरेका कीटाणुनाशक पदार्थ इटालीले जफत गरेको स्विट्जरल्यान्डले आरोप लगाएको छ । इटालीले दुई देशबीचको सिमानामा एउटा ट्रक अवरुद्ध गरेर कीटाणुनाशक पदार्थ कब्जा गरेको स्विट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो कासिसले आरोप लगाए ।

स्विट्जरल्यान्ड ल्याइँदै गरेको कीटनाशक जेल इटालीद्वारा कब्जा

इटालीले सार्वभौम राष्ट्रमाथि हस्तक्षेपको प्रयास गरेको पनि उनले बताए । स्विस वाणिज्य यातायात संघले कीटाणुनाशक पदार्थ जफत गर्ने इटालीको कदमलाई ‘स्टेट थ्रेट’ को संज्ञा दिएको स्विस इन्फोले जनाएको छ ।


आफ्ना सामान स्विट्जरल्यान्ड भित्रिँदै गर्दा दुई देशबीचको सीमा क्षेत्र डोमोडोसलामामा इटालीले सामानसहितको ट्रकलाई गत सातादेखि रोकेर राखेको विश्वभरिबाट सामान आयात गर्ने स्विस कम्पनी भिक्टोरी स्विट्जरल्यान्डले जनाएको छ । स्विट्जरल्यान्डले पहिले नै ट्रकमा रहेका सामानको भुक्तानी गरिसकेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


भिक्टोरी स्विट्जरल्यान्डका प्रबन्ध निर्देशक डेनियल गेर्बरले स्विस इन्फोलाई बताएअनुसार स्विट्जरल्यान्डतर्फ ल्याइँदै गरेको रोगाणुनाशक जेल (डिसइन्फेक्टेन्ड ह्यान्ड जेल) इटालीका भन्सारका अधिकारीहरूले जफत गरेका हुन् ।


इटालीका भन्सार अधिकारीहरूले भने कोरोना भाइरसका कारण सिर्जित आपत्कालीन अवस्थामा कीटाणुनाशक पदार्थले भरिएको ट्रक कब्जा गर्नु उचित भएको तर्क दिएको छ । स्विस टोलीलाई दिइएको भन्सार कागजमा ती सामान डोमोडोसलामामा रहेको इटालीको भन्सार निकायलाई बुझाइने उल्लेख छ । त्यसपछि इटालीका अस्पताल र नगरपालिकामा वितरण गरिने जनाइएको छ । भिक्टोरी स्विट्जरल्यान्डले जर्मन कम्पनी गिफ्ट्स र ब्युटी ह्यान्डलबाट तीन साताअघि ३० हजार ८ सय डलर तिरेर कीटाणुनाशक सामग्री मगाए पनि उक्त सामग्री इटालीमै बनेका थिए ।


इटालीका अधिकारीहरूले भने जफत गरेका सामग्रीको मूल्य फिर्ता गर्न सकिने उल्लेख गरेका छन् । भिक्टोरी स्विट्जरल्यान्डले यसअघि मार्चको सुरुवातमा पनि जर्मनीमा यस्तै समस्या भोगेको थियो । चीनबाट जर्मनी हुँदै ल्याउन लागिएका ३ लाख १४ हजार मास्क जर्मनीको हेमबर्गमा रोकिएको थियो । दुई दिनपछि मात्र मास्क पठाइएको थियो ।

प्रकाशित : चैत्र २७, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?